इलेक्ट्रिक कार उत्पादनमा विश्व चर्चित टेस्लाले अर्को बर्षबाट
भारतीय बजारमा समेत बिक्री थाल्ने भएको छ । टेस्ला भारतीय बजारमा आउने हल्ला निकै अघिदेखि चलेपनि अनिर्णित बन्दै आएको थियो । टेस्ला इंकका सीईओ एलन मस्कले अर्को वर्षदेखि भारतमा कारोबार थाल्ने बताए पछि यो ब्रान्ड भारत भित्रिने निश्चित प्रायः बनेको हो ।
भारतको टेस्ला फ्यान क्लबले टिसर्टमा ‘इन्डिया वान्ट्स टेस्ला एन्ड इन्डिया लभ टेस्ला’ प्रिन्ट भएको टिसर्ट सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको थियो । त्यसको प्रत्युत्तरमा उनले ‘नेक्स्ट इयर फर स्योर’ भनेका छन् । साथै उनले प्रतीक्षाका लागि धन्यवाद समेत भनेका छन् । सामाजिक सञ्जालमा पोस्ट भएको उनको यो भनाइ अहिले भाइरल बनेको छ ।
त्यसो त टेस्लाले भारतमा पहिल्यै देखि व्यापार थाल्न प्रयत्न गरिरहेको थियो । भारत सरकारले लगाउँदै आएको १ सय प्रतिशत हाराहारीको अन्तःशुल्कका कारण आफ्नो उत्पादन महंगो हुने भन्दै उसले यो योजना थाती राख्दै आएको थियो । भारत सरकारसँग कम्पनीले यो विषयमा कुरा समेत उठाउँदै आएको पनि थियो । भलै आयात जरिवानामा सरकारले नयाँ नीति ल्याएपछि यो योजना अघि सरेको हो ।
टेस्लाले चीनको सांघाइमा नयाँ प्लान्ट लगाउँदै छ र यहाँबाट हालको चर्चित मोडल टेस्ला ३ अर्को वर्ष देखि उत्पादन गर्ने बताएको छ । भारतीय बजारमा भित्रिने नयाँ कार समेत सोही प्लान्टबाट उत्पादन हुने टेस्ला ३ मोडल नै रहने अनुमान गरिएको छ ।