मनै लोभ्याउने रेसिङ सर्किट हाम्रै नेपालमा

मोटर स्पोर्ट्स खेलाडीको सधैं एउटै गुनासो सुनिन्थ्यो । त्यो हो नेपालमा मोटर स्पोर्ट्सका लागि सर्किट नहुनु । त्यही गुनासोलाई सम्बोधन गर्ने गरि अल्टिमेट हिमालयन मोटरल्यान्डले करिव ५ वर्षको मिहेनत पश्चात धुलिखेलमा हिमालयन मोटरल्याण्ड सर्किट सञ्चालनमा ल्याएको छ ।

करिव साढे ४ करोड लगानीमा निर्माण भएको उक्त सर्किटमा पूर्ण रुपमा खेलाडीहरुको निजी लगानी रहेको अल्टिमेट हिमालयन मोटरल्यान्ड धुलिखेलका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिए । ‘मोटर स्पोर्ट्समा रुचि भएका खेलाडीहरुको सपना पुरा भएको छ,’ उनले भने, ‘करिव ५ वर्षमा करिव साढे ४ करोड निजी लगानीमा यो मोटरल्यान्ड तयार भएको छ ।’

करिव ३५ रोपनी जग्गामा यो मोटरल्यान्ड तयार भएको छ । यसमा १.८ किलोमिटरको सर्किट बनाइएको छ । जसमा ५ सय मिटर सर्किट कालोपत्रे गरिएको छ भने १३ सय मिटर अफरोड सर्किट बनाइएको छ । व्यावसायिक मोटर स्पोर्ट्स र मोटरसाइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यले सर्किटको निर्माण गरिएको बराल बताउँछन् । ‘नेपालमा मोटर स्पोर्ट्सको राम्रो सम्भावना छ, हामीले नेपालमा मोटर स्पोर्ट्सको कुनै संरचना नहुँदा पनि अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छौं,’ उनले भने, ‘अब हामीलाई सरकारी निकायबाट थोरै मात्र सहयोग प्राप्त भयो भने हामीले मोटर स्पोर्ट्सको अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा हात पार्न सक्छौं ।’

हिमालयन मोटरल्यान्डले अब दक्ष जनशक्ति उत्पादन गर्नका लागि मोटर स्पोर्ट्स एकेडेमी समेत सञ्चालन गर्न लागेको छ । जसमा विद्यालय तह देखि नै मोटर स्पोर्ट्स सम्बन्धी तालिम दिने, रोड सेफ्टीका कुराहरु सिकाउनका लागि दीर्घकालीन योजना अघि बढाइएको बरालले बताए । ‘हामीले मोटर स्पोर्ट्सलाई युवापुस्तामाझ परिचित गराउन र यसतर्फ आकर्षित गर्नका लागि एकेडेमी सञ्चालनमा ल्याउँदै छौं,’ उनी भन्छन्, ‘दक्ष जनशक्ति, रोड सेफ्टीका कुराहरु स्कुल लेभलदेखि नै तालिम दिनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्दै छौं । सोही योजना अनुरुप हामीले यही महिनादेखि मार्सल तालिम दिँदै छौं । यसका साथै विद्यालय तहका १४ वर्षमुनिका विद्यार्थीलाई रोड सेफ्टी देखि मोटर स्पोर्ट्स सम्बन्धी कुराहरु सिकाउने छौं ।’

साथै, मोटरल्यान्डले २०२१ का लागि विभिन्न च्याम्पियनसिप समेत आयोजना गर्दैैछ । यो वर्ष मोटर स्पोर्ट्सका ६ वटा राष्ट्रिय खेल धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमै हुनेछ । जसमा रेसमान्डु, अटोक्रस ¥याली, राष्ट्रिय कार्ट च्याम्पियनसिप, युथ कार्ट च्याम्पियनसिप र क्रसमान्डु लगायतका प्रतियोगिता आयोजना हुने बरालले जानकारी दिए ।

नेपाली युवाहरुले निर्माण गरेको यो मोटरल्यान्डको मुख्य लक्ष्य भनेकै युवा खेलाडी उत्पादन गर्ने हो । त्यसैले सर्किटमा सकेसम्म कम शुल्कमा प्रशिक्षण लिने व्यवस्था गर्ने जनाइएको छ ।

गत जनवरी १ बाट सञ्चालनमा आएको यो मोटरल्यान्डको धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार बेन्जु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला लगायतले औपचारिक रुपमा उद्घाटन गरेका थिए । नगरपालिका प्रमुख बेन्जुले मोटरल्यान्डको स्तरोन्नतिमा साथ दिने र एकेडेमी सञ्चालनमा सहयोग गर्ने बचन दिएको मोटरल्यान्डले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...