tvs-race

‘काठमाडौंमा सबैभन्दा दुःख भन्नु नै गाडी चढ्नु हो ।’ कुराकानीको थालनीमै मनोज गजुरेलको मुखबाट यस्तो वाक्य फुत्कियो । मनोज गजुरेल को हुन् भनेर त चिनाइरहनु पर्दैन । स्ट्यान्ड अप कमेडियन उनी पछिल्लो समय फिल्ममा पनि देखिदैछन् । कलायात्राको लामो समयपछि उनले फिल्म खेले । उनले अभिनय गरेको फिल्म ‘सयकडा दश’ को छायांकन सकिएको छ । अहिले पोस्ट प्रोडक्सनको क्रममा छ ।

देशी–विदेशी नेताहरुको क्यारिकेचर गर्न माहिर उनले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको गेटअपमा समेत कमेडी प्रस्तुत गरिसकेका छन् । उनले ट्रम्पको आवरणमा गरेको कमेडीबारे बेलायतको चर्चित अनलाइन डेली मेलले समेत फिचर स्टोरी गरिसकेको छ ।

भनिरहनु परेन, मनोज गजुरेल स्टेजका किङ नै हुन् । स्टेजमा उभिएरै उनले आफ्नो कला प्रस्तुत गरिसकेका छन् । उनको विशेषता चाहि के भने, न उनले कहिल्यै टेलिभिजनका लागि अभिनय गरे न त फिल्मका लागि । स्टेजभन्दा दायाँबाया नगएका उनी यसपाली चाहि फिल्ममा देखिएका छन् । फिल्मको विषयवस्तु चोटिलो र मार्मिक भएकाले आफू फिल्ममा प्रवेश गरेको उनको भनाइ छ ।

प्रसंग मनोज गजुरेलको होइन, उनको अटो अनुभवको हो । अब लागौं, गजुरेलको रियल अनुभवतर्फ ।

पहिले पैदल, अहिले कार
मनोज गजुरेल कुनैबेला पैदल हिँड्थे । हुन त पैदल हिँड्नु आश्चर्य लाग्दो भएन । हरेकको धरातल त्यहीबाट सुरु हुन्छ ।

उनीसँग कार थिएन । कारको कुरा भएन, मोटरसाइकल पनि थिएन । मोटरसाइकलको कुरा भएन, साइकल पनि थिएन । हो, त्यहीबेला उनी पैदल यात्रा गर्थे । काठमाडौंको शहर–गल्ली पैदल हिँडेरै छिचोल्थे । त्यो करियरको पूवाद्र्ध अवस्थाको कुरा हो ।

अहिले उनी कार चढ्ने भएका छन् । यो दम्भ गर्ने कुरा भएन । तर, गर्व गर्न लायक जरुर हो । किनभने नेपालीमा अझैपनि ‘कार चढ्ने सेलिब्रेटी’ भनेर गणना गरिन्छ । समाचार बनाइन्छ । अर्थात कार चढ्नु एउटा उपलब्धि हो ।

मनोज गजुरेलको हकमा यो एउटा उपलब्धि नै हो । किनभने उनले विशुद्ध कला पस्किएर कार खरिद गरेका हुन् । कार चढ्नुअघि उनले मोटरसाइकल चढे । त्यसअघि साइकल चढे ।

यसरी बडो मेहनतसाथ जोडेको कार उनका लागि जहाज समान भयो । ‘पसिनाको कमाई हो’ उनले भने, ‘त्यही भएर मेरो लागि यो एउटा उपलब्धि थियो ।’

त्यो सेकेन्ड ह्यान्ड अल्टो
त्यसो त उनी धेरैजसो कार्यक्रमको धपेडीमै हुन्छन् । कार्यक्रमका लागि कहिले देशमा त कहिले विदेशमा पुग्नुपर्छ । उनको दैनिक सेड्युल नै यस्तो हुन्छ कि, त्यहाँबाट थोरै फुर्सद निकाल्न हम्मे पर्छ । यस्तो अवस्थामा उनी न घरमा बस्न पाउँछन्, न आफ्नै गाडीमा विन्दास गुड्न पाउँछन् ।

कार्यक्रमको सिलसिलामा सामूहिक यात्रामा हुन्छन् । त्यही कारण उनलाई निजी गाडीमा गुड्ने अवसर अलि कम नै जुर्ने गर्छ । आखिर जे भएपनि उनले आफुसँगै एउटा निजी गाडी भने सुरक्षित राखेका छन् । काठमाडौंमा भएको बेला उनी त्यसमै हुँइकिने गर्छन् ।

