ट्राफिक प्रहरीको लापसे चेकिङमा ४ जना चालक पक्राउ
काठमाडौँ । किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन...
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै देशभरका विद्यालयहरूमा नयाँ उत्साह, उमङ्ग र चहलपहल छाएको छ । काँधमा झोला भिरेर, रंगीचंगी पोसाकमा सजिएका बालबालिकाको अनुहारले उज्ज्वल भविष्यको संकेत गर्छ । तर यही खुसीको यात्रासँगै हरेक बिहान र बेलुका देखिने एउटा चिन्ताजनक दृश्यले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ - मोटरसाइकल वा स्कुटरमा हेल्मेट बिना, खाँदिएर विद्यालयतर्फ जाँदै गरेका बालबालिका ।
विद्यालय बसको सुविधा सीमित भएकाले धेरै अभिभावकका लागि दुई पाङ्ग्रे सवारी नै बाध्यात्मक विकल्प बनेको छ । तर बाध्यता कहिल्यै लापरवाहीको बहाना हुन सक्दैन । सवारी दुर्घटना कुनै पूर्व सूचना बिना आउँछ, र एक क्षणको असावधानीले जीवनभरको पीडा निम्त्याउन सक्छ । त्यसैले बालबालिकाको सुरक्षित विद्यालय यात्राका लागि निम्न ५ जीवनरक्षक सावधानीहरू अनिवार्य रूपमा अपनाउनुपर्छ ।
१ अनिवार्य हेल्मेट र चश्माको प्रयोग
सडक दुर्घटनामा सबैभन्दा पहिले र गम्भीर चोट टाउकोमा लाग्ने गर्दछ । बालबालिकाको शरीर अझै विकासशील भएकाले उनीहरू बढी संवेदनशील हुन्छन् । त्यसैले चालक मात्र होइन, पछाडि वा अगाडि बस्ने बालबालिकालाई पनि साइज मिल्ने सुरक्षित हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्छ । साथै, धूलो, धूवाँ र आँखामा पर्न सक्ने वस्तुहरूबाट बचाउन चश्माको प्रयोग पनि महत्वपूर्ण हुन्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सही रूपमा प्रयोग गरिएको हेल्मेटले मोटरसाइकल दुर्घटनामा मृत्युको जोखिम करिब ४० प्रतिशत र गम्भीर टाउको चोटको जोखिम करिब ७० प्रतिशतसम्म घटाउन सक्छ । यसैले हेल्मेट केवल नियम होइन, जीवन बचाउने सुरक्षा कवच हो ।
२ क्षमताभन्दा बढी सवारी नगर्ने
एउटै मोटरसाइकलमा चालक, श्रीमती, दुई-तीन बालबालिका र झोला समेत राखेर यात्रा गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । यस्तो अभ्यासले सवारीको सन्तुलन बिगार्छ र दुर्घटनाको सम्भावना बढाउँछ । मोटरसाइकल वा स्कुटर मूलतः दुई जनाका लागि मात्र डिजाइन गरिएको हो ।
सहयोगको नाममा छिमेकी वा साथीभाइका बालबालिकालाई पनि खाँदेर लैजानु उनीहरूको जीवनमाथिको अनावश्यक जोखिम हो, सहयोग होइन ।
३ ‘प्रहरी छैन भने नियम छैन’ भन्ने मानसिकता अन्त्य गर्ने
ट्राफिक प्रहरी देखिएको ठाउँमा मात्र नियम पालना गर्ने र भित्री सडकमा लापरवाही गर्ने प्रवृत्ति अझै देखिन्छ । तर ट्राफिक नियम कानुनको डरका लागि होइन, आफ्नै जीवन रक्षाका लागि हो । सीमित जनशक्तिका कारण सबै ठाउँमा प्रहरी पुग्न सम्भव हुँदैन । त्यसैले प्रत्येक नागरिकले “मेरो सुरक्षा, मेरो जिम्मेवारी” भन्ने भावना आत्मसात् गर्नुपर्छ ।
४ विद्यालय प्रशासनको ‘नो हेल्मेट, नो इन्ट्री’ नीति
विद्यालय केवल शिक्षा दिने स्थान मात्र होइन, संस्कार निर्माण गर्ने संस्था पनि हो । यदि विद्यालयहरूले हेल्मेट बिना बालबालिका ल्याउने अभिभावकलाई त्यस दिन प्रवेश नदिने नीति अपनाए भने यसले समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ । सुरुमा असहज लागे पनि यो कदम दीर्घकालमा जीवनरक्षक सावित हुनेछ । यसले लापरवाह अभिभावकलाई जिम्मेवार सडक प्रयोगकर्ता बन्न बाध्य पार्छ ।
५ अभिभावक स्वयं रोल मोडल बन्ने
बालबालिकाले किताबभन्दा व्यवहारबाट बढी सिक्छन् । अभिभावकको आचरण नै उनीहरूको पहिलो पाठशाला हो । यदि अभिभावक आफैं हेल्मेट नलगाई वा नियम मिचेर हिँड्छन् भने बालबालिकाले पनि त्यही व्यवहार सामान्य ठान्छन् । त्यसैले सुरक्षित सडक संस्कार निर्माण गर्न अभिभावक स्वयं उदाहरण बन्नुपर्छ ।
बालबालिकालाई राम्रो विद्यालयमा भर्ना गर्नु मात्र पर्याप्त होइन, उनीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्नु अझ ठूलो जिम्मेवारी हो । एउटा हेल्मेटले केवल टाउको मात्र जोगाउँदैन, एउटा परिवारको भविष्य जोगाउँछ । केही मिनेटको हतार वा सानो असावधानीले जीवनभरको पीडा निम्त्याउन सक्छ । बालबालिका देशका कर्णधार र भविष्य भएकाले उनीहरूको सुरक्षा राज्य, समाज र अभिभावक सबैको पहिलो प्राथमिकता हुनुपर्छ । सुरक्षित यात्रा कुनै विकल्प होइन, यो अनिवार्य जिम्मेवारी हो ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर, चितवन
काठमाडौँ । किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन...
दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती...
भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...