tvs-race

भारतमा टीभीएसले कोभिड–१९ प्रभावितहरुको सहयोगका लागि ३० करोड भारुको आर्थिक सहयोग प्याकेज घोषणा गरेको छ ।

टीभीएस मोटर कम्पनी र सुन्दरम–क्लेटन लिमिटेडको सोसल डिभिजन श्रीनिवासन सर्भिसेज ट्रस्ट (एसएसटी) मार्फत यो सहयोग प्रदान गरिने छ ।

सहयोगको पहिलो किस्ता स्वरुप १० ट्याक्टर डिस्इन्फेक्टेन्ट्स तमिलनाडु, कृष्णागिरी र मैसोरको म्युनिसिपल अथोरिटीका लागि पठाइसकिएको छ । त्यसैगरी ट्रस्टले १० लाख मास्क उत्पादन गरी वितरण गर्ने योजना पनि बनाएको छ ।

टीभीएसले आफ्ना विभिन्न स्थानमा भएको किचेनमार्फत खाना पकाएर स्वास्थ्य सेवामा कार्यरत कार्यकर्ताहरु, प्रहरी तथा म्युनिसिपल कर्मचारीहरुलाई वितरण गर्ने बताएको छ । त्यसैगरी भेन्टिलेटरको अभावलाई मध्यनजर गरी यसको उत्पादनका लागि थ्रीडी प्रिन्टिङ कम्पनीहरुसँग सम्भावित सहकार्य वारे छलफल गरिरहेको बताएको छ ।

यो भन्दा पहिले बजाजले पनि यसका लागि १ अर्ब भारु खर्च गर्ने जनाइसकेको छ । बजाजले सरकार र विभिन्न एनजीओसँग मिलेर सो रकम गरिबको लागि खाना र वासस्थानको लागि खर्च गर्ने जनाएको छ ।

बजाजले विभिन्न अस्पतालको आईसीयू अपग्रेड गर्न सहयोग गर्नेछ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको लागि आवश्यक उपकरण खरिद गर्नुका साथै महाराष्ट्रका विभिन्न ग्रामीण इलाकामा हेल्थ क्याम्प सञ्चालन गर्ने बताएको छ ।