tvs-race

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा कृष्णप्रसाद दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको पर्सि अर्थात माघ ४ गते एक महिना पुरा हुँदैछ । नेतृत्वमा आएको यो छोटो अवधिमै नेपाल सरकार माहतहतका ६ वटा विभिन्न सरोकारवाला निकायसँग छलफल गरी उनले अटोमोबाइल व्यवसायमा देखापरेका विद्यमान समस्याहरुको समाधानका लागि पहलकदमी थालेका छन् ।

नेतृत्वमा आए लगत्तै पौष १६ गते राष्ट्र बैंकका गभर्नरसँग उनी नेतृत्वको ६ सदस्यिय प्रतिनिधि मण्डलले भेट ग¥यो । उक्त भेटमा पौष ८ गते ल्याएको क,ख,र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७६ ले नेपालको समग्र अटोमोबाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल भएको थियो । भेटमा गभर्नर डा. चिरञ्जिवी नेपालले अटोमोबाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिल्यै पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सपोर्टिभ भएको बताउँदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भइसकेको बताए । लगत्तै उनले स्वरोजगारमा प्रयोग हुने सवारीसाधनको खरिदमा आम्दानीको ५० प्रतिशतभन्दा बढी लोन लिन नपाउने प्रावधान लागु नहुने बताए ।

गभर्नरसँग भेट गरेको भोलिपल्ट अर्थात पौष १७ गते राजस्व अनुसन्धान विभाग पुगेर भीसीटीएस (भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिष्टम) को कार्यान्वयनमा देखिएको समस्याको बारेमा छलफल अघि बढाए । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटेर उनी नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुलतः अटोमोबाइल व्यवसायीहरुमा भीसीटीएस बारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकलाई जानकारी गराए ।

पौष १९ गते उनी फेरि १० सदस्सिय प्रतिनिधि मण्डल सहित भन्सार विभाग पुगे र विभागका महानिर्देशक सुमन दाहालसँग भेटी फेयर ट्रेड लगायतका विषयमा छलफल अघि बढाए । उक्त भेटघाटमा नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुवारे विस्तृत छलफल चलाए । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरि दिनुपर्ने विचार राखे ।

सोही क्रममा उनले पैठारी गर्ने कम्पनीहरु आफैँले कर्मचारी राखी क्यियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिदैँ नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए ।

त्यसैगरी पौष २२ गते उनकै नतृत्वमा गएको १३ सदस्यीय प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालसँग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु वारे विस्तृत छलफल अघि बढायो । सो छलफलको क्रममा दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुँदै आएको सहकार्य वारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या वृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए । सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रशंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतीहरु बारे चर्चा गर्दे चालक र पैदलयात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताए । सोही क्रममा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजताका लागि नाडाले जीपीएक्स ब्रान्डको जेन्टलम्यान बाइक समेत हस्तान्तरण गरेको छ ।

अरु कुरा जे भए पनि यसले एउटा राम्रो कार्यको सुरुवात भएको छ । आशा गरौं, सुधारको संकेत भविष्यमा देखिने छ ।

पौष २८ गते ८ सदस्सिय प्रतिनिधि मण्डल सहित आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरसँग भेटी फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणालीबारे छलफल अघि बढाए । उक्त छलफलको क्रममा कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गरे । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरे । सो छलफलको क्रममा विभागका महानिर्देशक कुँवरले व्यावसायिक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउँदै आपसी सूचना आदानप्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दै जानुपर्ने धारणा राखे ।

छलफलकै सिलसिलामा उनी नेतृत्वको ९ सदस्सिय प्रतिनिधि मण्डलले हिजो अर्थात माघ १ गते अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटघाट सम्पन्न गरेको छ । उक्त छलफलका क्रममा अटोमोबाइल क्षेत्रमा देखापरेका बिद्यामान समस्याहरुको उचित समाधानका लागि अर्थमन्त्रालयले तत्काल पहलकदमी थाल्नुपर्ने धारणा राखे । सो अवसरमा मन्त्री खतिवडाले अटो क्षेत्रमा देखिएको मन्दी चाँडै हट्ने विश्वास गरे । भेटमा अर्थमन्त्री खतिवडा आफैले अटो क्षेत्रमा आएको गिरावटको विषयमा चासो राखेर कुरा गरेका थिए । अर्थमन्त्रीले बैंकमा तरलताको अवस्थामा सुधार हुँदै गएकाले अब अटो क्षेत्रको बिक्रीमा सुधार आउने बताए ।

उनले विशेषतः फेयर ट्रेड, स्पेयर पार्ट्समा अण्डर इन्भोइसिङ जस्ता विषय समाधान गर्न र सहज व्यापारको वातावरण निर्माण गर्न अर्थमन्त्रीसँग लिखितरुपमै माग पेश गरे । इलेक्ट्रिक सवारीसाधनमा दिने कर्जा, अटो उद्योग स्थापना गर्न दिइने सेवा सुविधा, सडक सञ्जाल विस्तार, स्पेयर पार्ट्समा हुने चोरी पैठारी लगायतका विषयमा उनी नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री खतिवाडाको ध्यानाकर्षण गराएको थियो ।

