tvs-race

इलामको माइपोखरी, टोड्के झरना हुँदै सन्दकपुर सम्म पुग्नका लागि ल्यान्डरोभर जिपको प्रयोग गर्न सकिन्छ । यो क्षेत्रमा ७० वर्ष सम्म पुराना यस्ता ल्यान्डरोभर जिप चल्छन् ।

ती जिप मध्ये करिब ६० बर्ष पुरानो जिपमा चढेर हालकी चर्चित नायिका प्रियंका कार्की पनि सन्दकपुर पुगिन् । करिब एक महिना पहिले उनी चलचित्र प्रेमदिवसको सुटिङको क्रममा सो क्षेत्रमा पुगेकी थिइन् । उनका साथमा नायक आयुष्मान देशराज जोशी पनि थिए ।

उनी सो क्षेत्रमा पुगेसँगै धेरै वर्ष पुराना ल्यान्डरोभर र इलामको पर्यटकीय क्षेत्र सन्दकपुरको चर्चा फेरि चुलिएको छ ।

दोस्रो विश्वयुद्धको बेला प्रचलित जिपको डिजाइनकै प्रभावमा ब्रिटिश कम्पनीले डिजाइन गरेको थियो, ल्यान्डरोभर । सैन्य प्रयोजनका लागि बनाइएका ल्यान्डरोभर उतिखेर वेलायती सेनामा भर्ती भएर गएका लाहुरेले समेत प्रयोग गरे । वेलायतले अझैपनि यो गाडीलाई आफ्नो सानदार इतिहासको साक्षी ठान्छन् । ७० वर्ष अघि डिजाइन गरिएको त्यही ल्यान्डरोभर अहिले पनि पूर्वी पहाडका सडकहरुमा भेटिन्छन् कतै भारी वोकिरहेका त कतै यात्रु ।

चिप्लो होस् वा हिलाम्मे, भिरालो होस् वा साँघुरो । उच्च इन्जिन क्षमताको यो गाडीले जस्तोसुकै विकट वाटो पनि छिचोल्न सक्छ । त्यसैले पहाडका विकट वाटाहरुमा मलामीदेखि जन्तीसम्म, खाद्यान्नदेखि यात्रुसम्म वोकिरहेको छ । पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाका अनुसार पहाडका विकट बाटो छिचोल्न सक्ने विशेषताकै कारण ल्यान्डरोभरले लोकप्रियता पाएको हो ।

झट्ट हेर्दा कुनै संग्रहालयमा राखिएका जस्तै देखिने पुराना मोडलका ल्यान्डरोभर पहाडी भेगका निम्ति यातायातको भरपर्दो साधन हो । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर लगायत थुप्रै जिल्लाका ग्रामीण भेगमा ल्यान्डरोभरको विकल्प छैन । इलाममा मात्र ५६ भन्दा बढी पुराना मोडलका ल्यान्डरोभरले दैनिक यातायात सेवा उपलव्ध गराइरहेको सुब्बा बताउँछन् ।

समुद्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा भारतको दार्जि्लिङ्ग र नेपालको इलाम सदरमुकाम भएर देश विदेशका सयौँ पर्यटक दैनिक रुपमा पुग्ने गरेका छन् । दर्जनौँ हिमालका दृश्य र हिमाली जिवनशैली, चराहरुको चिरबिर आवाज र सूर्योदय तथा सूर्यास्तको उत्कृष्ट दृश्यावलोकले गर्दा सन्दकपुरमा वर्षमा ६० हजार बढी पर्यटकले भ्रमण गर्दै आएका छन् । नेपाल तर्फ भौतिक पूर्वाधारको विकास कम भएका कारण भारतपट्टिको दार्जि्लिङ्ग भएर धेरैजसो पर्यटक आउने गरेको छन् ।

तस्बिर स्रोत : ग्रिष्म सुब्बा