Apache Race Track Experience

हिरो मोटोकर्पको सबैभन्दा कम मूल्यको स्कुटर ‘प्लेजर’ अब नयाँ अवतारमा आउने भएको छ ।

कम्पनीले हिरो प्लेजरलाई अपडेट गर्न लागेको समाचार आएका छन् । वर्तमान मोडलको तुलनामा नयाँ प्लेजरमा केही कस्मेटिक परिवर्तन देखिने छ ।

केही दिन अघि हिरोकी ब्रान्ड एम्बेसडर आलिया भट्टले टेलिभिजन बिज्ञापनका लागि सो स्कुटर प्रयोग गरेको तस्बिर समेत लिक भएको छ ।

हिरोले लामो समय देखि प्लेजरमा कुनै ठूलो अपडेट गरेको छैन । रिपोर्ट अनुसार नयाँ प्लेजरमा नयाँ डिजाइनको हेडलाइट हुनेछ । हेडलाइनको चारैतिर मेट सिल्भर हाइलाइट पनि हुनेछ ।

त्यसैगरी फ्रन्ट इन्डिकेटर पनि नयाँ हुनेछ र यसमा पनि त्यस्तै हाइलाइट हुनेछ । स्कुटरको पछिल्लो भागको बडी कलरमा ठूलो प्यानल हुनेछ । टेल लाइट सेक्सन पनि नयाँ डिजाइनको देखिने छ ।

नयाँ मोडलमा प्रयोग गरिने इन्जिनको वारेमा भने कुनै जानकारी उपलब्ध छैन । यसमा वर्तमान मोडलमा जस्तै १०२ सीसी वा माएस्ट्रो एज र ड्युएटमा जस्तै ११०.९ सीसी इन्जिन हुन सक्छ । नयाँ स्कुटरको सस्पेन्सन भने हालकै मोडलको जस्तै हुनेछ ।

हिरो प्लेजरको वर्तमान मोडल एलोई ह्विल र स्टिल ह्विल गरी दुई मोडलमा उपलब्ध छ । दुवै भेरिएन्टमा डिस्क ब्रेक छ । त्यसैगरी यसमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम (आईबीएस) उपलब्ध छ ।

नेपाली बजारमा उपलब्ध हिरो प्लेजरको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ छ । भारतीय बजारमा आए पछि बल्ल नयाँ प्लेजर नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ प्लेजर आयो भने यसको मूल्य केही बढी हुने अनुमान गरिएको छ ।

यही अप्रिल महिनामा प्लेजरको नयाँ अपडेटेड स्कुटर लन्च हुन सक्ने हिरोको आधिकारिक वेबसाइटमा बताइएको छ ।