tvs-race

काठमाडौं– मोरङ उद्योग संगठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आज नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल सहित कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।

नाडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी संगठनले नाडा नेतृत्व सर्बसम्मत चयन भएकोमा अध्यक्ष दुलालसहित सम्पूर्ण कार्यसमित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको हो ।

उक्त कार्यक्रममा संगठन अध्यक्ष घिमिरेले आफू पनि अटोमोबाइल ब्यवसायी भएको हुँदा उक्त क्षेत्रमा हुनेगरेका समस्याहरुलाई नजिकबाट नियालिरहेको बताए । ‘नाडा नेतृत्वले अटोमोबाइल क्षेत्रमा देखापरेका बिबिध समस्याहरुको उचित समाधानका लागि सरकालाई रचनात्मक सल्लाह दिई असल सल्लाहकारका रुपमा प्रस्तुत हुनेछ भन्ने बिश्वास लिएको छु’ उनले भने । साथै उनले फागुन २ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको २२ औ बिराट एक्सपोमा छुट्टै अटो प्याभिलियनको ब्यवस्था गरिएको हुँदा उक्त एक्स्पोमा उल्लेख्य सहभागिता जनाउन नाडा सम्बद्ध व्यवसायीलाई आग्रह गरे ।

एक्सपोका संयोजक भोला दुलालले बिगतका एक्स्पोहरुमा समेत अटोमोबाइल क्षेत्रबाट उल्लेख्य सहभागिता जानाइदै आइएकोमा यसपटक झनै बढी सहभागिता रहने विश्वास ब्यक्त गरे । साथै उनले एक्स्पो आयोजनाका लागि नाडाले बिभिन्न तबरबाट सहयोग गर्ने अपेक्षा समेत ब्यक्त गरे ।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले कार्यालयमै आएर आफूहरुलाई बधाई दिएकोमा संगठन अध्यक्ष घिमिरे र प्रतिनिधि मण्डलप्रति आभार ब्यक्त गर्दै एक्स्पोमा नाडाका तर्फबाट आफूले गर्न सक्ने सहयोग उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

एक्स्पोको अबसर पारेर त्यस क्षेत्रमा नाडाले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रममा सहकार्य गर्न नाडा तत्पर रहेको उनले बताए ।