उनले सुरुमा चढेको कार अल्टो हो । सुरुका दिनमा मारुती सुजुकीको यो कार उनले लिएका थिए । तर, सेकेन्ड ह्यान्ड । कार ड्राइभिङमा खास अनुभव नभएकाले उनले सेकेन्ड ह्यान्ड खरिद गरेका थिए ।

अल्टो पछि आइ टेन
उनले सेकेन्ड ह्यान्ड अल्टो तीन बर्ष चढे । त्यसपछि उनले नयाँ गाडी खरिद गरे, हुन्डाईको आइ टेन । यतिबेलासम्म उनी ड्राइभिङमा पोख्त भइसकेका थिए । नयाँ आइ टेन उनी दुई बर्षभन्दा बढी चढेनन् । ‘उसले मलाई दुई बर्ष साथ दियो’ मनोज गजुरेल भन्छन्, ‘तेस्रो बर्षमा पुग्दा त्यसलाई पनि पाल्न गाह्रो भयो ।’
आखिरमा उनले अल्टोको के टेन सिरिजमा नयाँ गाडी खरिद गरे । अहिले उनी त्यसमै यात्रा गर्छन् ।

काठमाडौंमा गाडी चढ्नुको दसा
गाडी उनको आवश्यकता हो । तर, अत्यावश्यक होइन । निजी गाडी नभए पनि काम चल्छ । किनभने उनलाई घरमा बस्ने फुर्सद नै कहाँ मिल्छ र ? निजी गाडीमा चढ्ने फुर्सद नै कहाँ मिल्छ र ? कहिले पूर्वको कार्यक्रमले कहिले पश्चिमको कार्यक्रमले, कहिले मलेसियाको कार्यक्रमले, कहिले सिंगापुरको कार्यक्रमले उनलाई बस्ने फुर्सद दिदैन ।

यद्यपि काठमाडौंमा भएको बेला उनी आफ्नै गाडीमा हुँइकिन्छन् । आफ्नै गाडी भनेर के गर्नु ? काठमाडौंको जामले हैरान बनाउँछ । जाम मात्र होइन, पार्किङको उस्तै झन्झट । उनी भन्छन्, ‘काठमाडौंमा गाडी चढ्नु सबैभन्दा दुःख हो । जाम, समयको सत्यानास र इन्धनको बढ्दो दर रेट ।’

काठमाडौंको सबैभन्दा ठूला पिरलो निजी गाडीमा हुँइकिनु हो । घरबाट निस्किएपछि जाममा परिन्छ । एकपछि अर्को कुइनेटोमा जाम । एकपछि अर्को चोकमा जाम । जामै जाम । न भनेको ठाउँमा पुग्न सकिन्छ, न भनेको समयमा । यसरी काठमाडौंको जामले धेरैको ज्यान खाइदिएको छ ।

यद्यपि सवारी चाप कम भएको बेला आफ्नै गतिमा कार हुँइक्याउनुको रमाइलो बेग्लै हुने उनको अनुभव छ ।
जब उकालोमा गाडी फस्यो ।

निजी गाडीमा चढ्दाको अनुभव अनगिन्ती छन् । त्यसमध्ये पनि सुरुवाती दिनहरुको अनुभव उनले विर्सिएका छैनन् । विर्सिउन् पनि कसरी, गाडीले धर्मसंकटमा पारेपछि ।

यो त्यहीबेलाको कुरा हो, जतिबेला उनी भर्खर कार चढ्ने भएका थिए । राम्ररी हात बसेकै थिएन । लैनचौरबाट सोह्रखुट्टे झनुर््पर्ने । त्यो ओरालोमा गाडी गुडाउने हिम्मत नै आएन । जसोतसो अगाडि बढे । डराई डराई बालाजुतर्फ लागे । सोही बाटो फर्कदा जात्रा भयो ।

ओरालो त झरेका थिए, उकालो चढ्दा हिम्मत हरायो । चढ्दै थिए, चढ्दै थिए । बिचमा पुगेपछि स्टार्ट बन्द भयो । त्यो उकालोमा स्टार्ट गरेर पिकअप गर्नै सकेनन् ।

अब गाडी ब्याक नगरी भो त ?

अगाडि बढाउन नसकेपछि उनले पछाडि लगे । अनि रिङ रोड हुँदै लैनचौर पुगे ।