डाउनहिल च्याम्पियन राजेशको कथा : फाइनलमा ३ सय मिटर अघि साइकलको चेन चुँडियो

ISUZU

yamaha-nepal
tvs-race
thee-go

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को डाउनहिल साइक्लिङ रेसका स्वर्ण विजेता हुन्– राजेश मगर । गरिब परिवारमा जन्मिएका राजेशको साइकलसँगको नाता सानैदेखिको हो । सएलसीपछि लाहुरे बन्ने लक्ष्य राखेका उनलाई साइकलको प्रेमले डो-याउँदै साइक्लिङ रेसिङमा देशको नाम लेखाउन सक्ने भए ।

२४ वर्षीय राजेशले गत वर्ष सम्पन्न दक्षिण एसियाली खेलकुदको डाउनहिल साइक्लिङ रेस अन्तर्गत १ मिनेट ४९ सेकेन्ड ०३३ मिलिसेकेन्डमा १ किलोमिटर दुरी पार गर्दै नेपालका लागि स्वर्ण पदक दिलाएका थिए । यसअघि पनि उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साइक्लिङ रेसिङमा सहभागिता जनाएका थिए । जसमध्ये ४ वटा नेसनल डाउनहिल च्याम्पियनसिपको त विजेता नै बने । उनी सन् २०१४, २०१६, २०१७ र २०१८ का नेसनल डाउनहिल च्याम्पियन हुन् ।

ललितपुरको सैंबुमा जन्मिएका मगरको पुर्खौली घर भने सोलुखुम्बु हो । उनका बाबुआमाले सोलुखुम्बु छाडेको लगभग ३१ वर्ष भयो । गरिब परिवारमा जन्मिएका मगर गरिबीसँग निकै परिचित छन् । गरिब हुँदाको पीडा, अरुको हेपाइ सहनुपर्ने, आर्थिक अभावले आफूले चाहेको गर्न नसक्नुका पीडा उनको मानसपटलमा ताजा बनेर आउँछन् । अनि भन्छन्, ‘गरिब भएर बाँच्नुको पीडा धेरै हुँदो रहेछ ।’ सागमा डाउनहिल साइक्लिङ रेसमा स्वर्ण जितेका मगर गरिबीसँग जीवन साटेका यस्तै भोगाई सुनाउँछन् । गरिब परिवारमा जन्मिएर साइक्लिङलाई करियर बनाएका मगरको भित्री कथा अझै टिठलाग्दो छ ।

सानैदेखि चकचके स्वभावका राजेश साथीहरुले साइकल चलाएको देख्दा लोभिन्थे । तर के गर्नु उनको आमाबुबासँग छोरालाई साइकल किनिदिने हैसियत थिएन । जनोदय स्कुलबाट अध्ययन सुरु गरेका उनले सिसाकलम र कापीसमेत अरुसँग मागेर चलाउनुप-यो । ‘सिसाकलम, कपि त मैले साथीहरुको मागेर चलाउनुपथ्र्यो,’ नेपाल अटोसँगको कुराकानीमा स्वर्ण विजेता मगर भन्छन्, ‘मेरा लागि बुबाआमाले साइकल किनिदिने त धेरै परको कुरा थियो ।’ काठमाडौं आएपछि राजेशका बाबुआमा गलैंचा कारखानामा काम गर्न थाले ।

त्यसबाट दैनिकी चलाउन गाह्रो भएपछि उनका बाबु ज्यामी काम गर्न थाले भने आमा अरुको घरमा काम गर्न थालिन् । केही समयपछि आमा पनि ज्यामी काममा जान थालिन् । त्यसपछि राजेशको दिन पनि आमाबाबुले काम गर्ने ठाउँमै धुलिमाटी गर्दै बित्न थाल्यो । यसरी उनको बाल्यकाल बित्यो । एकदिन राजेश आमाले काम गर्ने घरमा गए । त्यहाँ घरबेटीकी छोरीको बिएमएक्स साइकल थियो । उनले त्यहाँ त्यो साइकल चलाउने अवसर पाए । पहिलोपटक साइकल चढेको हुनाले उनलाई साइकल चलाउने सीप थिएन । घरबेटीकी छोरीले उनलाई साइकल चलाउन आउँछ भनिन् । उनले पनि आँट गरे आउँछ भने । साइकल चलाए । तर, त्यसअघि कहिल्यै साइकलको पाइडलमा खुट्टा नराखेको उनी साइकलबाट लडे ।

