Apache Race Track Experience

काठमाडौं – शनिबार काठमाडौंको तीनकुनेस्थित थाहा ड्राइभिङ ट्रेनिङ सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस नेपाल ट्यालेन्ट कप’ को विजेता राजकुमार कार्की र अभिशेक घोष बनेका छन् ।

कार्की १ सय ६० सीसी र घोष २ सय सीसी क्याटागोरीका विजेता बनेका हुन् । १ सय ६० सीसी क्याटागोरीमा फर्स्ट रनर्स अप कार्लोस दुलाल र सेकेन्ड रनर्स अप रामबिक्रम थापा बने ।

त्यसैगरी २ सय सीसी क्याटागोरीमा भीम होना फर्स्ट रनर्स अप र रसिल जोशी सेकेन्ड रनर्स अप बने ।

विजेताहरुलाई टीभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवाल र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।

विजेता, फर्स्ट रनर्स अप र सेकेन्ड रनर्स अपले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

नेपाल ट्यालेन्ट कप नाम दिइएको सो रेसिङको मूख्य प्रायोजक टीभीएस अपाचे सिरिज आरटीआर रहेको थियो । १ सय ६० सीसी सम्म र २ सय सीसी गरी दुई क्याटागोरीका बाइकमा सम्पन्न सो प्रतियोगिताको आयोजक मोटर स्पोर्ट्स नेपाल थियो ।

प्रतियोगीहरुले विभिन्न कम्पनीका बाइक सो अवसरमा कुदाउने थिए । प्रतियोगितामा दुवै क्याटागोरी गरी ४० प्रतियोगीका साथै विभिन्न कम्पनीका अफिसियल राइडरहरु समेत सहभागी भएका मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

सो प्रतियोगितालाई पेट्रोनस, क्यास्ट्रोल र एभरेष्ट लुब्रिकेन्ट्सले समेत प्रायोजन गरेका थिए । नेपाल पर्यटन बोर्डले समेत यसमा सहयोग गरेको थियो ।