tvs-race

काठमाडौं – काठमाडौं सडकमा पहिलो पटक विश्वमै प्रसिद्ध मानिएको टेस्लाका इलेक्ट्रिक कार देखिएका छन् । यस्ता कार देखिएसँगै केहीले सामाजिक सञ्जालमा राखेका यी तस्बिरसहित यी गाडीको चर्चा पनि चुलिएको छ ।टेस्लाको मोडल एक्स सडकमा देखिएको हो ।

टेस्ला र औडी लगायतका केही कार भन्सारमा थन्किएका थिए । यी गाडीको आधिकारिक वितरक नभएको कारणले भन्सारले गाडी छुटाउन मानेको थिएन । तर आफूलाई टेस्लाको आधिकारिक वितरक भएको दावी गर्दै आएको श्रीमा डिष्ट्रिब्युटर्सले यसको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

केही दिन पहिले सर्वोच्च अदालतले गाडी सुरक्षित राख्ने गरी हाललाई टेस्लाका ती गाडी श्रीमा डिष्ट्रिब्युटर्सलाई नै उपलब्ध गराउने आदेश दिएको थियो ।

सरकारले हालै बजेटमार्फत इलेक्ट्रिक कारको गाडीमा निकै नै भन्सार बढाएको छ । टेस्लाका यी गाडी पनि निकै महंगा मानिन्छन् । यी गाडीको मूल्य कति पर्छ भनेर अहिले नै भन्न नसकिए पनि करोड माथि नै हुन्छ ।

श्रीमा डिष्ट्रिब्युसन नेपाल प्रालिले टेस्ला मोडेलको दुई विद्युतीय गाडी मगाएको थियो। आधिकारिक एजेन्सी नलिइ कम्पनीले गाडी आयात गरेको भन्दै भन्सारले जाँचपास गरेर धादिङको बेनिघाट पुगेपछि फिर्ता ल्याएको थियो।

तस्बिर : सामाजिक सञ्जाल