हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को डाउनहिल साइक्लिङ रेसका स्वर्ण विजेता हुन्– राजेश मगर । गरिब परिवारमा जन्मिएका राजेशको साइकलसँगको नाता सानैदेखिको हो । सएलसीपछि लाहुरे बन्ने लक्ष्य राखेका उनलाई साइकलको प्रेमले डो-याउँदै साइक्लिङ रेसिङमा देशको नाम लेखाउन सक्ने भए ।
२४ वर्षीय राजेशले गत वर्ष सम्पन्न दक्षिण एसियाली खेलकुदको डाउनहिल साइक्लिङ रेस अन्तर्गत १ मिनेट ४९ सेकेन्ड ०३३ मिलिसेकेन्डमा १ किलोमिटर दुरी पार गर्दै नेपालका लागि स्वर्ण पदक दिलाएका थिए । यसअघि पनि उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साइक्लिङ रेसिङमा सहभागिता जनाएका थिए । जसमध्ये ४ वटा नेसनल डाउनहिल च्याम्पियनसिपको त विजेता नै बने । उनी सन् २०१४, २०१६, २०१७ र २०१८ का नेसनल डाउनहिल च्याम्पियन हुन् ।
ललितपुरको सैंबुमा जन्मिएका मगरको पुर्खौली घर भने सोलुखुम्बु हो । उनका बाबुआमाले सोलुखुम्बु छाडेको लगभग ३१ वर्ष भयो । गरिब परिवारमा जन्मिएका मगर गरिबीसँग निकै परिचित छन् । गरिब हुँदाको पीडा, अरुको हेपाइ सहनुपर्ने, आर्थिक अभावले आफूले चाहेको गर्न नसक्नुका पीडा उनको मानसपटलमा ताजा बनेर आउँछन् । अनि भन्छन्, ‘गरिब भएर बाँच्नुको पीडा धेरै हुँदो रहेछ ।’ सागमा डाउनहिल साइक्लिङ रेसमा स्वर्ण जितेका मगर गरिबीसँग जीवन साटेका यस्तै भोगाई सुनाउँछन् । गरिब परिवारमा जन्मिएर साइक्लिङलाई करियर बनाएका मगरको भित्री कथा अझै टिठलाग्दो छ ।
सानैदेखि चकचके स्वभावका राजेश साथीहरुले साइकल चलाएको देख्दा लोभिन्थे । तर के गर्नु उनको आमाबुबासँग छोरालाई साइकल किनिदिने हैसियत थिएन । जनोदय स्कुलबाट अध्ययन सुरु गरेका उनले सिसाकलम र कापीसमेत अरुसँग मागेर चलाउनुप-यो । ‘सिसाकलम, कपि त मैले साथीहरुको मागेर चलाउनुपथ्र्यो,’ नेपाल अटोसँगको कुराकानीमा स्वर्ण विजेता मगर भन्छन्, ‘मेरा लागि बुबाआमाले साइकल किनिदिने त धेरै परको कुरा थियो ।’ काठमाडौं आएपछि राजेशका बाबुआमा गलैंचा कारखानामा काम गर्न थाले ।

त्यसबाट दैनिकी चलाउन गाह्रो भएपछि उनका बाबु ज्यामी काम गर्न थाले भने आमा अरुको घरमा काम गर्न थालिन् । केही समयपछि आमा पनि ज्यामी काममा जान थालिन् । त्यसपछि राजेशको दिन पनि आमाबाबुले काम गर्ने ठाउँमै धुलिमाटी गर्दै बित्न थाल्यो । यसरी उनको बाल्यकाल बित्यो । एकदिन राजेश आमाले काम गर्ने घरमा गए । त्यहाँ घरबेटीकी छोरीको बिएमएक्स साइकल थियो । उनले त्यहाँ त्यो साइकल चलाउने अवसर पाए । पहिलोपटक साइकल चढेको हुनाले उनलाई साइकल चलाउने सीप थिएन । घरबेटीकी छोरीले उनलाई साइकल चलाउन आउँछ भनिन् । उनले पनि आँट गरे आउँछ भने । साइकल चलाए । तर, त्यसअघि कहिल्यै साइकलको पाइडलमा खुट्टा नराखेको उनी साइकलबाट लडे ।
