tvs-race

काठमाडौं - तपाईं कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक रुटमा सवारी साधन चलाउदै हुनुहुन्छ र गति तीव्र छ भने अब सचेत रहनु होला । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन कुदाउने चालकलाई कारवाही गर्न थालेको छ । यसका लागि विशेष प्रकारको लेजर स्पिड गन प्रयोग गरिदै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ ।

ट्राफिक प्रहरीका अनुसार ‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । ट्राफिक प्रहरीले यस अघि पनि मेसिन प्रयोग गथ्र्यो । तर त्यसलाई राडार स्पिड गन भनिन्छ । त्यो भन्दा लेजर स्पिड अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि यसले दिनेछ ।

महाशाखाका अनुसार अबदेखि यी सडकखण्डमा प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइनेछ । सर्भिस ट्रयाकमा भने प्रतिघन्टा २० किमिका दरले हाँक्नु पर्नेछ । तोकिएभन्दा धेरै गतिमा हाँकिएका सवारीसाधनलाई लेजर स्पिड गनका आधारमा नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिनेछ ।

महाशाखाका अनुसार लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य सोमबारबाटै सुरु भएको छ । तर, कारबाही प्रक्रिया भने एक सातापछि मात्रै सुरु हुनेछ । प्रयोग गर्न लागिएको प्रविधि नौलो भएकाले यसबीचमा सर्वसाधारणलाई सुसूचित गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार लेजर स्पिड गन विशेष खालको क्यामेराजडित उपकरण हो । यो दूरबिन आकारको हुन्छ, यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छ । सञ्चालित गनले सडकमा आवागमन गर्ने सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ ।

सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारित भन्दा बढी गुड्ने सवारीसाधनको गति सजिलै देखिने भएकाले उपकरण बोक्ने ट्राफिक प्रहरीले गति उल्लंघनको संकेत पाउँछ । प्रहरीले तुरुन्तै अर्को बटन दबाएर सो सवारीसाधनको विस्तृत विवरण प्रिन्ट गरेर दिन्छ । र, सोही आधारमा प्रहरीले कारबाही गर्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । २२९ जना घाइते भएका छन् । यो सडकखण्डमा एक सय ७० सवारी दुर्घटना भएका छन् । धेरैले ज्यान गुमाएको र घाइते समेत भएकाले यसलाई न्यूनीकरण गर्न लेजर स्पिड गन प्रयोग गर्न लागेको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले बताएका छन् ।