tvs-race

रेमिट्यान्स र बैंकिङ लगायत अन्य सेवामुलक उद्योगमा सफल आईएमई ग्रुपले अटोमोबाइल व्यवसायमा भने सफलता हात पार्न सकिरहेको छैन ।

अटोमोबाइल क्षेत्रमा उच्च सम्भावना देखेको भन्दै ट्याक्टर र एस्कर्ट्स ब्रान्डको हेभी इक्विपमेन्ट्स मार्फत अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको यो ग्रुपले पछि क्रमशः युएम बाइक, अशोक लेल्यान्ड गाडी र हार्ले डेभिड्सन बाइकलाई नेपाल भित्र्यायो ।

ट्याक्टरको कारोबारमा सफल हुने नदेखेपछि उक्त डिभिजनलाई बन्द गरेको आइएमईले हाल अन्य ब्रान्डलाई भने जसोतसो चलाइरहेको छ । अहिले यो ग्रुपको बढी जोड अशोक लेल्यान्डमा केन्द्रित छ भने अन्य ब्रान्ड करिब करिव बन्द हुने अवस्थामा पुगिसकेका छन् । हाल यो ग्रुपले कारोबार गरिरहेको ब्रान्ड र यसको अबस्था कस्तो छ त ?

एस्कर्ट्स
कम्पनीले शुरुवाती चरणमा एस्कर्ट्सका व्याकहो लोडर र क्रेन निकै राम्रो परिणाममा बिक्री गर्न सफल भएको थियो । २ बर्षसम्म राम्रो कारोबार गरेको यो ब्रान्डमा समेत हाल आईएमईले खासै राम्रो गर्न सकिरहेको छैन ।

भुकम्पपछि हेभी इक्विपमेन्ट्सको मागमा आएको उच्च बृद्धिको लाभ उठाए पश्चात अहिले एस्कर्ट्स ब्रान्डका इक्विपमेन्ट्सको माग बजारमा नगन्य मात्रामा छ । एस्कर्ट्स ब्रान्डमा आईएमई सफल हुन नसक्नुको पछाडि उक्त ब्रान्डसँग एस्काभेटर नहुनु पनि प्रमुख कारण मानिन्छ ।

पछिल्ला दिनहरुमा निर्माण क्षेत्रमा ब्याकहो लोडर भन्दा एस्काभेटरको माग निकै बढेर गए पछि सवैजसो ब्रान्डका व्याकहो लोडर कम मात्रामा बिक्री भइरहेको छ । त्यसमाथि पनि ब्याकहो लोडर भनेकै जेसीबी हो भन्ने आम मान्यताका कारण पनि एस्कर्ट्स लगायत अन्य ब्रान्डलाई यो सेग्मेन्टमा बजार लिन हम्मे हम्मे परिरहेको छ ।

युएम
अमेरिकन ब्रान्डको नाममा प्रचार प्रसार गरेर कारोबार थालेको युएम बाइकमा पनि यो ग्रुप सफल हुन सकेन । नेपालमा मोटरसाइकलको बजार निकै ठूलो देखेर यो क्षेत्रमा प्रवेश गरेको आइएमई ग्रुप युएम मोटरसाइकलमा सफल नहुनुका पछाडि कम गुणस्तरको प्रोडक्ट मुख्य कारण हो ।

हेर्दा निकै आकर्षक र पावरफुल जस्तो देखिए पनि युएम गुणस्तरको सवालमा निकै कमजोर बाइक थियो । त्यसमाथि यसका कतिपय मोडल नेपालको भूगोल सुहाउँदो समेत थिएनन् । भारतीय बजारमा युएमले राम्रो गर्ला र नेपालमा पनि त्यसको लाभ उठाउँला भन्ने सोचाइमा कम्पनीले यो ब्रान्डलाई आफू मातहत लिएको थियो ।

तर अब भारतबाटै युएम विस्थापित हुने निर्णय भएसँगै नेपालमा समेत यसको भबिष्य संकटमय बन्न थालेको छ । सम्भवतः आइएमइले यो ब्रान्डलाई छिट्टै बन्द गर्नेछ ।

अशोक लेल्यान्ड
भारतमा कमर्सियल भेइकल सेग्मेन्टमा टाटापछि दोस्रो ठूलो बजार हिस्सा ओगट्न सफल अशोक लेल्यान्डको नेपाल यात्रा कहिल्यै पनि सफल हुन सकेन । ज्योति ग्रुपले समेत काम गरिसकेको यो ब्रान्डको विक्रेता नै नेपालमा ४ वटा भइसके ।

राम्रो ब्रान्ड भ्यालु, अधिकतम रेन्ज र उच्चतम गुणस्तरयुक्त अशोक लेल्यान्डमा लगानी खन्याउन सकियो भने यसलाई सफल बनाउन सकिन्छ भन्ने मान्यताका साथ यसको आयातकर्ता बनेको आईएमईले समेत यो ब्रान्डलाई नेपालमा सोचे अनुसार सफल बनाउन सकिरहेको छैन । टाटाको जगजगीलाई भत्काएर स्थापित हुनु नै अशोक लेल्यान्डका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।

अटोमोबाइल क्षेत्रमा अनुभवहीन आईएमई ग्रुपले सिप्रदी जस्तो स्थापित संस्थासँग प्रतिस्पर्धामा आउन निकै कठिन भैरहेको छ । पहिलेको बिक्रेताको तुलनामा केही सुधारोन्मुख गतिविधि गरेपनि यसअघि विग्रेको अशोक लेल्यान्डको छविलाई सुधार गरेर अघि बढ्न आईएमईले ठूलै चुनौती मोल्नुपर्ने हुन सक्छ ।

हार्ले डेभिड्सन
अमेरिकन आइकनिक ब्रान्ड हार्ले डेभिड्सन भित्र्याएर चर्चामा आएको आईएमईका लागि अहिले उक्त चर्चाको साख जोगाउनु नै प्रमुख चुनौती बनिरहेको छ ।

बजार सम्भावनाको अध्यायन नै नगरी विश्वकै महंगो मध्येको एकमा गनिने हार्ले नेपाल भित्र्याउन यो कम्पनीले धेरै हतार गरेको थियो । जुन अहिले उसका लागि निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ ।

नेपाल भित्रिएको डेढ बर्ष अवधिमा २ थान मात्र बाइक बिक्री गरे बाट यो ब्रान्ड नेपालका लागि अनुकुल छैन भन्ने प्रष्ट हुन्छ । हार्लेका लागि करोडौ लगानी खन्याएर विश्वस्तरिय पूर्वाधार बनाएको कम्पनीले लगानी अनुसारको प्रतिफल पाउने कुनै ग्यारेन्टि देखिदैन । त्यसैले आईएमईको हार्ले यात्रा पनि दीगो नहुने निश्चित प्रायः देखिन्छ ।