फिचर : टोयोटा रशको मुस्ताङ -याली, एक अविष्मरणिय यात्रा

मुस्ताङ नेपालको एक बिकट हिमाली जिल्ला हो । हिमालपारीको जिल्लाका नामले समेत चिनिने मुस्ताङ पर्यटकिय दृष्टिकोणले निकै नै महत्वपूर्ण स्थान पनि हो । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ यही जिल्लामा पर्छ ।

जीवनमा एकपटक मुस्ताङ भ्रमण गर्न रुचि राख्ने स्वदेशी तथा विदेशी पर्यटकहरु बढ्दै गएपनि जोकोहीका लागि सहजै मुस्ताङ पुग्न भने त्यत्ति सजिलो छैन । साँघुरा र अधिकांश कच्ची सडक भएको मुस्ताङ पुग्न अफरोडमा साहसिक यात्रा गर्नुपर्ने हुन्छ । जाडो याममा हिउँले ढाकिने यहाँका सडक गर्मी याम लागेसँगै धुलाम्मे हुन्छन् । बाटोमा भएका खाल्डाखुल्डी छल्दै कालिगण्डकी नदिको तिरैतिर सवारीसाधन कुदाउनु कम्ती जोखिमपूर्ण मानिदैन । यस्तोमा जुन पायो त्यहि सवारीसाधनबाट मुस्ताङ यात्रा तय गर्नु असम्भव प्राय: मानिन्छ ।

यो भेगमा कुद्ने सवारीसाधन उच्च क्षमताको हुनु त पर्छ नै साथमा उच्च ग्राउन्ड क्लियरेन्स र फोरह्विल ड्राइभ अनिवार्यजस्तै हुनुपर्छ भन्ने आम मान्यता पनि छ । तर पछिल्लो समय टायोटा रशको मुस्ताङ यात्राले उक्त मान्यतालाई गलत सावित गरिदिएको छ । १.५ लिटर इन्जिन क्षमताको रश, टु ह्विल ड्राइभ गाडी भएर पनि मुक्तिनाथासम्म सहजै यात्रा गरी फर्किन सफल भएको हो । काठमाडौंबाट फागुन २१ गते मुस्ताङका लागि हिडेका ७ वटा रशले उक्त यात्राका क्रममा कुल ९ सय किलोमिटर यात्रा तय गरेको छ । कम्पनीका प्रतिनिधिसहित विभिन्न सञ्चारमाध्यमबाट पत्रकारहरु सहभागी भएको उक्त यात्रा मेरा लागि जीवनको अविस्मरणिय क्षण मध्येको एक बनेको छ । जसलाई मैले आफ्नै शैलीमा व्यक्त गर्ने जमर्को गरेको छु ।

फागुन २१ गते २ वटा हाइलक्स र ७ वटा रश गरी कुल ९ वटा गाडीमा २५ जनाको टोली मुस्ताङ यात्राका लागि धुम्वराहीस्थित शोरुमबाट बिदा भएका थियौं । कम्पनीका सर्भिस हेर्ने सहायक महाप्रवन्धक निरज तिवारी र प्राविधिक गणेश चौलागाई सहित हामी तीनजनाको टोली रातो रङ्गको रशमा सवार थियौं । ड्राइभिङमा गणेशजीले साथ दिनु भएको थियो । विहान १० बजे शोरुमबाट प्रस्थान गरेको गाडीलाई जाम छिचोल्दै नागढुङ्गा कट्न झन्डै डेढ घन्टा लगेको थियो । त्यसपछि हाइवेमा हुइकिदै २ बजेको आसपासमा कुरिनटारस्थित सिद्धार्थ कटेजमा पुगेर खाना खाएपछि पोखराका लागि प्रस्थान ग¥यौ । हाइवेमा यसको पर्फमेन्स तारिफ गर्न लायक देखियो ।

उच्च गतिमा हाँक्दा समेत गाडी एकदमै स्थिर थियो । म बीचको सिटमा वसेको थिए । पछाडिको सिटलाई फोल्ड गरेर लगेज राखिएको हुँदा सिटलाई आवश्यकता अनुसार ढल्काउन नमिलेका कारण केही असहज महशुस भइरहेको थियो । पछि निरजजीले पछाडिको सामान मिलाएर सिट मिलाइदिएपछि भने गाह्रो भहशुस भएन । हामी पोखरा पुग्दा साँझ परिसकेको थियो । होटलमा पुगेर फ्रेस भइसकेपछि अटो नेपालका मित्र रोशन र म एकछिनका लागि टहलिन वाहिर निस्कियौ । प्रायः लामो यात्रा गरेपछि शरीर थाक्ने समस्या हुन्छ तर त्यसदिन शरीर त्यत्तिसारो थाकेको महशुस भएन । सायद रशमा दिइएको कम्फर्ट फिचर्सका कारण थकान महशुस नभएको होला ।

