गाडी वा बाइकको अनलाइन बुकिङमा देखिएन आकर्षण, सोरुम नै अन्तिम गन्तव्य

काठमाडौं – विभिन्न अटोमोबाइल विक्रेताहरुले ग्राहकको हितलाई मध्यनजर गरी अनलाइन बुकिङ र डेलिभरी सम्मको सुविधा उपलब्ध गराएको भए पनि यसतर्फ धेरै आकर्षण देखिएको छैन ।

कोभिड–१९ को कारण गरिएको लकडाउनको समयमा अनलाइन बुकिङलाई कार्यान्वयनमा ल्याएका केही विक्रेताहरुले दसैं तिहार जस्ता चाडपर्वको समयमा समेत यसलाई निरन्तरता दिए । अहिले पनि यो कार्य जारी छ । तर सोचे जस्तो उपलब्धिमूलक भने पाइएको छैन । यद्यपि बुकिङ धेरै नभए पनि गाडी वा बाइकको वारेमा सोधपुछ गर्ने कार्यका लागि भने अनलाइन प्लेटफर्मले धेरै नै सहयोग गरेको छ ।

हुन्डाईले पहिले बुकिङ सुविधा मात्र उपलब्ध गराइरहेकोमा अब भने डेलिभरी समेत गराउने उद्देश्यका साथ ‘क्लिक टु बाई’ ल्याएको छ । पहिले यसबाट बुकिङ गर्ने एकदमै थोरै भएको र इन्क्वायरी भने धेरै आउने गरेको हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर रुपेश शर्मा भट्ट बताउँछन् । ग्राहकहरु सोरुममै पुगेर गाडी हेर्न चाहने भएकाले अहिले नै त्यस्तो धेरै लहर यसमा नभएको उनको भनाइ छ । गाडी भनेको उच्च मूल्यको हुने र प्रत्यक्ष हेरेरै लिन चाहनेहरु धेरै हुने उनले बताए । सामान्य रुपमा १० प्रतिशत जति ग्राहक यसरी आए भने पनि राम्रो हुने उनको विचार छ ।

टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवाल अनलाइन प्लेटफर्ममार्फत इन्क्वायरी धेरै भए पनि यसलाई बिक्रीमा रुपान्तरण गर्न नसकिएको बताउँछन् । गत सेप्टेम्बर देखि नोभेम्बर सम्म फेस्टिभ सिजनमा टीभीएसका वारेमा अनलाइन प्लेटफर्ममार्फत ५० हजार इन्क्वायरी आएको अग्रवालले बताए । नेपाली बजारका लागि अनलाइन प्लेटफर्मको प्रयोग नयाँ भएको र भविष्यमा यसको दायरा बढ्दै जाने उनको आशा छ । टीभीएसका बाइक वा स्कुटर अनलाइन रुपमै बुकिङ गर्न सकिने व्यवस्था छ ।

बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीकी असिष्टेन्ट जनरल म्यानेजर पुनम सिंह जसले पनि ट्रायल गरेर मात्र सवारी साधन किन्न चाहने भएकाले अनलाइन प्लेटफर्म फस्टाउने समय नभएको बताउँछिन् । बजाजले पनि अनलाइन रुपमै बाइक बुकिङ गर्न सकिने सुविधा उपलब्ध गराएको भए पनि फाट्टफुट्ट रुपमा मात्र यसमार्फत बुकिङ भएको पाइन्छ ।

नेपाली अटोमोबाइल बजारमा पनि अनलाइन बुकिङको प्रारम्भ भएको छ । बजाज र टीभीएस मात्र होइन, होन्डा र यामाहा तथा भेस्पा र अप्रिलिया जस्ता ब्रान्डले समेत अनलाइन बुकिङलाई प्राथमिकता दिएका छन् । अन्य कम्पनीहरु पनि यसतर्फ अग्रसर भएका छन् ।

यद्यपि अनलाइन बुकिङ मात्र होइन, अनलाइन किनबेचकै प्रचलन पूर्ण रुपमा लागू हुन भने नेपाली बजारमा अझै केही समय लाग्ने देखिएको छ । जे भए पनि अनलाइन प्लेटफर्मको माध्यमबाट सवारी साधनको वारेमा जानकारी लिन भने ग्राहकहरुलाई सहज भएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...