त्यसपछि उनलाई साइकलको भोक जाग्यो । पछि घरबेटीले त्यो साइकल राजेशलाई थिए । साइकल पाएपछि राजेशको खुसीको सीमा रहेन । उनले त्यही साइकल सिके । आवास क्षेत्र, मनशान्ती ओरालो उनको साइकल कुदाउने गन्तव्य बन्न थाले । अधिकांश समय साइकलमै बिताउन थाले । साइकल कुदाउँदा कतिपटक लडे तर उनले साइकलबाट लडेको कुरा कहिल्यै आमाबाबुलाई भनेनन् । मनशान्ती ओरालोमा साइकलबाट लडेर उनको ढाड ठोकियो । त्यो पनि उनले घरमा भनेनन् । तर, त्यतिबेला ठोकिएको ढाड अहिले पनि साइकल कुदाउँदा दुख्छ ।
आमाले ९० रुपैयाँमा कवाडीलाई साइकल बेचिदिँदा
साइकल पाएपछि उनको दिनचर्या नै साइकलसँग बित्न थाल्यो । जसले गर्दा उनको पढाईतिर ध्यानै गएन । छोराले पढाइमा ध्यान नदिँदा आमा हैरान भइन् । त्यसो त कहिले साइकल लुकाइदिन्थिन् त कहिले साइकलको चेन चुडालिदिन्थिन् । जे गर्दा पनि राजेशले साइकल नछोडेपछि एकदिन उनकी आमाले कवाडीलाई ९० रुपैयाँमा साइकल बेचिदिइन् । त्यो दिन उनी निकै दुखित भए । खाना खाएनन्, आमासँग झगडा गरे ।
आमाले साइकल कवाडीमा बेचिदिएपछि उनी नजिकैको साइकल पसलमा समय बिताउन थाले । त्यहाँ उनले साइकल बनाएको हेर्थे अनि सहयोग पनि गर्थे । यहीबीचमा उनी छिमेकीको घरमा काम पनि गर्न थाले । छिमेकीको घरमा पसलबाट सामान किनेर ल्याइदिने, फुलमा पानी हाल्ने, दुईवटा कुकुरलाई दिसापिसाब गराउने उनको काम थियो । त्यसबापत उनले मासिक ४ सय रुपैयाँ पारिश्रमिक पाउँथे ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साइक्लिङ रेसिङमा सहभागिता जनाएका थिए । जसमध्ये ४ वटा नेसनल डाउनहिल च्याम्पियनसिपको त विजेता नै बने । उनी सन् २०१४, २०१६, २०१७ र २०१८ का नेसनल डाउनहिल च्याम्पियन हुन् ।
जति दुःख, पीडा र गरिबीले गाँजिरहे पनि राजेशमा साइकलप्रतिको मोह भने हटिसकेको थिएन । उनको एकजना साथीले १५ सय रुपैयाँमा साइकल बेच्न लागेको सुनाए । त्यसपछि त्यो साइकल किनेको राजेश बताउँछन् । ‘साथीको साइकल १५ सयमा किनेँ,’ उनी भन्छन्, ‘किस्ता–किस्तामा पैसा तिरँे ।’ साथीसँग साइकल किनेपछि साइकलसँग छुटेको साइनो फेरि जोडियो ।
फाइनलमा साइकलको चेन चुँडियो
यही क्रममा भैसेपाटीतिर महंगा माउन्टेन बाइसाइकलहरु आउन थाले । अझ साइकलमा समेत हेल्मेट लगाएको दृश्यले राजेशलाई पनि त्यतातर्फ रुचि जाग्यो । तर उनीसँग महंगो साइकल किन्न सक्ने क्षमता थिएन । उनी बेला बेलामा साइबरमा गएर साइकलका स्टन्टहरु हेर्थे । त्यसैको प्रभावले उनले आफूसँग भएको साइकलका लागि कवाडीबाट मोटरसाइकल, स्कुटरका सस्पेन्सन ल्याएर मोडिफाइ गरे ।
