tvs-race

पेट्रोल पम्पहरुबाट लगाइने पेट्रोल वा डिजेल तिरेको रकम अनुसार पाइँदैन, कम परिमाणमा पाइन्छ, ठगी हुन्छ वा मिसावटको समस्या हुन्छ भन्ने जस्ता अनेकन गुनासाहरु बारम्बार आउने गर्छन् ।

कतिपय अवस्थामा ठगी हुन्छ भन्ने जान्दाजान्दै पनि हामी, सामान्य थपघट त भइहाल्छ नि भनेर छाडिदिन्छौ । तर एक सचेत ग्राहकका लागि यो ठीक होइन । उसोभए के छ त उपाय ?

आउनोस् हामी तपाईंलाई पेट्रोल पम्पहरुको ठगीबाट जोगिने केही टिप्सहरु बताइदिन्छौं ।

डिजिटल मिटर भएको ठाउँबाट मात्र तेल भर्ने
पेट्रोल भर्दा सधैं डिजीटल मिटर भएको पम्पबाट मात्र भर्ने गर्नुहोस् । म्यानुअल प्रणालीको पेट्रोल पम्पबाट बढी ठगी हुने अध्ययनको क्रममा देखिएको छ । यस्ता मेसिनबाट हुने ठगीबारे न तपाईलाई थाहा हुन्छ, न तपाईंले ठगी भयो भनेर दाबी गर्ने आधार नै हुन्छ । यही कारण पछिल्लो समय नेपालका पुराना पेट्रोल पम्प मेसिनहरु हटाउन थालिएको छ । धेरैमा डिजिटल मिटरवाला पम्प लगाउन थालिएको छ ।

मिटर पटक–पटक रोकिनु शंकास्पद
तपाईंले पनि देखेको हुनुपर्छ कि पेट्रोल भर्ने समयमा कहिलेकाहिं मिटर पटक–पटक रोकिने गर्छ । पटक–पटक रोक्दै तपाईलाई पेट्रोल दिइने गरिन्छ भने त्यो पम्प सही हालतमा नहुन सक्छ । जानकारहरुका अनुसार मिटर पटक–पटक रोकिँदा तपाईले कम तेल पाउनुहुन्छ, यो एकप्रकारको ठगी हो । यसकारण कुनै पेट्रोलपम्पमा यस्तो मेसिन छ भने त्यहाँबाट तेल नभर्नु नै जाति हुन्छ । बरु यो विषयमा स्थानीय प्रशासनलाई जानकारी दिएर अरुलाई समेत ठगीको शिकार हुनबाट रोक्न सकिन्छ ।

मिटरबाट ध्यान नहटाउने
अधिकांश मानिस आफ्नो कार तथा मोटरसाइकलमा पेट्रोल भरिरहँदा मिटरतर्फ ध्यान दिंदैनन् । कतिपय त कारभित्रै बस्छन् र पेट्रोल पम्पका कर्मचारीलाई विश्वास गरेर इन्धन भर्छन् । तर यस्तो बानी गलत हो । तपाईको यस्तो बेवास्ताको फाइदा पेट्रोलपम्पवालाहरुले उठाउने गर्छन् । त्यसकारण पेट्रोल भर्ने समयमा ध्यान पम्पको मिटरतिर राख्नैपर्छ । यति सानो सावधानीले पनि पेट्रोलपम्पबाट ठगिने संभावना निकै कम हुन्छ ।

Motorhead

मिटरमा जिरो छ के ?
कतिपय अवस्थामा तपाईलाई भुलाएर पेट्रोलपम्पकर्मीले मिटरमा तेलको परिमाणमा जिरो त देखाउँछन्, तर मूल्यमा चाहि अघि जिरो हुँदैन । यस्तो अवस्थामा तपाई सजिलै ठगीमा पर्न सक्नुहुन्छ । यसकारण, आफूूले पाएको पेट्रोल परिमाणसँगै मूल्यतर्फ पनि ध्यान दिनुपर्छ । परिमाण र मूल्यतर्फ पेट्रोल लाउनुुअघि जिरो हुनैपर्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । जुन पेट्रोल पम्पमा पहिला नै तपाईले माग गरे अनुसारको पेट्रोल परिमाण र रकम समेत सेट गरेर पेटोल भरिन्छ, त्यहाँबाट ठगी हुने संभावना निकै कम हुन्छ ।

रिडिङ स्टार्टमा ध्यान दिने
पेट्रोल पम्पको मेसिनमा जिरो अंकमा तपाईंले ध्यान दिनुभयो, तर रिडिङ स्टार्ट कसरी भइरहेको छ भन्नेतर्फ ध्यान दिनुुभएन भने पनि ठगीमा पर्न सकिन्छ । जस्तै, मिटर रिडिङ स्टार्ट सिधै १०, १५ वा २० बाट हुन्छ भने त्यो ठगी हो । मिटर रिडिङ कमसेकम ३ बाट स्टार्ट हुनुुपर्छ, ३ भन्दा बढीले जम्प भयो भने त्यहाँ ठगी भइरहेको बुुझ्नुपर्छ । ३ भन्दा बढी अंकले जति रिडिङ स्टार्ट जम्प हुन्छ, तपाईले त्यति नै थोरै तेल पाउने संभावना बढी हुन्छ ।

कतै मिटर तीव्र गतिमा चलेको त छैन ?
पेट्रोल भरिरहँदा मेसिन तीव्र गतिमा चलेमा त्यो सामान्य अवस्था होइन । केही न केही गडबडी भइरहेको छ । यस्तो बेला पेट्रोलपम्पकर्मीलाई मिटरको स्पीड नर्मल गर्न लगाउनुपर्छ । तेज गतिमा मिटर चल्दा तपाईले तिरेको मूल्य अनुसार पेट्रोल नपाइरहेको हुनसक्छ ।

सुनसान पेट्रोलपम्पबाट तेल नभर्ने
सुनसान पेट्रोल पम्पबाट तेल नभर्नुहोस् । मानिसहरुको चहलपहल भइरहने वा तपाई भन्दा अगाडि केही मानिसहरु पेट्रोल भर्न बसिरहेका छन् भने त्यस्ता पम्पबाट मात्र तेल भर्ने गर्नुुहोस् । सुनसान पेट्रोल पम्पबाट तेल भर्न सधैं सजग हुनुुपर्छ । यदि यस्तो पम्पबाट तेल भर्नुुहुन्छ भने तपाईलाई कम पेट्रोल प्राप्त हुन्छ । किनभने यस्तो पेट्रोल पम्पबाट तेल भर्दा नोजलमा पेट्रोल आउनुुभन्दा अघि भरिएको हावा तपाईको गाडीको ट्यांकीमा भरिन्छ र तपाईलाई केही प्वाइन्टको नोक्सानी हुन्छ ।

खाली ट्यांकी पारेर तेल नभरौं
धेरै कम मानिसलाई मात्र थाहा हुन्छ कि खालि ट्याङ्कीमा पेट्रोल भर्दा पनि नोक्सानी हुन्छ भन्ने कुरा । तपाईको पेट्रोल ट्याङ्क जति खालि हुन्छ, त्यति नै हावा ट्याङ्कीमा भरिन्छ । यस्तो अवस्थामा तपाईले पेट्रोल भर्नुहुन्छ भने हावाका कारण पेट्रोलको परिमाण कम पाइन्छ । त्यसकारण ट्याङ्कीमा रहेको पेट्रोल रिजर्बको तहसम्म आउन नदिई त्यसअघि नै पेट्रोल भर्नुपर्छ ।