टेस्लाले ल्यायो इलेक्ट्रिक कार ‘मोडल वाई’, फुल चार्जमा ४८२ किलोमिटर गुड्ने

टेस्लाले नयाँ मोडलको इलेक्ट्रिक कार ‘मोडल वाई’ सार्वजनिक गरेको छ ।

टेस्लाले इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी भेइकल अर्थात ईएसयूभीको रुपमा अमेरिकाको क्यालिफोर्नियास्थित हाउथ्रोनमा रहेको टेस्ला डिजाइन सेन्टरमा मोडल वाई सार्वजनिक गरेको हो ।

टेस्लाका सीईओ एलन मस्कका अनुसार पहिलो चरणमा उत्पादन गरिएको लङ रेन्ज भर्सनको यो गाडीलाई एक पटक फुल चार्ज गर्दा ४८२ किलोमिटर गुडाउन सकिने छ । यो मोडल वाई सन् २०२० देखि मात्र बजारमा उपलब्ध हुनेछ ।

टेस्लाको मोडल थ्रीमा उपलब्ध प्लेटफर्ममै मोडल वाई पनि तयार गरिएको छ । यसको मूल्य ४७ हजार अमेरिकी डलर तोकिएको छ ।

मोडल वाईको स्ट्याण्डर्ड भर्सन सन् २०२१ मा मात्र उपलब्ध हुनेछ जसको मूल्य करिब ३९ हजार अमेरिकी डलर हुने अनुमान छ । स्ट्याण्डर्ड भर्सन ३७० किलोमिटरको रेन्जमा आउनेछ ।

सबैभन्दा टप–इन्ड पर्फमेन्स मोडलले सिंगल चार्जमा ४५० किलोमिटरको दुरी तय गर्नेछ र यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा हुनेछ । यसको मूल्य ६० हजार अमेरिकी डलर हुनेछ ।

मोडल वाईमा सात जना मानिस बस्न मिल्ने सुविधा छ । यसमा प्यानोरामिक सनरुफ समेत छ । यसको इन्टेरियर भने मोडल थ्रीको जस्तै छ, जसमा १५ इन्चको टचस्क्रिन इन्टरफेस राखिएको छ ।

Subscribe Now