फिचर : नेपाली बजारमा एसयूभीको बजार अवस्था र अबको सम्भावना

ISUZU

tvs-race
yamaha-nepal
thee-go

सन् २०२० हामीबाट विदा हुने तयारीमा छ । यो वर्ष अटोमोबाइल क्षेत्रमा कम्प्याक्ट एसयूभी एसयूभी अर्थात स्पोर्ट्स युटिलिटी भेइकलले निकै नै चर्चा पाए ।

भारतीय बजारमा लन्च भएका धेरै एसयूभी नेपाली बजारमा पनि भित्रिए र ती एसयूभी नेपाली बजारमा समेत चर्चित बने ।

यो वर्ष लन्च भएका धेरै एसयूभीका कारण अटोमोबाइल उद्योगलाई कोरोना भाइरसको महामारीको चंगुलबाट निकाल्न पनि धेरै सहयोग पुग्यो । लकडाउनको प्रारम्भ देखि वर्षको अन्त्य सम्म एसयूभीको क्रेज निकै नै बढ्यो ।

कम्प्याक्ट एसयूभी देखि लिएर लक्जरी एसयूभी सम्म धेरै बिक्री भए र यसका कारण अटो निर्माता कम्पनीहरुको आत्म विश्वास बढाउन बढ्यो ।

यो वर्ष सबैभन्दा धेरै लोकप्रिय एसयूभीमा हुन्डाई क्रेटा, किया सोनेट, हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, किया सेल्टोस र निसान म्याग्नाइट रहे । अन्य सबै एसयूभी नेपाली बजारमा भित्रिसकेका छन् भने निसान म्याग्नाइट भित्रिने तयारीमा छ ।

ह्याचव्याक हुँदै एसयूभी
केही वर्ष अघिसम्म ह्याचव्याक कार प्रयोग गरिरहेका उपभोक्ताहरु अपग्रेड हुने क्रममा सेडान कार चढ्न रुचाउँथे । तर, पछिल्ला वर्षहरुमा भने उपभोक्ताहरुको यस्तो ‘ट्रेन्ड’मा बदलाव आएको छ । अब ‘इन्ट्री’ कारबाट अपग्रेड हुन चाहनेहरु सेडानलाई छोडेर सोझै एसयूभीमा छलाङ मार्नेहरुको समूह बाक्लिंदै गएको छ । अपग्रेड हुनेहरुको पहिलो रोजाईमा कम्प्याक्ट शैलीका आकर्षक एसयूभी गाडी पर्न थालेको छ ।

सेडान कारकै मूल्यमा यस्ता गाडी पाइन थालेपछि उपभोक्ताहरु कम्प्याक्ट एसयूभीतिर आकर्षित भएका हुन् । सेडानको तुलनामा यस्ता गाडीको पर्फमेन्स समेत उच्च हुन्छ । मूल्य प्रतिस्पर्धामा रणनीति फेरेर बजारमा ओर्लिएपछि अहिले कम्प्याक्ट एसयूभी गाडीहरु ह्याचव्याक सेगमेन्टका सवारीसाधन सरह बिक्री बढेको व्यावसायीहरु बताउँछन् । रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स्ड अटोमोबाइल्सका महाप्रवन्धक अधिरकुमार श्रेष्ठ भन्छन, “इन्ट्री लेभलका उपभोक्ताले ह्याचव्याक कार प्रयोग गरिरहेका छन् भने त्यसबाट अपग्रेड हुन खोज्नेहर अधिकांशले कम्प्याक्ट एसयुभी नै खोजिरहेका छन् ।”

फरक फिचर्स भएका यी गाडीले उपभोक्तालाई रोजाइका लागि विकल्पका बाटाहरु धेरै दिएका छन् । विशेषगरी नेपाली माटो र बाटो सुहाउने भएका कारण यस्ता गाडीको बजार थप विस्तार हुँदैछ ।

त्यसो त केही समयअघिको बजार ट्रेन्डलाई हेर्ने हो भने ह्याचव्याकबाट अपग्रेड हुन चाहने उपभोक्ताले कम्प्याक्ट सेडान रुचाउँथे । उक्त अवधिमा कम्प्याक्ट सेडानको बजार हिस्सा उच्च थियो । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्छन्, ‘तर अब विस्तारै कम्प्याक्ट सेडानको बजार सेलाउन थालेको छ र त्यसको ठाउँ कम्प्याक्ट एसयूभीले लिइरहेको छ ।’ एसयूभी बजारमा हुन्डाईको क्रेटाले बजारको नेतृत्व गरिरहेको उनले दाबी गरे ।

पहिलो कारका रुपमा सेडान वा ह्याचब्याक गाडी खरिद गर्ने सोचाईमा रहेका उपभोक्ता पनि नेपालमा सडकको दुरावस्थाका कारण कम्प्याक्ट एसयूभीलाई नै पहिलो रोजाइ बनाउन थालेका हुन् । आधुनिक फिचर, पावरफुल बडी, उच्च ग्राउण्ड क्लियरेन्स, उत्कृष्ट माइलेज र लक्जरियस फिचर्सका कारण कम्प्याट एसयूभी कारको व्यापार उकालो लाग्ने क्रममा रहेको व्यावसायीहरु बताउँछन् । अनरोड र अफरोड दुबैका लागि उपयुक्त मानिन्छ, कम्प्याक्ट एसयुभी । अपरोड बाटोमा समेत कम्प्याक्ट यसयूभी सुरक्षित सवारी साधन हो ।

