नाडाको लुब्रिकेन्ट समितिको बैठक सम्पन्न, लकडाउनको असर र आगामी बजेट वारेमा छलफल

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अन्तर्गतको लुब्रिकेन्ट समितिको बैठक भिडियो कन्फ्रेन्सिङ मार्फत अनलाइन रुपमा सम्पन्न भएको छ ।

लुब्रिकेन्ट समितिका सभापति सुरेन्द्रकुमार उप्रेती (सुरेश) को सभापतित्वमा बसेको सो बैठकले हाल लकडाउनको विषम परिस्थितिमा गरिनु पर्ने विभिन्न कार्यका साथै आगामी आर्थिक वर्षको लागि सरकारले प्रस्तुत गर्ने बजेटका लागि प्रदान गरिने सुझावका वारेमा समेत छलफल गरेको छ ।

सो अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल र महासचिव सुनिल रिजालको समेत उपस्थिति रहेको थियो ।

बैठकमा हाल लकडाउनको विषयम परिस्थितिमा परेको समस्याको वारेमा छलफल गर्दै हालको अवस्थामा लुब्रिकेन्ट व्यवसायमा कार्यरत सम्पूर्ण कर्मचारी, मेकानिक्सका साथै समग्र अटो क्षेत्र नै प्रभावित भइरहेको वारेमा चर्चा भयो । हालको अवस्थामा घरभाडामा छुट प्रदान गरिनुका साथै बैंकहरुले प्रदान गरेको ऋणको ब्याजमा समेत छुट प्रदान गर्न वा अन्य उपायका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको सभापति उप्रेतीले बताए ।

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रममा नेपालमा बिक्री–वितरण गरिने लुब्रिकेन्टलाई गुणस्तरीय बनाइनुका साथै ग्राहक नठगिने गरी सरकारले विभिन्न व्यवस्था गर्नु पर्ने वारेमा भन्सार विभागमार्फत सरकारलाई सुझाव प्रस्तुत गरिने समितिले निर्णय गरेको छ ।

नेपालमा भित्रिने लुब्रिकेन्ट स्तरीय नभएकाले ग्राहक ठगिने र गुणस्तरीयता नै थाहा नभएका विक्रेताले समेत विभिन्न लुब्रिकेन्ट भित्र्याउने गरेको पाइन्छ । एउटा ब्रान्डको लुब्रिकेन्ट बिक्री गरिरहेका डिलरले अर्को ब्रान्ड समेत बिक्री गरिरहेको पनि पाइन्छ । त्यसैले आधिकारिक विक्रेता बाहेक अन्यले कुनै ब्रान्ड बिक्री गर्न नपाइने गरी व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी नेपालमा भित्रिने वा उत्पादन हुने लुब्रिकेन्टका लागि हालको अवस्थामा अन्तर्राष्ट्रिय रुपमा प्रचलित एपीआई सर्टिफिकेट प्राप्त भएको हुनु पर्ने व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिने निर्णय भएको छ ।

त्यसैगर आगामी आर्थिक वर्षको बजेटमा हाल लुब्रिकेन्टमा लगाइएको ३० प्रतिशत भन्सारलाई घटाएर २० प्रतिशत गर्न र बेस आयलको भन्सार पनि १५ प्रतिशतबाट ५ प्रतिशत गर्न सुझाव दिने निर्णय भएको छ । यसबाट स्वदेशी र विदेशी दुवै लुब्रिकेन्टलाई फाइदा पुग्ने समितिको अपेक्षा भएको उप्रेतीले बताए ।

भारतमा हाल जीएसटी १८ प्रतिशत गरिएको र भविष्यमा १० प्रतिशत सम्म गर्ने योजना भएको समयमा नेपाली व्यवसाय झन् कमजोर हुने भएकाले आफूहरुले यो माग गरेको सभापति उप्रेतीले बताए ।

लुब्रिकेन्ट समितिको उपसभापतिमा वर्ण न्यौपाने, दिपेन्द्रकुमार मिश्र र दिपक युनिथान छन् भने सदस्यहरुमा राजकुमार गोयल, प्रकाश मारु, कविकुमार टिवडेवाला, मधुसूदन सिग्देल, अमरज्योति रञ्जित, रोशन श्रेष्ठ, नगेन्द्र खनाल, अच्युत खरेल, ताराबहादुर कुँवर, सुवोध कोइराला, पुरण ज्ञवाली, अनुभव श्रेष्ठ, सिद्धार्थ जजोडिया, कृष्णवहादुर गोदार र श्याम पाण्डे छन् ।

 


Subscribe Now