tvs-race

जब गेरेन्ट थोमसले ८३ घण्टा १७ मिनेट १३ सेकेन्डमा साइकल रेस टुर डी फ्रान्स जिते, खुसीयालीमा श्रीमती साराह एलेनलाई अंगालोमा भरे । उनले भनेका थिए, ‘यो भन्दा पहिले म अन्तिम पटक मेरो विवाहको खुसीमा रोएको थिए । आज फेरि रोएको छु । म यी दुई दिन जिन्दगीमा कहिल्यै पनि भुल्ने छैन ।’

गत साउन महिनाको कुरा हो । साइकल रेसका लागि विश्वमै प्रतिष्ठित टुर डी फ्रान्सको १ सय ५ औं संस्करण जितेको खुसीयालीमा वेल्सका गेरेन्ट थोमस खुसीले रोए । उनका निकटतम प्रतिद्वन्दी नेदरल्यान्डका टम डुमोलिन भन्दा थोमस १ मिनेट ५१ सेकेन्ड अगाडि रहे ।

त्यसैगरी गत बर्षका विजेता ब्रिटेनका क्रिस फ्रुमले तेस्रो स्थान हासिल गरे । क्रिस फ्रुम गेरेन्ट थोमस भन्दा २ मिनेट २४ सेकेन्ड पछि रहे । यो भन्दा पहिले सन् २०१३, २०१५, २०१६ र २०१७ मा ब्रिटेनका क्रिस फ्रुम टुर डी फ्रान्सका विजेता बनेका थिए । यो जितसँगै थोमस यो रेस जित्ने वेल्सको पहिलो र ब्रिटेनको तेस्रो साइक्लिस्ट बनेका छन् ।

यस पटकको रेसमा २२ टिमले भाग लिएका थिए । प्रत्येक टिममा ८ जना साइक्लिस्ट हुन्छन् । २३ दिनको रेस अवधिमा २ दिन मात्र आरामका लागि समय पाइन्छ । टुर डी फ्रान्स विश्वकै सर्बाधिक लामो र कठीन साइकल दौड प्रतियोगिता हो । गत जुलाई ७ मा प्रारम्भ भएको सो दौड जुलाई २९ मा सम्पन्न भएको थियो । २१ स्टेजमा हुने सो रेसको दुरी ३३ सय ५१ किलोमिटर हुन्छ । रेस तीन हप्तासम्म चल्छ ।

रेसमा २० देखि २२ टिमले भाग लिन्छन् । प्रत्येक स्टेजका अलग अलग विजेता हुन्छन् । यी सबैलाई जोडेर जसले कम समयमा रेस पुरा गर्छ, उही नै समग्र विजेता बन्छ ।