वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने

काठमाडौँ – आगामी वैशाखभित्र पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ । 

अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पु¥याउँदा ढिलाइ भएको निगमले जनाएको छ । 

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याउने निगमको योजना रहेको छ । तीस महिनाको अवधि राखेर एक वर्षअघि शुरु भएको निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो आयोजना सकिएपछि प्रतिमहिना ७० करोड करोड ढुवानी भाडा बचत हुनेछ ।

कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइप लाइनका लागि दुई अर्ब र अमलेखगन्ज डिपो निर्माणका लागि ७५ करोड रुपियाँ लगानी गरिनेभएको छ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल आयल निगमको लगानी हो । 

निगमका अनुसार अमलेखगन्जमा भण्डारण ट्याङ्की थपिनेछ । हाल २३ हजार किलोलिटर क्षमताको ट्याङ्की रहेकोमा अब ४२ हजार किलोलिटर क्षमताको बनाइनेछ । सो ट्याङ्की निर्माणपछि एकैपटकमा २४ गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सयवटा गाडीले तेल भर्न मिल्नेछ । 

१०.७५ इन्च व्यासको सो पाइपबाट प्रतिघण्टा तीन लाख लिटर रक्सौलबाट आपूर्ति हुनेछ । दोस्रो पटक सन् २०१५ को अगस्टमा नेपाल र भारतबीच पेट्रोलियम पाइप लाइन निर्माण गर्ने सम्झौता भएपछि प्रारम्भिक काम शुरु भएको थियो ।

Subscribe Now