त्यसपछि उनलाई साइकलको भोक जाग्यो । पछि घरबेटीले त्यो साइकल राजेशलाई थिए । साइकल पाएपछि राजेशको खुसीको सीमा रहेन । उनले त्यही साइकल सिके । आवास क्षेत्र, मनशान्ती ओरालो उनको साइकल कुदाउने गन्तव्य बन्न थाले । अधिकांश समय साइकलमै बिताउन थाले । साइकल कुदाउँदा कतिपटक लडे तर उनले साइकलबाट लडेको कुरा कहिल्यै आमाबाबुलाई भनेनन् । मनशान्ती ओरालोमा साइकलबाट लडेर उनको ढाड ठोकियो । त्यो पनि उनले घरमा भनेनन् । तर, त्यतिबेला ठोकिएको ढाड अहिले पनि साइकल कुदाउँदा दुख्छ ।

आमाले ९० रुपैयाँमा कवाडीलाई साइकल बेचिदिँदा
साइकल पाएपछि उनको दिनचर्या नै साइकलसँग बित्न थाल्यो । जसले गर्दा उनको पढाईतिर ध्यानै गएन । छोराले पढाइमा ध्यान नदिँदा आमा हैरान भइन् । त्यसो त कहिले साइकल लुकाइदिन्थिन् त कहिले साइकलको चेन चुडालिदिन्थिन् । जे गर्दा पनि राजेशले साइकल नछोडेपछि एकदिन उनकी आमाले कवाडीलाई ९० रुपैयाँमा साइकल बेचिदिइन् । त्यो दिन उनी निकै दुखित भए । खाना खाएनन्, आमासँग झगडा गरे ।

आमाले साइकल कवाडीमा बेचिदिएपछि उनी नजिकैको साइकल पसलमा समय बिताउन थाले । त्यहाँ उनले साइकल बनाएको हेर्थे अनि सहयोग पनि गर्थे । यहीबीचमा उनी छिमेकीको घरमा काम पनि गर्न थाले । छिमेकीको घरमा पसलबाट सामान किनेर ल्याइदिने, फुलमा पानी हाल्ने, दुईवटा कुकुरलाई दिसापिसाब गराउने उनको काम थियो । त्यसबापत उनले मासिक ४ सय रुपैयाँ पारिश्रमिक पाउँथे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साइक्लिङ रेसिङमा सहभागिता जनाएका थिए । जसमध्ये ४ वटा नेसनल डाउनहिल च्याम्पियनसिपको त विजेता नै बने । उनी सन् २०१४, २०१६, २०१७ र २०१८ का नेसनल डाउनहिल च्याम्पियन हुन् ।

जति दुःख, पीडा र गरिबीले गाँजिरहे पनि राजेशमा साइकलप्रतिको मोह भने हटिसकेको थिएन । उनको एकजना साथीले १५ सय रुपैयाँमा साइकल बेच्न लागेको सुनाए । त्यसपछि त्यो साइकल किनेको राजेश बताउँछन् । ‘साथीको साइकल १५ सयमा किनेँ,’ उनी भन्छन्, ‘किस्ता–किस्तामा पैसा तिरँे ।’ साथीसँग साइकल किनेपछि साइकलसँग छुटेको साइनो फेरि जोडियो ।

फाइनलमा साइकलको चेन चुँडियो
यही क्रममा भैसेपाटीतिर महंगा माउन्टेन बाइसाइकलहरु आउन थाले । अझ साइकलमा समेत हेल्मेट लगाएको दृश्यले राजेशलाई पनि त्यतातर्फ रुचि जाग्यो । तर उनीसँग महंगो साइकल किन्न सक्ने क्षमता थिएन । उनी बेला बेलामा साइबरमा गएर साइकलका स्टन्टहरु हेर्थे । त्यसैको प्रभावले उनले आफूसँग भएको साइकलका लागि कवाडीबाट मोटरसाइकल, स्कुटरका सस्पेन्सन ल्याएर मोडिफाइ गरे ।

