tvs-race

काठमाडौं – नाडाको नवनिर्वाचित नेतृत्व र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल बीच भेटघाट सम्पन्न भएको छ ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्सिय नाडा प्रतिनिधि मण्डलले गभर्नर नेपालसँग बुधबार भेटघाट सम्पन्न गरेको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैङ्कले मिति २०७६ साल पौष ८ गते ल्याएको क,ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६, ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैङ्क र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको थियो । सो सन्दर्भमा गभर्नर नेपालले स्पष्ट पार्दे अटोमोबाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भइसकेको बताए ।

उनले नेपालको निर्यात बढन नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिट्यान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरे । सोही छलफलको क्रममा गभर्नर नेपालले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेभी इक्विपमेन्ट गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिएका थिए ।

व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंघानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।