बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पछिल्लो समय नेपाली बजारमा हरेक महिना एक न एक नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिइरहेको छ । हाल बजारमा २ दर्जन हाराहारी ब्रान्डका यस्ता स्कुटर आयात भएको देखिन्छ । ती मध्ये अधिकांश चीनबाट आयात भएका हुन् ।
पेट्रोल खपत नहुने हुँदा यस्ता स्कुटर प्रयोग गर्नु आर्थिक रुपमा किफायती मानिन्छ । वातावरणमैत्री र मूल्य समेत कम पर्ने भएपनि नेपाली बजारमा इलेक्ट्रिक स्कुटरले बजार भने खासै जमाउन सकिरहेको छैन । यसो हुँदाहुँदै पनि किन नयाँ नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिइरहेका छन् ? यो सबैका लागि जिज्ञासाको विषय बन्न सक्छ ।
इलेक्ट्रिक स्कुटरमा नयाँ व्यवसायीको बर्चश्व
नेपालमा यस्ता स्कुटर भित्र्याउने व्यवसायीमध्ये अधिकांश पहिलोपटक अटोमोबाइल व्यवसायमा प्रवेश गर्दै गर्नेहरु पर्छन् । तर पछिल्लो समय अटोमोबाइल व्यवसायमा स्थापित ठूला घरानाहरु समेत इलेक्ट्रिक स्कुटरमा आकर्षित हुन थालेको देख्न सकिन्छ ।
पहिले भेस्पा स्कुटर भित्र्याएको डी लाइफ स्टाइल्सले केही दिन पहिले मात्र सुपर सोको ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्र्याएको छ । भेस्पा स्कुटर भित्राएर चर्चामा आएको उक्त कम्पनीले उक्त स्कुटरको एजेन्सी दुगड ग्रुपले खोसेपछि नयाँ ब्रान्डका रुपमा सुपर सोको भित्र्याएको हो । डी लाइफ स्टाइल्स बाहेक इलेक्ट्रिक स्कुटर भित्र्याउने अन्य अधिकांश कम्पनी यो क्षेत्रमा नयाँ अनुहार हुन् । हाल निउ, टेरा, मियामा, टेल्जी, बिएम, बेला, प्योर लगायत ब्रान्डका स्कुटर चर्चामा छन् ।
बजार लिन नसक्दा पनि किन थपिन्छन् नयाँ ब्रान्ड ?
नेपाली बजारमा १ लाख हाराहारीमा स्कुटर खपत हुने आयातको तथ्यांकले देखाएको छ । ती मध्ये ठूलो हिस्सा पेट्रोलबाट चल्ने स्कुटरले ओगटेको छ । आयातको झन्डै ९५ प्रतिशत बजार पेट्रोल स्कुटरको भए पनि जम्मा जम्मी ५ प्रतिशत बजारका लागि २ दर्जन हाराहारी ब्रान्डले प्रतिस्पर्धा गरिरहेका छन् । ती मध्ये पनि कतिपय ब्रान्ड ‘आज छ भोलि छैन’ को अवस्थाबाट गुज्रिरहेका छन् । जसले दीर्घकालीन सोचाइका साथ कारोबार गर्दै आइरहेका छन् ती समेत हालको कारोबारबाट सन्तुष्ट भने देखिदैनन् ।
इलेक्ट्रिक स्कुटरप्रति ग्राहकको गलत बुझाइका कारण नेपालमा यस्ता स्कुटरले बजार लिन नसकेको व्यवसायी बताउँछन् । एक व्यवसायीका अनुसार विगतमा केही कम्पनीहरुले बदमासी गरेका कारण हालसम्म त्यसको क्षतिपूर्ति नयाँ कम्पनीहरुले बेहोर्नु परेको छ । ‘विगतमा यस्ता स्कुटर आयात गर्ने अधिकांश कम्पनीहरुले खाद्यान्न बेचे जसरी स्कुटर बेचे । बिक्री पछिको सेवामा बेवास्ता गरेकै कारण ग्राहकले सास्ती खेप्नुप¥यो । विगतको त्यो गल्ती हालसम्म नजिर बनेका कारण नेपालमा इलेक्ट्रिक स्कुटरले अपेक्षा गरेअनुसार बजार लिन नसकेको हो’ उनले भने । त्यसमाथि राज्यको प्राथमिकता नभएका कारण पनि सबै पक्षबाट उपयुक्त हुँदाहुँदै पनि इलेक्ट्रिक स्कुटरले बजार लिन नसकेको उनले दुखेसो पोखे ।
उनका अनुसार यसो हुँदाहुँदै पनि भोलिको भविष्य भनेको इलेक्ट्रिक सवारीकै भएका कारण नयाँ नयाँ व्यवसायी यसमा आकर्षित बनेका हुन् । ‘अहिले विश्व बजार नै इलेक्ट्रिक सवारीमय बनेको छ । तर नेपालमा नीतिगत समस्या र सरकारको दुरदर्शिता अभाबका कारण तत्काल समस्या देखिएको हो । जुन दिन सरकार र उपभोक्ता दुबैको चेत खुल्छ त्यसपछिका दिनमा यस्ता साधनको बजार सोचे भन्दा धेरै राम्रो हुने आशा गर्न सकिन्छ’ उनले भने । भोलिको भविष्य देखेकै कारण नयाँ नयाँ ब्रान्डका यस्ता साधन भित्रिन थालेको उनले जिकिर गरे ।
बजार बढ्ला त इलेक्ट्रिक स्कुटरको ?
प्रायः इलेक्ट्रिक स्कुटर सहरका चिल्ला सडकका लागि उपयुक्त हुने गरी बनाइएको हुन्छ । तर हाम्रो जस्तो भौगोलिक बनावट भएको मुलुकमा यस्ता स्कुटरले सोचे अनुरुप पर्फमेन्स दिन सक्ने देखिदैन । त्यसमाथि एउटै साधनबाट सबै प्रकारको आवश्यकता पुरा गर्न चाहने नेपाली उपभोक्ताको स्वभावका कारण पनि लामो समयसम्म इलेक्ट्रिक स्कुटर भन्दा अन्य स्कुटर नै खरिद गर्ने देखिन्छ । अर्थात भनौ, स्कुटरमा केही सामान सहित २ जनाले यात्रा गर्नुपर्ने नेपाली उपभोक्ताका बाध्यता छ ।
यस्तो अबस्थामा हाल जति पनि उपभोक्ताले इलेक्ट्रिक स्कुटर खरिद गरेका छन् अधिकांशले दोस्रो साधनका रुपमा यसलाई प्रयोग गर्दै आइरहेका छन् । स्कुटरमा सयौ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यताका कारण पनि माइलेज नपुग्ने आशंका गरी ग्राहकले इलेक्ट्रिक स्कुटर खरिद गरिहाल्ने अबस्था छैन । त्यसमाथि यस्ता स्कुटर आयात गर्ने अधिकांश व्यवसायीले अल्पकालिन लाभ हासिल गर्नेगरी काम गरिरहेका छन् ।
उनीहरुले बिक्री पछिको सेवामा खासै जोड दिएको देखिदैन । तर पछिल्लो समय नेपालको अटोमोबाइल व्यवसयालाई राम्रोसँग बुझेका घरानाहरु समेत यस्ता स्कुटरको कारोबारमा संलग्न हुँदै जानुले बजार विस्तार हुने आशा भने गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...