पठाओका टप राइडर, शिक्षकदेखि भुतपूर्व सैनिकसम्म

दाङका टीकाराम चौधरी नेपाली सेनामा भर्ती थिए । सेनाबाट अवकाश लिने अवधि पुगेपछि उनले विदेश जाने सोच बनाएर अवकाश लिए । उनले विभिन्न ठाउँमा विदेश जानका लागि आवेदन भरे । यद्यपि अनेक कारणले गर्दा विदेश जान मिलेन । उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिए । त्यति नै बेला उनले पठाओको बारेमा थाहा पाए ।

मोटरसाइकलमा मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पु-याउनुपर्ने त्यो पनि अनलाइनबाटै बुकिङ हुने भन्ने थाहा पाएपछि उनी विदेश जाने चक्करबाट बाहिरिए । पठाओको राइडरका लागि आवेदन भरे । करिव डेढ वर्षयता उनी पठाओ चलाउँदै आएका छन् । पछिल्लो १५ दिनयता उनी पठाओको टप राइडरमा परेका छन् ।

दाङका चौधरी बिहान ७ बजेभित्र घरबाट निस्किसक्छन् । दिनभरमा २० जनाभन्दा बढी युजरलाई सेवा दिन्छन् । जसबापत दैनिक ३ हजारको हाराहारीमा कमाई हुने उनी बताउँछन् । पठाओलाई तिर्दा र मोटरसाइकल खर्च कटाउँदा मासिक ६० हजार बच्ने चौधरी बताउँछन् । त्यसो त उनी विदेश जान नमिलेकोमा अहिले भने खुशी छन् । ‘म विदेश गएको भएपनि यति कमाई हुँदैन थियो होला,’ ३६ वर्षीय चौधरी भन्छन्, ‘आफ्नै माटोमा परिवारसँग बसेर दुःख गरे अनुसारको कमाई भैरहेको छ । म सन्तुष्ट छु ।’

नवलपरासीका सुर्य मोहन सुवेदी पठाओ राइडर बनेको धेरै भएको छैन । उनले गत फागुनबाट पठाओ राइड गर्न सुरु गरेका हुन् । अझ उनी सक्रिय भएको त असार १५ पछि मात्र हो । त्यसभन्दा अघि उनी पनि सशस्त्र प्रहरी सेवामा आवद्ध थिए । तालिमको क्रममा उनी घाइते भए । त्यसपछि उनले अवकाश लिए । अवकाश पछि के गर्ने त भनेर उनी सोच्दै थिए । उनलाई विदेश जाने सोच पनि आएको थियो । यहीबीचमा उनले पठाओको बारेमा थाहा पाए । त्यसपछि आफ्नै देशमा खुलेको कम्पनीलाई सहयोग पनि हुने परिवार, साथीभाईबाट छुटिन पनि नपर्ने भएकाले पठाओ चलाउन सुरु गरेको उनी बताउँछन् ।

उनी हाल बानेश्वरमा श्रीमती र छोरीसँग बस्दै आएका छन् । बिहान ९ बजेदेखि बेलुका ११ बजेसम्म पठाओ चलाउँछन् । दिनमा २५ देखि ३० जना यात्रुलाई सेवा दिन्छन् । त्यो बापत मासिक ७० हजार रुपैयाँ बच्ने उनी बताउँछन् । ‘बिहान ९ बजेदेखि बेलुका ११ बजेसम्म पठाओ चलाउँछु,’ ३५ वर्षीय सुवेदी भन्छन्, ‘मासिक ७० हजार रुपैयाँ मेरो बचत हुन्छ ।’ पठाओले राइडरका लागि पीपीई अनिवार्य गरेको छ । तर, पीपीईले घाम पानी र चिसो नथेग्ने भएकाले निकै गाह्रो परिरहेको उनी बताउँछन् । ‘पठाओको सबै राम्रो छ तर पीपीईले गर्दा हामीलाई निकै समस्या परिरहेको छ,’ उनी भन्छन्, ‘अहिले चिसोमा पीपीईले मात्र धान्दैन भित्र बाक्ला कपडा लगाउँदा त्यो लगाउन मिल्दैन । दिशा पिसाब गर्न पनि निकै अप्ठेरो पर्ने भएकाले कम्पनीले हामी राइडरहरुको यो गुनासो सुनिदिए काम गर्न अझै उर्जा बढ्थ्यो ।’

