सन्दर्भ चिनियाँ ब्रान्ड ग्रेटवालको पुनरागमन : चिनियाँ ब्रान्ड अनुकूल बन्दै नेपाली बजार

चीनको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी ग्रेटवाल पुनः नेपाली बजार भित्रिने भएको छ । ग्रेटवाललाई विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले नेपाल भित्र्याउन लागेको हो । भारतीय बजारमा उत्पादन थाल्ने अन्तिम तयारी गरिरहेको ग्रेटवालले यसअघिको अमेरिकन ब्रान्ड जनरल मोटर्सको दुई मध्ये एक प्लान्ट खरिद गरिसकेको छ । हाल भारत र चीनबीच बिबाद कायम रहेका कारण उत्पादनको अनुमति भने ग्रेटवालले पाइसकेको छैन ।

ग्रेटवाल नेपाल भित्रिन लागेको यो पहिलोपटक भने होइन । आजभन्दा डेढ दशकअघि ग्रेटवालका एसयूभी, पिकअप र ह्याचब्याक कार नेपाल भित्रिएका थिए । तत्कालीन बितरक हिमचुली अटो इन्टरनेसनलले यो ब्रान्डलाई भित्र्याएर राम्रै कारोबार समेत गरेको थियो ।

त्यस समय बिक्री भएका हावेल एसयूभी र विंगल ५ पिकअप अहिले पनि सडकमा गुडेको देख्न सकिन्छ । पछि स्पेयर पार्ट्स र सर्भिसिङमा समस्या आउन थालेपछि यो ब्रान्ड बिस्तारै ओझेलमा पर्दै गएको हो ।

भारतीय बजारमा उत्पादन थालेपछि कारोबार गर्न सहज हुने अनुमान गर्दै विशाल ग्रुपले ग्रेटवाललाई पुनः नेपाली बजारमा भित्र्याउन लागेको सहजै अनुमान लगाउन सकिन्छ । विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ओरा आर१ उत्पादन गर्दै आइरहेको ग्रेटवाल महत्वकांक्षी योजना सहित भारत आउन लागेको हो । भारतीय बजारमा उत्पादन थालेपछि स्पेयर पार्ट्स र सर्भिसिङमा समस्या नहुने हुँदा नेपाली बजारमा यसको प्रभाव बढ्दै जाने देखिन्छ ।

बढ्न थाले चिनियाँ ब्रान्ड
आजभन्दा करिब डेढ दशक अघिबाट चिनियाँ ब्रान्डका चार पाङ्ग्रे सवारी साधन नेपाल आयात हुन थालेका हुन् । तत्कालीन समयमा ग्रेटवाल सहित लिफान, ज्योते, चेरी, जिली, युएफओ लगायत आधा दर्जन बढी ब्रान्ड नेपाल भित्रिएका थिए ।

भारतीय ब्रान्डको तुलनामा निकै नै आकर्षक देखिने र सुबिधासम्पन्न फिचर्स समाबेश गरिएका कारण तत्कालीन समयमा यी गाडीले निकै चर्चा समेत बटुले । तर पछि स्पेयर पार्ट्सको अभावका कारण समस्याग्रस्त बनेपछि यी सबै ब्रान्ड एकाएक बजारबाट गायब बने । त्यसपछि लामो समयसम्म चिनियाँ ब्रान्डप्रति उपभोक्ताको बिश्वास गुम्यो ।

तर अहिले पुनः चिनियाँ ब्रान्डमा विश्वास जाग्न थालेको छ । यसको प्रमुख कारण मध्येको एक तत्कालीन समयमा जस्तो जो पायो त्यसैले यस्ता सवारीसाधन आयात गरिरहेका छैनन् । नेपालको अटोमोबाइल व्यवसायमा स्थापित एमएडब्लु ग्रुप र विशाल ग्रुप नै संलग्न भई आयात थालेका छन् ।

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु वृद्धि कमर्सियल भेइकलले फोटोन ब्रान्डको पिकअप र मिनीबस आयात गरी कारोबार गर्दै आइरहेको छ । त्यसैगरी विशाल ग्रुप सम्वद्ध पारामाउन्ट मोटर्सले चिनियाँ कम्पनीको उत्पादन एमजी मोटर्सका एसयूभी बिक्री गर्दै आइरहेकोमा हाल नयाँ ब्रान्ड ग्रेटवाल समेत थप गरेको हो ।

नेपाली बजारमा सफल कारोबार भइरहेको अर्को चिनियाँ ब्रान्ड डिएफएसकेलाई कोजु नेपालले आयात गरिरहेको छ । नेपाल भित्रिएको २ बर्षे अवधिमा यो कम्पनीले ५ दर्जन बढी एसयूभी बिक्री गर्न सफल भएको बताइएको छ ।

इलेक्ट्रिक तर्फ दीगो र बीवाईडी लगायत ब्रान्डले समेत राम्रो सुरुवात गरेका छन् । केही दिन पहिले डेरी ब्रान्ड थपिएको छ । इलेक्ट्रिक स्कुटरको कुरा गर्नुपर्दा झन्डै १ दर्जन हाराहारीमा चिनियाँ ब्रान्ड नेपाल भित्रिएका छन् । बाइकमा समेत यस्तै अवस्था छ ।

यसरी हेर्दा पछिल्लो समय नेपाली बजार चिनियाँ ब्रान्ड अनुकूल बन्दै गएको भान हुन्छ । यद्यपि यसअघि गुमाएको विश्वास आर्जन गर्दै पुनस्थापित हुन यी ब्रान्डलाई लामै समय लाग्ने देखिन्छ । जसका लागि वितरक कम्पनीहरुले स्पेयर पार्ट्स र सर्भिसिङमा बिशेष जोड दिनुपर्नेछ ।

 

 

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...