शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्सपो, नयाँ सवारी साधन र प्रविधि हेर्न पाइने

नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को शुभारम्भ भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको महसुस भएको बताए ।

नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको अटोमोबाइल क्षेत्रको नीतिगत स्थिरताका लागि पहल गर्ने उद्देश्यका साथ नाइमा गठन भएको जानकारी दिदै ४.७ प्रतिशत रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको अटोमोबाइल क्षेत्रको योगदानलाई सबैले स्मरण गर्नुपर्ने बताइन् ।

पाँच दिनसम्म सञ्चालन हुने एक्सपोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्सपोका लागि नयाँ मोडल भित्र्याइसकेका छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने नाइमाले जानकारी गराएको छ ।