अझ पछिल्लो समयमा उपत्यकादेखि नजिकैका ठाउँहरुमा घुम्न जाने संस्कृतिको विकास समेत हुन थालेको छ, समाजमा । परिवार, साथीभाइसहित उपत्यका नजिकैका गाउँठाउँसम्म पुग्न कम्प्याक्ट एसयूभी सेगमेन्टका सवारी साधनहरु उपयुक्त हुने नै भए । किनभने त्यस ठाउँमा पुग्न कहिँकहिँ हल्का खल्ड्याङबल्ड्याङ बाटो पार गर्नुपर्छ । यस्ता बाटोमा निश्चय पनि सेडानभन्दा कम्प्याक्ट एसयूभी उपयुक्त मानिन्छ । यस्ता गाडीले बजार लिनुको पछाडि नेपालीहरुमा विकास भएको घुमघाम संस्कृति समेत कारक बन्ने गरेको छ ।

जेजस्तो कारणले एसयूभी कारले गति लिइरहेको भएपनि यसले नेपाली अटो बजारलाई भने नयाँ दिशा दिएको छ । एसयूभी नेपाली कार बजारमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सेग्मेन्टको साधन हो ।

बढदै बजार हिस्सा
कम्प्याक्ट वा साना एसयूभीमा नेपाली ग्राहकहरु आकषिर्त भइरहँदा नेपाली एसयूभी बजार पनि फराकिलो बन्दैछ । नेपाली बजारमा थुप्रै कम्प्याक्ट एसयूभीहरु उपलब्ध छन् । फरक फिचर्स भएका यी गाडीले उपभोक्तालाई रोजाइका लागि विकल्पका बाटाहरु धेरै दिएका छन् । विशेषगरी नेपाली माटो र बाटो सुहाउने भएका कारण यस्ता गाडीको बजार थप विस्तार हुँदैछ । नेपाली बजारमा उपलब्धमध्ये केही कम्प्याक्ट एसयूभी आकर्षणको केन्द्रमा छन् ।

बजारमा कम्प्याक्ट एसयूभीको माग उच्च हुन थालेसंगै विभिन्न कम्पनीहरुले यी गाडीलाई प्राथमिकताका साथ ल्याइरहेका छन् । जसको कारण प्यासेन्जर कार सेग्मेन्टमा यस्ता गाडीको बजार हिस्सा समेत बढ्न थालेको छ । व्यावसायीहरुका अुनसार हाल नेपाली अटो बजारको प्यासेन्जर कार सेग्मेन्टमा कम्प्याक्ट एसयुभीले ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । वार्षिक १० हजारको हाराहारीमा विक्री हुने प्यासेन्जर कारको बजारमा कम्प्याक्ट एसयूभी गाडीमात्र करिब ४ हजारको संख्यामा विक्री हुने व्यावसयीहरुको दावी छ ।

कम्प्याक्ट एसयूभीले नेपाली बजारमा प्रवेश पाएको करिव ७ वर्ष मात्रै भएको छ । सबैभन्दा पहिले सन् २०१३ मा फोर्डको इकोस्पोर्ट मोडलको कम्प्याक्ट एसयूभी नेपालमा ल्याइएको थियो । यति छोटो अवधिमै यो सेगमेन्टको कारले गतिवान् बजार लिनुलाई व्यावसायीहरु सुखद आश्चर्य मान्छन् ।

इकोस्पोर्ट भित्रिएको केही वर्षपछि हुन्डाइको क्रेटा सार्वजनिक भयो र यसले प्यासेन्जर कार सेग्मेन्टमै किर्तिमानी बिक्रीको रेकर्ड राख्न सफल रह्यो । क्रेटा सार्वजनिक भएको एक बर्षको अवधिमै कम्पनीले १३ सय थान गाडी विक्री गर्न सफल भएको थियो । जुन एसयूभी सेग्मेन्टमा त्यो बेलाको किर्तिमानी सेल्स रेकर्ड हो । हालका दिनहरुमा पनि क्रेटाको सेल्समा कुनै कमी नआएको कम्पनीले बताएको छ ।

तात्दै गरेको एसयूभीको बजारमा त्यसपछि भित्रिएका रेनो डस्टर र मारुती सुजुकीको भिटारा ब्रेजाले आगो नै बालिदिएको थियो । सार्वजनिक भएको केहि दिनभित्रै सयौंको संख्यामा यी गाडी विक्री हुन सफल भएको कम्पनीले बताएको छ । भिटारा ब्रेजा र डस्टरको आगमनसंगै कम्प्याक्ट एसयुभीमा उपभोक्ताको आकर्षण झनै बढेको छ ।

त्यससँगै किया सोल, महिन्द्रा टीयूभी३००, होन्डा बीआरभी, टाटा नेक्सन आदि मोडल पनि चर्चित रहे । पछिल्लो समयमा भित्रिएका हुन्डाई भेन्युदेखि भित्रिने तयारीमा रहेका निसान म्याग्नाइटले अबको नेपाली बजारमा एसयूभीको बजारलाई फरक परिदृश्यमा प्रस्तुत गर्ने अनुमान गरिएको छ ।


Subscribe Now