एकदिन उनले फर्पिङमा नेसनल डाउनहिल च्याम्पियनसिप भैरहेको छ भन्ने थाहा पाए । उनी साथीहरुसँग त्यो च्याम्पियन हेर्न फर्पिङ गए । त्यहाँ उनले साइकल कुदाएको र साइकल स्टन्टका दृश्य देखे । त्यसैगरी साइकल उडाउने रहर उनमा पनि जाग्यो । त्यसपछि उनी हप्तामा १ दिन साइक्लिङ गर्न फर्पिङ हात्तिबन जान थाले । यही क्रममा उनले सन् २०१३ को नेसनल डाउनहिल च्याम्पियनसिपमा सहभागी भए । त्यसमा उनी राष्ट्रिय स्तरमा छैठौं र अन्तर्राट्रिय स्तरमा आठौं भए । यो उनको लागि ठूलो कुरा थियो । त्यसपछि साइक्लिङमा पनि भविष्य छ भन्ने सोच आएको उनी बताउँछन् ।

एकदिन उनी हात्तिबनमा अभ्यासका लागि गएका थिए । २०१४ को डाउनहिल रेसमा भाग लिनका लागि उनी त्यहाँ अभ्यास गर्न गएका थिए । त्यहाँ उनको भेट साइक्लिस्ट मन्दिल प्रधानसँग भयो । मन्दिलसँग उनले आफ्नो सबै पृष्ठभूमि सुनाएपछि मन्दिलले आफूसँग भएको साइकल दिए । मन्दिलकै साइकलले उनले लाइफ साइकल डाउनहिल रेसमा भाग लिए । त्यसमा उनी चौथो भए । उनी सायद प्रथम नै हुन्थे होला । अपशोच फाइनलमा तीन सय मिटर अघि नै साइकलको चेन चुडियो ।

त्यसपछि मन्दिलले राजेशलाई हिमालयन राइड्समा जागिर दिए । जुन मन्दिलकै कम्पनी थियो । जहाँ राजेशले साइक्लिङका पर्यटकलाई गाइड गर्ने काम गर्न थाले । जसबाट सुरुमा दिनको २ हजार पारिश्रमिक पाउँथे । १० दिन काम गरेर २० हजार रुपैयाँ पारिश्रमिक लिएर उनी घर गए । १० हजार आफूले खर्च गरेर अरु आमालाई दिए । त्यसपछि मन्दिलले राजेशलाई महिनावारी पारिश्रमिक दिएर काममा राखे । यसपछि राजेशलाई थप सफलता मिल्दै गयो ।

२०१४ कै नेसनल डाउनहिल च्याम्पियनसिपको बिजेता बने । २०१६ मा पनि नेसनल च्याम्पियन बने । २०१६ मै थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपमा भाग लिने अवसर पाए । जसमा उनी १९ औं भए । त्यसपछि उनी २०१७ र २०१८ मा नेसनल डाउनहिल च्याम्पियनसिपको बिजेता बने । यसरी विभिन्न प्रतियोगितामा भाग लिएर सफलता हासिल गरेका राजेशले गत वर्षको दक्षिण एसियाली खेलकुद (साग) मा डाउनहिल साइक्लिङ रेसमा नेपाललाई स्वर्णपदक दिलाउन सफल भएका हुन् ।

एउटा गरिब परिवारमा जन्मिएका राजेश अहिले साइक्लिङ गर्दै डाँडाकाँडा चहार्छन् । आफूले साइक्लिङ गरेको भिडियो सामाजिक सन्जालमा हाल्छन् । जहाँ उनलाई उर्जावान प्रतिक्रिया आइरहेका छन् । साइक्लिङमै जीवन देखेका राजेशको परिवार अहिले समृद्धिको बाटोमा छ । उनको प्रगतिमा उनका आमाबुबा निकै खुशी छन् । अनि राजेश भन्छन्, ‘मेरो सफलता सपना जस्तो भएको छ ।’

 


Subscribe Now