दाङका प्रदिप अधिकारी पेशाले शिक्षक हुन् । उनले ९ वर्ष शिक्षण पेशामा बिताएपछि उनी पनि विगत २ वर्षयता पठाओ राइडरको रुपमा कार्यरत छन् । उनी दाङकै एउटा निजी विद्यालयमा अध्यापन गराउँथे । यही बीचमा उनलाई कोरिया जाने लहड चल्यो । त्यसपछि उनी काठमाडौं आएर कोरियन भाषा पढ्न थाले । सुरुमा काठमाडौंमा कमाइ नहुँदा उनलाई गाह्रो हुनथाल्यो । त्यसैले उनले केही समय ज्यामी काम गर्दै कोरियन भाषा पढ्न थाले ।

एकदिन उनको एकजना साथीले टुटल चलाउन सुझाव दिए । उनलाई त्यसभन्दा अघि यस्ता अनलाइन राइड सेयरिङको बारेमा थाहा थिएन । उनले युट्युबमा सर्च गरेर हेरे । त्यसपछि उनले सुरुमा टुटल चलाए । करिव ६ महिना टुटल चलाएपछि उनी पठाओसँग आवद्ध भए । उनी अहिले पनि कोरियन भाषा र आइएलटीएसको कक्षा लिइरहेका छन् । उनी दैनिक १३ घन्टा पठाओ चलाउँछन् भने ३ घन्टा भाषा पढ्छन् ।

हाल गोंगबुमा बस्दै आएका उनले पठाओ चलाएबापत सबै खर्च कटाएर दैनिक २ हजार रुपैयाँ बचत गर्ने गरेको बताए । ‘म दैनिक १३ घन्टा खट्छु,’ उनले भने, ‘२५ जना युजरलाई सेवा दिने मेरो लक्ष्य हुन्छ त्यसैले दैनिक सबै खर्च कटाएर २ हजार रुपैयाँ बचत गरेको छु ।’

काभ्रे पाँचखालका कृष्णबहादुर तामाङले ट्याक्सी चलाउन थालेको ११ वर्ष भयो । डेढ वर्ष अघिसम्म यात्रु खोज्दै चोक–चोक धाउनुपथ्र्यो तर पठाओमार्फत ट्याक्सी सेवा दिन थालेपछि भने उनलाई सजिलो भएको छ । उनले डेढ वर्ष अघिबाट पठाओ ट्याक्सी चलाउन थालेका हुन् ।

त्यसैले अहिले कमाई पनि राम्रो भएको र ग्राहक खोज्दै हिड्नुपर्ने र बार्गेनिङ गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनी सुनाउँछन् । ‘पहिला यात्रु कहाँ पाइएला भनेर खोज्दै हिड्नु पथ्र्यो,’ ३५ वर्षीय तामाङ भन्छन्, ‘अहिले त पठाओले गर्दा मोबाइलमै यात्रु आइपुग्छन् । न बार्गेनिङ गर्नुपर्यो न त यात्रु खोज्न पर्यो ।’ पठाओ चलाउन थालेपछि उनलाई दैनिक १५, २० जना यात्रु टुट्दैनन् । हाल क्षेत्रपाटीमा बस्दै आएका उनी पठाओमार्फत ट्याक्सी सेवा दिएबापत दैनिक ३ हजार ५ सय रुपैयाँभन्दा बढी कमाउँछन् ।

दोलखाका केशन सुनुवारले पनि पठाओ ट्याक्सी चलाउन थालेको करिव १ वर्ष भयो । २०७२ सालयता ट्याक्सी चलाउन थालेको उनले पठाओमार्फत सेवा दिन थालेपछि धेरै राम्रो भएका बताउँछन् । अहिले पठाओ चलाउँदा दैनिक ४ हजारदेखि ५ हजारको हाराहारीमा कमाई हुने गरेको उनी बताउँछन् । ‘धुलो–धुवाँ खाँदै ग्राहक खोज्दै हिड्न पनि नपर्ने र बार्गेनिङ पनि गर्नु नपर्ने हुँदा धेरै सहज भएको छ,’ उनले सुनाए ।

उनी बिहान ९ बजेभन्दा अघि ट्याक्सी लिएर निस्कन्छन् । त्यसपछि दिनभरी पठाओ चलाउँदा नेपालमै बसेर राम्रो आम्दानी भैरहेको उनी बताउँछन् । ‘हामी जस्ता युवाहरुका लागि यस्तो प्रविधिको विकास हुनु भनेको राम्रो हो,’ उनी भन्छन्, ‘यस्तो सेवा सबै क्षेत्रमा खुल्ने हो भने हामीजस्ता युवापुस्ता रोजगारीको अभावमा खाडी मुलुक जानुपर्ने बाध्यता हट्थ्यो ।’

पठाओले हाल मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सुविधा उपलब्ध गराइरहेको छ । केही समय देखि फुड डेलिभरी समेत गर्दै आएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...