नाडाको अनलाइन मिटिङ सम्पन्न,  अटोमोबाइल व्यवसायीलाई विभिन्न राहत प्रदानका लागि आग्रह गरिने

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनको बैठक अनलाइन रुपमा सम्पन्न भएको छ ।

कोरोना भाइरसको प्रकोपको डरले लकडाउन भएको समयमा कार्यसमितिका पदाधिकारीहरुले अनलाइन रुपमा बैठक सम्पन्न गरेका हुन् ।

बैठकले हाल कायम रहेको लकडाउन आगामी बैशाख २५ गते पश्चात सतर्कतापूर्वक खोलिनु पर्ने र अटोमोबाइल व्यवसायीहरुलाई विभिन्न प्रकारको सहुलियत प्रदान गर्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष कुृष्णप्रसाद दुलालले बताए ।

दुलालले भने, ‘आगामी बैशाख २५ गते पश्चात जसरी पनि लकडाउन खोल्न र बैंकको ब्याजदर, सरकारलाई तिर्नु पर्ने कर, भन्सारमा भएका गाडीहरु छुटाउने कार्य आदिमा केही सहुलियतको व्यवस्था गरी विस्तारै वर्कसपहरु पनि खोल्ने मानसिकताका साथ व्यवसाय अगाडि बढाउने गरी सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौ ।’

यो वर्ष अटोमोबाइल व्यवसायीहरुले ब्याज तिर्न नसक्ने अवस्था भएकोले ब्याजदर समेत घटाउनु पर्ने र तिर्ने समय समेत एक वर्ष सार्नु पर्ने दुलालले बताए ।

त्यसैगरी सरकारलाई बुझाउनु पर्ने विभिन्न प्रकारको कर यही बैशाख २५ गते सम्म तिर्ने समय बनाइएकोमा हाल त्यो सम्भव नभएकाले यसलाई समेत सार्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

विभिन्न भन्सारमा गाडीहरु छुटाउन बाँकी भएको र हाल छुटाउन सकिने अवस्था समेत नभएकाले यसका लागि समेत समय बढाउन माग गरिने उनले बताए ।

अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारीलाई लकडाउनको समयको तलब पुरै दिन नसकिने अवस्था भएको र यसका लागि के गर्ने भन्ने वारेमा समेत छलफल भएको तथा सरकारी निकायसँगको समन्वयमा यसको निर्णय गरिने पनि उनले बताए ।

बैशाख २५ पश्चात विस्तारै सवारी साधनहरु पनि चल्ने र यसका लागि वर्कसपहरु समेत खुल्नु आवश्यक भएकाले यसका लागि वर्कसपमा कार्यरत कर्मचारीहरु आफै सचेततापूर्वक कार्य गर्ने मानसिकताका लागि तयार हुन समेत आग्रह गर्ने निर्णय गरिएको छ ।

यदि बैशाख २५ भन्दा पछि लकडाउन नखुल्ने हो भने व्यवसाय नै बन्द गर्नु पर्ने बाध्यता आउने हुनाले नाडाले यस्तो विशेष निर्णय गरेको दुलालले बताए ।


Subscribe Now