tvs-race

अलोय ह्विल सवारी साधनमा प्रयोग गरिने ह्विल हुन्, जुन आल्मुनियम वा म्याग्नेसियम धातुले बनेका हुन्छन् । यी ह्विल तौलमा हलुका हुन्छन् र कारलाई स्टाइलिस लुक दिलाउछन् ।

कुनै पनि कारमा अलोय ह्विल प्रयोग गर्दा कारको समग्र तौल घट्छ र स्पिड तथा पर्फमेन्स बढ्छ । यसका कारण स्टेयरिङलाई राम्रोसँग नियन्त्रण गर्न सकिनुका साथै फ्युल इकोनोमीमा पनि वृद्धि हुन्छ । अलोय ह्विल राम्रा ताप सुचालक पनि हुन्, जसले गर्दा ब्रेक फेल हुने सम्भावना पनि कम हुन्छ । तौलमा हलुका हुने र कारलाई राम्रो लुक प्रदान गरिने मुख्य दुई कारणले गर्दा कारमा अलोय ह्विलको प्रयोग गरिन्छ ।

धेरैजसो अलोय ह्विलमा आल्मुनियमलाई प्राथमिक ह्विलको रुपमा प्रयोग गरिन्छ । प्रारम्भिक समय देखि प्रयोग गरिएका स्टिल धातु भन्दा यी निकै हल्का हुन्छन् । कारमा स्टिल ह्विल प्रयोग गर्न सहज त हुन्छ, तर यो बिग्रिने सम्भावना बढी हुनुका साथै यसले दक्षतापूर्वक कार्य गर्नसमेत सक्दैन ।

प्रारम्भमा तौल घटाउन र पर्फमेन्समा सुधार ल्याउनका लागि स्पोर्ट कारमा अलोय ह्विलको प्रयोग गरिएको थियो । अहिले १२ देखि २० इन्च डायमिटर भएका ५ देखि १० इन्च चौडा अलोय ह्विल पाइन्छन् । सामान्य ह्विलका तुलनामा अलोय ह्विल महंगा भने हुन्छन् । यसो हुँदा तिनमा चोरका आँखा पनि लाग्न सक्छन् । त्यसैले अटो कम्पनीहरुले ह्विल लकको पनि व्यवस्था गरेका हुन्छन्, जसलाई खोल्नका लागि विशेष प्रकारको चाबीको आवश्यकता पर्छ ।

अलोय ह्विलले कारलाई आकर्षक र स्पोर्टी लुक दिन्छन् । संसारमा सबैभन्दा प्रसिद्ध अलोय ह्विल निर्माता अमेरिकन रेसिङ हो । यसले फोर्ड, बीएमडब्ल्यु, आउडीलगायतका विश्वका प्रमुख कार निर्माता कम्पनीहरुलाई अलोय ह्विल आपूर्ति गर्छ ।

रिन्केन अर्को प्रसिद्ध कम्पनी हो । यसले प्यासेन्जर र स्पोर्ट दुवै प्रकारका कारका लागि अलोय ह्विलको निर्माण गर्छ ।

अलोय ह्विलका फाइदा मात्र हुँदैन । यसका बेफाइदा पनि छन् । जस्तै :

  • अलोय ह्विल स्टिल ह्विल भन्दा हल्का हुने भएकाले सजिलै बांगिन सक्छन् ।
  • बांगिएको किनारा सजिलैसँग पहिलेको अवस्थामा ल्याउन सकिदैन ।
  • यसमा कुनै कारणवस कोरिएमा कोरिएको भाग स्पष्टसँग देखिन्छ ।
  • यस प्रकारका ह्विलले टायरको भित्रतिर हावाको चापमा कमी ल्याउन सक्ने सम्भावना हुन्छ ।
  • म्याग्नेसियम अलोय ह्विलमा आगलागी हुने सम्भावना हुन्छ र खतराजनक पनि हुन्छन् ।
  • मर्मत खर्च बढी लाग्छ ।

तर पनि अलोय ह्विललाई सफा र मर्मत गर्न सजिलो हुन्छ । सामान्य स्टिल ह्विलमा टायर डिस्कसँग जोडिएको हुन्छ र सफा नगर्दा छोटो समयमै खिया लाग्न सक्छ । यसले गर्दा ब्रेकको पर्फमेन्समा कमी आउँछ र कहिलेकाहीं त ब्रेकसु पनि काम नलाग्ने हुन सक्छ ।

टायरले ब्रेकिङमा महत्वपूर्ण भूमिका खेल्छ । यसले गर्दा टायरलाई बाहिरी रुपमै मर्मत गर्नु आवश्यक छ । अलोय ह्विल भएमा नै बाहिरी रुपमा मर्मत गर्न सजिलो हुन्छ ।