यी हुन् अप्रिलमा धेरै बिक्री भएका कार, अल्टो बन्यो नम्बर वान

भारतीय कार बजारमा अप्रिल महिनामा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ मारुती सुजुकी अल्टो । अप्रिलमा २२ हजार ७ सय ६६ अल्टो बिक्री भएर धेरै बिक्री हुने कारमा नम्बर वान रहन सफल भएको हो ।

अप्रिल महिनामा मारुतीकै डिजायर, बलेनो, स्विफ्ट, भिटारा ब्रेजा र वागन आर बिक्रीको हिसाबले क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौ नम्बरमा रहन सफल भएका छन् । यी कार क्रमशः १८ हजार ५ सय ४४, १७ हजार ३ सय ५५, १५ हजार ७ सय ७६, ११ हजार ७ सय ८५ र ११ हजार ३ सय ६ युनिट बिक्री भएका छन् ।

सातौं र आठौं नम्बरमा हुन्डाईको क्रेटा र एलिट आई २० रहन सफल भएका छन् । यी कार क्रमशः १० हजार ४ सय ८७ र १० हजार ४ सय ११ युनिट बिक्री भएका छन् । नवौं नम्बरमा सुजुकीकै इको र दशौं नम्बरमा हुन्डाई ग्रान्ड आई १० छन् ।

अल्टो मार्च महिनाको तुलनामा ३५.३० प्रतिशत बढी बिक्री भएको छ । अघिल्लो महिनामा १६ हजार ८ सय २६ युनिट अल्टो बिक्री भएकोमा अप्रिलमा २२ हजार ७ सय ६६ युनिट बिक्री भएको हो ।

कम्पनीले २०१९ अल्टो ८०० मा कस्मेटिक अपडेट्स गरेको छ । सुरक्षालाई ध्यानमा राखेर कम्पनीले सो कारमा अतिरिक्त सेफ्टी फिचर पनि राखेको छ । भारतीय सुरक्षा मापदण्डलाई ध्यानमा राखी यसमा बीएस–६ इन्जिन समावेश गरिएको छ ।

मारुती सुजुकीको सो नयाँ अल्टोमा ७९६ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ४७ बीएचपी अधिकतम पावर र ६९ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा रहेको इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स उपलब्ध रहेको छ ।

यसको ड्राइभर साइड एयरब्याग स्ट्यान्डर्ड हुनेछ । यसको टप भेरिएन्टमा ड्युअल फ्रन्ट एयरब्याग जडान गर्ने सम्भावना रहेको छ । सो कारमा एबीएसको साथमा ईबीडी, रियर पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम र फ्रन्ट सिट्सको लागि सिटबेल्ट रिमाइन्टर जस्ता फिचर समावेश गरिनेछ ।

नयाँ मारुती सुजुकी अल्टो ८०० को एक्सटेरियरको फ्रन्टमा स्टाइलिङको लागि नयाँ ग्रिल र बम्परको साथमा ठूलो एयर इन्टेक दिइएको छ । साथै इन्टेरियरमा नयाँ ड्युअल टोन ड्यासवोर्डको साथमा स्टेयरिङ ह्विल समावेश गरिएको छ । यसको बेस भेरिएन्टमा युएसबी र एयुएक्स कनेक्टिभिटी भएको अडियो सिस्टम जडान गरिएको छ ।

Subscribe Now