राजधानीमा गुडने अधिकांश डिजेल गाडी मापदण्ड विपरीत

काठमाडौं – राजधानीको सडकमा गुड्ने अधिकांश डिजेल इन्जिनका सवारीसाधन वातावरणीय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । राजधानीमा गरिएको प्रदूषण परीक्षणले यस्तो नतिजा दिएको हो ।

यातायात व्यवस्था विभागको सवारी परीक्षण केन्द्र, वातावरण विभाग र ट्राफिक प्रहरीले संयुतm रुपमा सवारी अनुगमन गरेका थिए ।

तीनवटै निकायको संयुक्त टोलीले राजधानीको विभिन्न स्थानमा नियमित परीक्षण गर्दै आएको छ । आइतबार थापाथलीमा अपराह्न दुई घण्टामा जीप, कार, बस गरी ३२ वटा सवारीसाधनको निरीक्षण गरिएको थियो । वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलका अनुसार निरीक्षणको क्रममा २७ वटा सवारीसाधनले वातावरणीय मापदण्ड पूरा गरेको पाइएन ।

संयुतm परीक्षण टोलीले २६ वटा डिजेल इन्जिनमा परीक्षण गरेको थियो । त्यसमा २४ वटामा मापदण्डभन्दा बढी धुवाँको मात्रा पाइएको थियो भने छ वटा पेट्रोल इन्जिन भएको सवारी परीक्षण गर्दा तीनवटा असफल भएका थिए । हालसालै परीक्षण केन्द्रबाट हरियो स्टिकर पाएका सवारीसाधनले पनि वातावरणीय मापदण्ड पुरा गर्न सकेनन् ।

वातावरणीय मापदण्ड अनुसार डिजेल इन्जिनमा सवारीले फाल्ने धुवाँमा ‘स्विट पार्टिकल्स’को ‘ओपासिटी’ अर्थात् धुवाको घनत्व ६५ प्रतिशत हुनु पर्छ । ‘ओपासिटी’ बढी हुने सवारीले कालो धुवाँ बढी फाल्छ ।

परीक्षण गरिएको २६ वटामध्ये २४ वटै सवारीको ‘ओपासिटी’ ७४ देखि ९९.९ प्रतिशतसम्म रहेको पाइएको छ । सवारी प्रदूषण मापन गर्ने यन्त्र ‘स्मोक एनालाइजर’ले अधिकत्तम एकसय सम्मको ‘ओपासिटी’ रेकर्ड गर्छ ।

निरीक्षणमा वातावरणीय मापदण्ड विपरीत चलाइएको सवारीसाधनलाई एक हजार जरिवाना र वर्कशपबाट सवारी परीक्षण गराई हरियो स्टिकर लिन लगाइने गरिन्छ ।

पेट्रोल इन्जिनले उत्सर्जन गर्ने धुवाँमा हाइड्रोकार्बनको मात्रा एक हजार भन्दा कम र कार्बनमोनोक्साइडको मात्रा तीन प्रतिशतभन्दा कम हुनुपर्ने विभागले मापदण्ड तय गरेको छ ।

Subscribe Now