एकदिन उनले फर्पिङमा नेसनल डाउनहिल च्याम्पियनसिप भैरहेको छ भन्ने थाहा पाए । उनी साथीहरुसँग त्यो च्याम्पियन हेर्न फर्पिङ गए । त्यहाँ उनले साइकल कुदाएको र साइकल स्टन्टका दृश्य देखे । त्यसैगरी साइकल उडाउने रहर उनमा पनि जाग्यो । त्यसपछि उनी हप्तामा १ दिन साइक्लिङ गर्न फर्पिङ हात्तिबन जान थाले । यही क्रममा उनले सन् २०१३ को नेसनल डाउनहिल च्याम्पियनसिपमा सहभागी भए । त्यसमा उनी राष्ट्रिय स्तरमा छैठौं र अन्तर्राट्रिय स्तरमा आठौं भए । यो उनको लागि ठूलो कुरा थियो । त्यसपछि साइक्लिङमा पनि भविष्य छ भन्ने सोच आएको उनी बताउँछन् ।
एकदिन उनी हात्तिबनमा अभ्यासका लागि गएका थिए । २०१४ को डाउनहिल रेसमा भाग लिनका लागि उनी त्यहाँ अभ्यास गर्न गएका थिए । त्यहाँ उनको भेट साइक्लिस्ट मन्दिल प्रधानसँग भयो । मन्दिलसँग उनले आफ्नो सबै पृष्ठभूमि सुनाएपछि मन्दिलले आफूसँग भएको साइकल दिए । मन्दिलकै साइकलले उनले लाइफ साइकल डाउनहिल रेसमा भाग लिए । त्यसमा उनी चौथो भए । उनी सायद प्रथम नै हुन्थे होला । अपशोच फाइनलमा तीन सय मिटर अघि नै साइकलको चेन चुडियो ।
त्यसपछि मन्दिलले राजेशलाई हिमालयन राइड्समा जागिर दिए । जुन मन्दिलकै कम्पनी थियो । जहाँ राजेशले साइक्लिङका पर्यटकलाई गाइड गर्ने काम गर्न थाले । जसबाट सुरुमा दिनको २ हजार पारिश्रमिक पाउँथे । १० दिन काम गरेर २० हजार रुपैयाँ पारिश्रमिक लिएर उनी घर गए । १० हजार आफूले खर्च गरेर अरु आमालाई दिए । त्यसपछि मन्दिलले राजेशलाई महिनावारी पारिश्रमिक दिएर काममा राखे । यसपछि राजेशलाई थप सफलता मिल्दै गयो ।

२०१४ कै नेसनल डाउनहिल च्याम्पियनसिपको बिजेता बने । २०१६ मा पनि नेसनल च्याम्पियन बने । २०१६ मै थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपमा भाग लिने अवसर पाए । जसमा उनी १९ औं भए । त्यसपछि उनी २०१७ र २०१८ मा नेसनल डाउनहिल च्याम्पियनसिपको बिजेता बने । यसरी विभिन्न प्रतियोगितामा भाग लिएर सफलता हासिल गरेका राजेशले गत वर्षको दक्षिण एसियाली खेलकुद (साग) मा डाउनहिल साइक्लिङ रेसमा नेपाललाई स्वर्णपदक दिलाउन सफल भएका हुन् ।
एउटा गरिब परिवारमा जन्मिएका राजेश अहिले साइक्लिङ गर्दै डाँडाकाँडा चहार्छन् । आफूले साइक्लिङ गरेको भिडियो सामाजिक सन्जालमा हाल्छन् । जहाँ उनलाई उर्जावान प्रतिक्रिया आइरहेका छन् । साइक्लिङमै जीवन देखेका राजेशको परिवार अहिले समृद्धिको बाटोमा छ । उनको प्रगतिमा उनका आमाबुबा निकै खुशी छन् । अनि राजेश भन्छन्, ‘मेरो सफलता सपना जस्तो भएको छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...