दोस्रो दिनका लागि हाम्रो गन्तव्य लेतेसम्मका लागि तय गरिएको थियो । त्यसैले विहान सवेरै उठेर पोखराबाट सराङकोट हुँदै उक्त स्थानका लागि प्रस्थान ग¥यौ । त्यसदिन विहानैदेखि पोखराको मौसम खुलेको थियो । सराङकोटको डाडोंमा पुगेर माछापुच्छ्रे हिमाल अवलोकन गरी पुनः गन्तव्यका लागि प्रस्थान ग¥यौ । यसअघि थुप्रैपटक पोखरा पुगेपनि त्यसदिन सराङकोटबाट देखिएको हिमश्रृंखला वास्तवमै मनमोहक थियो । जसले यात्रामा रमोन्चकता समेत प्रदान गरिरहेको थियो ।

साराङकोट कटे लगत्तै कच्ची बाटो शुरु भएको थियो । सडक विस्तार र मर्मतका लागि ठाउँठाउँमा खनिएको रहेछ । बीचको केही स्थानमा पिच पनि थियो । यसरी यात्रा गर्दै म्याग्दीको घुन्ताल भन्ने स्थानमा पुगेर केही वेरको आरामपछि खाना खाएर उक्त दिनको अन्तिम गन्तव्य लेतेका लागि हिडियो । घुन्ताल पुग्दासम्म बाटोको अवस्था ठिकठिकै थियो त्यसैले बास्तविक अफरोडको अनुभव भइरहेको थिएन । जव उक्त स्थानबाट अघि बढियो त्यसपछि शुरु भयो वास्तविक अफरोड । यसअघिको साँघुरा सडकलाई फराकिलो बनाउन ठाउँठाउँमा एक्साभेटरले बाटो खनिरहेको देखिन्थे ।

यसरी बाटो खन्दा पल्टिएर आएका ढुङ्गा र माटोलाई छिचोल्दै हाम्रो गाडी अघि बढिरह्यो । जतिजति अघि बढ्दै गयो त्यत्ति नै सडकको अवस्था खराव थियो । पहिलोपटक यो रुटमा यात्रा गरिरहेको हुँदा यस पछाडिको सडक झन कस्तो होला भन्ने कौतुहलता जागिरहेको थियो । साथमा यस्तो बाटो छिचोल्दै यो गाडी मुक्तिनाथसम्म पुग्ला नपुग्ला भन्ने आशंका पनि लागिरहेको थियो । यसका बावजुद गाडीहरुको लस्कर लेतेस्थित कालापानी गेष्ट हाउसमा पुगेर रोकिँदा वाहिरको मौसम निकै चिसो भइसेको थियो भने गेष्ट हाउसको न्यानो आतिथ्यताले वाहिरको चिसोलाई केही हदसम्म विर्साएको थियो ।

तेस्रो दिनका लागि हाम्रो यात्रा मुक्तिनाथसम्मका लागि तय गरिएको थियो । त्यसैले विहान सवेरै उठेर ब्रेकफास्ट लिएपछि हामी उक्त स्थानका लागि प्रस्थान ग¥यौं । बाटो उही पहिलेको जस्तै कच्ची र कठिन किसिमको थियो । टुकुचेदेखि मार्फासम्मको सडक खण्ड भने स्तारोन्नती गरिएको रहेछ । यो खण्डको सडक ग्राभेल गरिएको थियो ।