अटोमोबाइल वृत्तमा दुलालको प्रशंसा
नाडामा यसअघिका नेतृत्वहरुले खासै उल्लेख्य पहलकदमी गर्न नसकेको आरोप लाग्ने गरेको थियो । तर ४ कार्यकालसम्म पदाधिकारी भइसकेका दुलालले भने आफू नेतृत्वमा आएसँगै देखाएको सक्रियता अटोमोबाइल वृत्तमा अहिले चर्चाको विषय बनिरहेको छ । साथै उनको प्रशंसा समेत भइरहेको छ । नाडामा यसअघि पदाधिकारी रहिसकेका एकजना अटोमोबाइल व्यवसायीले भने ‘अघिल्ला नेतृत्वहरुले २ बर्षे कार्यकालमा गर्न नसकेका कामहरु दुलाल नेतृत्वको नाडाले १ महिनामै फत्ते गरेर सह्राहनीय काम गरेको छ ।’ उनका अनुसार पछिल्लो समय अटोमोबाइल व्यवसायमा धेरै नै समस्या तथा चुनौतीहरु देखा परेका कारण नाडा नेतृत्वको भूमिका झनै बढेर गएको छ । यस्तो बिषम परिस्थितिबाट निकास पाउनका लागि सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले अध्यक्ष दुलालको सक्रियतामा साथ दिएर लागि पर्नुपर्ने उनले सुझाब दिए । साथै उनले भने, ‘दुलालजीको सक्रियता भोलिका दिनमा झनै बढेर जाने र नाडा नेतृत्वमा हालसम्मकै सफल अध्यक्षका रुपमा पहिचान कायम हुने मैल बिश्वास लिएको छु ।’

स्वयं अध्यक्ष दुलाल पनि यसलाई एउटा सुरुवात मान्छन् । उनी भन्छन्, ‘हाल व्यवसाय सिथिल छ । अटोमोबाइल व्यवसाय भयंकर चुनौतीको अवस्थामा छ । अटोमोबाइलको आयात कम भएर बिक्री समेत घटेकाले राजस्वमा समेत असर पुगेको समाचार आइरहेका छन् । यो अवस्थामा व्यवसायलाई कसरी टिकाउन सकिन्छ ? कसरी ट्रयाकमा ल्याउन सकिन्छ ? कसरी आत्म सम्मानका साथ व्यवसाय गर्ने वातावरण बनाउन सकिन्छ ? भन्ने कुरालाई ध्यानमा राखेर हामीले सम्बन्धित विभिन्न निकायहरुसँग भेटघाटको क्रमलाई बढाएका छौ । यसका लागि नियम कानुनमा कस्तो सुधार गर्न सकिन्छ ? भन्ने वारेमा छलफल गरेका छौ ।’

नीति बन्नु भन्दा पहिले व्यावहारिक रुपमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने तिर ध्यान जानु आवश्यक भएकाले भेटघाटको क्रमलाई तीव्रता दिएको उनी बताउछन् । भन्छन्, ‘नीति बन्न लामो समय लाग्छ । त्यसैले पहिले सम्बन्धित स्टेक होल्डरसँग छलफल गर्नु आवश्यक हुन्छ । आर्थिक ऐन नै परिवर्तन गर्न बजेट पर्खिनु पर्ने, संसदको स्वीकृति आवश्यक हुन्छ । तर त्यो भन्दा पहिले व्यावहारिक पक्षलाई प्रष्ट गर्नु आवश्यक भएकाले हामीले छलफलको सुरुवात गरेका हौं । अब परिभाषा प्रष्ट भएको छ । कुन कुराले अप्ठ्यारो पारेको छ भन्ने कुरालाई पनि उहाँहरुले बुझ्नु भएको छ । यी सबै छलफलका आधारमा नीतिबाटै यसलाई सम्बोधन गर्ने गरी हामीले छलफल गरिरहेका छौ ।’

दुलाल नेतृत्वको टिम एक प्रकारले निकै नै सक्रिय बनेको छ । हाल नाडा कार्यसमितिमा आकाश गोल्छा र करण चौधरी उपाध्यक्ष छन् भने संस्थागत तर्फबाट नवराज डल्लाकोटी र सुवास आचार्य उपाध्यक्ष छन् ।

त्यस्तै महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र (सुरेश) उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंघानिया छन् । सदस्यहरुमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक (राम) छन् । त्यसैगरी मनोनित सदस्यहरुमा प्रकाश कपुरी, शुभाशिष थपलिया र कपिल शिवाकोटी छन् ।

एक महिनाको अवधिमा नयाँ नेतृत्वले देखाएको सक्रियताबाट नेपाली अटोमोबाइल क्षेत्र विशेष उत्साहित बनेको छ । तर के यतिले मात्र अटोमोबाइल क्षेत्रमा सुधार होला त ? अरु कुरा जे भए पनि यसले एउटा राम्रो कार्यको सुरुवात भएको छ । आशा गरौं, सुधारको संकेत भविष्यमा देखिने छ ।