धेरैले नेपालमा गाडी नै बन्दैन । किन मेड इन नेपाल भनेको ? भनेर प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले केही पार्ट्स ल्याएर जोडजोड गरेकै भरमा मेड इन नेपाल भन्न मिल्दैन भन्ने तर्कहरु पनि गरिरहेका छन् । वास्तवमा हुन्डाईले नेपालमै पहिलो पटक सवारी साधन उत्पादन गर्नका लागि एसेम्बली प्लान्ट सञ्चालन गरेको छ ।
अब नेपालमै सवारी साधन उत्पादन गर्ने लक्ष्यका साथ लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेसनको स्थापना गरेको छ र सो प्लान्टको सञ्चालन लक्ष्मी मोटर कर्पोरेसनले नै गरिरहेको छ ।
यस्तो छ एसेम्बली प्लान्ट
नवलपरासीको परासीमा रहेको लक्ष्मी मोटर कर्पोरेसनद्वारा संचालित हुन्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ । वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ ।
कुनै पनि सवारी साधन उत्पादन गर्नका लागि पाँच चरण पुरा गर्नुुपर्छ । ती पाँच चरण मध्ये पहिलो चरण प्रेस सप अर्थात स्ट्याम्पिङ, दोस्रो चरण बडी सप अर्थात वेल्डिङ र तेस्रो चरण पेन्ट सप हो । पहिलो चरणमा स्ट्याम्पिङ गरेर आवश्यक पार्ट्स तयार गरे पछि त्यसलाई जोड्ने अर्थात वेल्डिङ कार्य गरिन्छ । त्यसैगरी तेस्रो चरणमा पेन्ट सप अर्थात पेन्टिङ कार्य गरिन्छ ।
चौथो चरणमा एसेम्बली सप र पाँचौ चरणमा टेस्ट लाइन कार्य हुन्छ । नेपालमा हाल यही चौथो र पाँचौ चरणको कार्य हुने गरेको छ । कोरिया र भारतमा पहिलो तीन चरण पार गरेर ल्याइएका इन्जिन, बडी र विभिन्न पार्ट्सलाई एसेम्बल गर्ने र अन्तिममा टेस्ट गर्ने कार्य यहाँ हुने गरेको छ ।
यसका लागि प्लान्ट भित्र मेन एसेम्बली लाइन, सब एसेम्बली लाइन, टेस्ट लाइन, १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक, वाटर सावर टेस्ट बुुथ र फाइनल इन्स्पेक्सन जस्ता एसेम्बली फ्यासिलिटी रहेको छ ।
त्यसैगरी ट्रेनिङ रुम तथा कारको क्वालिटी इन्स्पेक्सनका लागि अडिट रुम पनि रहेको छ । प्रत्येक सवारी साधन उत्पादन भए पछि यसको गुुणस्तरको वारेमा जाँच गरी प्रत्येक १० मध्ये १ कारको रिपोर्ट हुुन्डाईको मुख्य कार्यालयमा पठाउनु पर्ने अनिवार्यता रहेको कम्पनीको भनाइ छ ।
यसका साथै प्लान्ट भित्र बीआईपी पार्ट्स र सीकेडी पार्ट्सका लागि वेयरहाउस एवम् क्यान्टिन, युटिलिटी ब्लक र अटो कम्पाउन्ड समेत रहेका छन् ।
भविष्यमा नेपालमा समेत तेस्रो चरणको कार्य अर्थात पेन्ट सप समेत गरिने लक्ष्मी मोटर्सको भनाइ छ । यसमा सवारी साधनको पेन्टिङ सम्बन्धी आवश्यक कार्य गरिन्छ ।
यसकारण मेड इन नेपाल
विश्वका धेरै देशमा हुन्डाईका यस्तै एसेम्बली प्लान्ट छन् । सवारी साधन उत्पादनमा हुने पाँच चरण मध्ये कुनैमा कुनै र कुनैमा कुनै चरण रहेको हुन्छ । नेपालमा पनि हाल पछिल्लो दुुई चरणको कार्य भइरहेको छ ।
विश्वमा सबै स्थानमा रहेका प्लान्टमा यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुन्छ । यसका लागि हुन्डाईले निश्चित प्रक्रियाको लागि आवश्यक नियम बनाएको हुन्छ र त्यसको पालना गर्नुपर्छ । नेपालमा पनि त्यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुने नियम रहेको छ र त्यसै अनुसार पहिलो चरणमा हुुन्डाई भेन्यु उत्पादन गरिएको हो ।
नेपालमै एसेम्बल गरेर उत्पादन गरिएकाले यसलाई कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेको छ ।