tvs-race

काठमाडौं – लकडाउनको अवधि आठ दिन थप भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिन चाहेकाहरु बढिरहेका र यसको लागि सवारी पास लिनेको घुइचो भएको छ ।

पहिले यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास दिने व्यवस्था भएकोमा सर्वसाधारणको घुइचो भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पास वितरण गर्न छोडेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै आकस्मिक सवारी पास मात्रै प्रशासनबाट वितरण हुने जनाएको छ । प्रशासनका अनुसार अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रसेवक कर्मचारीहरुका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खाद्य बस्तुलगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण हुनेछ ।

काठमाडौँ बाहिर रिपोर्टिङमा जाने पत्रकारहरुले भने प्रेस काउन्सिलबाट सवारी पास लिन सक्नेछन् । इँटा भट्टामा काम गर्ने मजदूर, विभिन्न ठूला उद्योग तथा कम्पनीका कामदारहरुका लागि भने डीएसपी रहने प्रहरी कार्यालयमार्फत गन्तव्यसम्म पुग्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

आज मंगलबारबाट यसरी क्षेत्र अनुसार पास वितरणको निकाय फरक फरक हुने हुँदा प्रशासनमा भिड कम हुने अनुमान गरिएको छ ।