tvs-race
काठमाडौं – नारायणगढ–मुग्लिन सडक आज रातभर खुल्ने छ । तर भोलि देखि भने विहान १० बजेदेखि दिउसो ४ बजेसम्म बन्द रहने भएको छ । आज सम्म यो सडक रातमा बन्द गरिदै आएको थियो ।

रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो पनि सवारी रोकेर काम गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा केही समय पहिले सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसो कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको थियो । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिएको थियो ।

गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा राति सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ ।

Motorhead