जोमसोममा खाना खाएर उक्त दिनको अन्तिम गन्तव्य मुक्तिनाथका लागि प्रस्थान गरियो । कागवेनीसम्मको बाटो पुरै कच्ची नै थियो । कागबेनीबाट माथि लागेपछि भने मन्दिरसम्मै बाटो पिच गरिएको रहेछ । सडकको दायाँबायाँ हिउँको थुप्रो हेर्दै कागबेनीबाट अघि बढ्दै जाँदा सडकमै पनि हिउँ परेको भेटियो । हिउँमाथीबाटै गाडी चलाउँदा समेत चक्का चिप्लिने तथा घर्सिने समस्या देखिएन । हिउँमाथी हुँदै गाडी जव मुक्तिनाथ मन्दिरको फेदिमा पुग्यो त्यसपछि सवैजनाले वाउ रश π भन्दै खुसीको भाव प्रकट गरे । सवैभन्दा बढी खुसी कम्पनीका प्रतिनिधिहरु देखिएका थिए । किनभने उनीहरुको मिसन पुरा भएको थियो । मन्दिरको दर्शन गरेर फर्कदै गर्दा हिउँ पर्न थालिसकेको थियो । हतारहतार गाडी अघि बढाउँदै कागवेनी आएपछि विस्तारै ड्राइभ गर्दै लेते आएर बास बसियो ।

चौथोदिन अर्थात मुस्ताङ यात्राको अन्तिम यात्रा जोमोसोम माथि रहेको दुम्वा तालका लागि तय गरिएको थियो । लेतेबाट जोमसोम सम्मका लागि पुरानै रुट भएपनि जोमसोमबाट तालसम्मको अधिकांश बाटो उकालो थियो । हिमालको खोंचमा रहेको दुम्वा ताल वास्तबमै मनमोहक थियो । तालको माथिल्लो भाग पुरै हिउँले ढाकिएको र पिंधमा ताल टलपलाइरहेको थियो ।

तालको यस्तो दृश्यले सवैलाई मन्त्रमुग्ध बनाइरहेको थियो । तालको अवलोकन पश्चात लेते फर्किएर उही पुरानै कालापानी गेष्ट हाउसमा बास बसियो । यात्राको पाँचौदिन लेतेबाट पोखरा र भोलिपल्ट काठमाण्डौं फर्केसँगै टोयोटाको ‘रश टु मुस्ताङ’ सम्पन्न भएको थियो । यससँगै टु ह्विल ड्राइभ भएको गाडी अफरोडमा गुड्न सक्दैनन् भन्ने मान्यतालाई टोयोटा रशको सफल मुस्ताङ यात्राले गलत सावित गरिदिएको छ । ६ दिनको अवधिमा कुल ९ सय किलोमिटर, त्यसमा पनि अधिकांश अफरोड यात्रा विना कुनै प्राविधिक गड्ब्डी सम्पन्न गरेर रशले टोयोटाको गुणस्तरलाई समेत प्रमाणित गरेको छ ।

रश टोयोटा फेमिलीको सवैभन्दा सानो र कम क्षमताको एसयूभी हो । यो एसयूभी नेपाल भित्रिएको ९ महिना बितिसकेको छ । इन्डोनेशियास्थित प्लान्टमा उत्पादन गरिएको यसलाई डाइहात्सु प्लेटफर्ममा निर्माण गरिएको छ । १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिनयुक्त यो गाडीमा १०५ एचपी पावर र १४० एनएम टर्क क्षमता रहेको छ ।यो एसयुभीको ग्रााउण्ड क्लियरेन्स दुई सय २० मिलिमिटर रहेको छ । फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त यो गाडीमा एलइडी हेडलाइट, एलोइ व्हिल, चंकी फ्रन्ट बम्पर ,क्रोम स्लट, एलईडी डीआरएल लगायतका अत्याधुनिक उपकरण जडान गरिएको कम्पनीले बताएको छ । आठ महिना अघि सार्वजनिक गरिएको गाडीमा प्रविधिलाई मध्यनजर गर्दै ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

पुस बटन स्टार्ट जडान गरिएको सात जना सजिलै अट्न सक्ने गाडीमा ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्याग जडान गरिएको छ । स्पोर्ट युटिलीटी भेइकल (एसयूभी) मोडलमा रहेको यो गाडीमा सेवाग्राहीले एन्टिलक ब्रेकिङ सिस्टम, हिल एसिस्ट, स्ट्याबिलिटी कन्ट्रोल लगायतको अत्याधुनिक सुविधा प्रयोग गर्न सक्नेछन् । ग्राहकले चारवटा मोडल (रश एमटी मीड, एटी मीड, एमटी हाइट र एटी हाइट) मा उपलब्ध रहेको रश नेपाली बजार मूल्य न्यूनतम ६१ लाख ९० हजार रुपैयाँ देखि ७५ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रस्तुति : तोयानाथ पौडेल

Subscribe Now