tvs-race

भारतीय बजारमा सफल सावित भैसकेको हिरो एक्सपल्स २०० लामो समयको प्रतीक्षा पश्चात नेपाली बजारमा आइपुगेको छ । यो बाइक भित्रिएसंगै अफरोड राइडिङमा रमाउने युवा बर्गमा अर्को एउटा नयाँ बिकल्प समेत थप भएको छ ।

नेपालको बाटोघाटो र भुगोल सुहाँउदो बिशेषताका कारण डर्ट बाइक प्रति नेपाली राइडरहरुको आशक्ति बढ्दै गैरहेको अवस्थामा एक्सपल्सको आगमनलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । डर्ट सेग्मेन्टमा सिमित ब्रान्डको मात्र उपिस्थति रहेको अहिलेको समयमा एक्सपल्स भित्रिएको हुँदा यसले नेपाली बजारमा सेग्मेन्टकै बजार हिस्सा थप फराकिलो बनाउने विश्वास लिन सकिन्छ ।

चिरपरिचित ब्रान्डले आधुनिक फिचर्सका साथ प्रतिस्पर्धी मूल्यमा उतारेको एक्सपल्सको कारोबार नेपालमा कस्तो रहला त ?

डर्ट बाइक सेग्मेन्ट अन्तर्गत यसअघि होन्डा एक्सआर, क्रसफायर, यामाहा एक्सटीजेड लगायत अन्य चिनियाँ ब्रान्डका बाइकहरुको मात्र उपस्थिति रहेको थियो । जसमध्ये होन्डा एक्सआरको बजार हिस्सा उच्च रहेको थियो । क्रसफायर, भीआर लगायत ब्रान्डका बाइकहरुले समेत राम्रै कारोबार गरिरहेको अबस्थामा सस्तो मुल्यको एक्सपल्स भित्रिन पुगेको छ ।

हिरो एक्सपल्स २०० बाइकलाई नेपालस्थित बिक्रेता कम्पनी नेपाल जनरल मार्केटिङले एकदमै प्रतिस्पर्धी मुल्यमा उतारेको बताएको छ । २ सय सीसी क्षमताको बाइकको मुल्य ३ लाख ८५ हजार मात्र तोकिएको छ । जवकी होन्डा एक्सआर १५० सिसीको मूल्य ४ लाख ८५ हजार र १२५ सिसी क्षमताको यामाहा एक्सटीजेडको मूल्य ४ लाख राखिएको छ । मूल्य कम भएपनि यसको लुक्स, डिजाइन तथा पर्फमेन्समा कुनै सम्झौता गरिएको छैन ।
यो बाइकको इन्जिनले १८ दशमलब ४ विएचपी पावर र १७.१ एनएम टर्क दिन्छ । जुन बजारमा उपलव्ध यही सेग्मेन्टका प्रतिस्पर्धी ब्रान्डका अन्य बाइकको तुलनामा केही उच्च समेत छ ।

बाइकमा राइडरको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ । यसको सिटमा ननस्लिपर टेक्स्टायल प्रयोग गरिएको कारण चालकलाई चिप्लन दिदैन । ५ स्पिड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल जीपीएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याडहरुको साथ सामान राख्ने प्लट यसमा रहेका छन् । सिटको मुनि मोबाइल चार्जिङको व्यवस्था पनि छ ।

कम मूल्यकै कारण भारतीय बजारमा उच्च कारोबार गर्न सफल एक्सपल्सले नेपाली बजारमा पनि राम्रो कारोबार गर्ने विश्वास लिन सकिन्छ । यसको मूल्य पनि निकै आकर्षक र पर्फमेन्स पनि टेष्ट गरिसकिएको छ । नेपाल जनरल मार्केटिङका सिनियर म्यानेजर दिनेश बज्राचार्यले समेत लन्च हुनु भन्दा पहिले नै ५ युनिट बाइकले मुक्तिनाथ सम्मको यात्रा गरेको बताएका छन् । यसको उकालोमा तनाई निकै राम्रो छ । फर्स्ट गियरमा राख्नै नपरेर ती बाइक त्यस्तो अप्ठ्यारो बाटोमा पुगेको उनले बताएका छन् । यी विभिन्न कारणले हिरोको एक्सपल्सले नेपाली बजारमा हिरोलाई एक कदम माथि उठाउने अपेक्षा गर्न सकिन्छ ।

हिरो र होन्डा छुट्टिए पश्चात नेपाली बजारमा होन्डाको राम्रो बजार भए पनि हिरोको बजार अपेक्षाकृत राम्रो हुन सकेको छैन । यो अवस्थामा नेपालमा हिरोको खस्कदो साखलाई यसले पुनः नयाँ जीवन समेत दिने अपेक्षा गर्न सकिन्छ ।