मौद्रिक नीति : अटोलोनमा पुरानै व्यवस्था कायम, अटोमोबाइल व्यवसायीहरुको आपत्ति

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – नेपाल राष्ट्र बैकले आर्थिक बर्ष २०७७/७८ का लागि मौद्रिक नीति आज सार्बजनिक गरेको छ । उक्त नीतिमा अटोलोनमा पुरानै व्यवस्था कायम गरिएको छ ।

यसअघिको ५० प्रतिशत डाउनपेमेन्टलाई घटाउने अपेक्षा गरिए पनि पुरानै व्यवस्था कायम गरिएको हो । कोरोना महामारीका कारण शिथिल बनेको अटोमोबाइल व्यवसायलाई राहत हुनेगरी कर्जाको सीमा बढाइने व्यवसायीले अपेक्षा गरेका थिए ।

अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले केही समय अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै अटोलोनको सीमा बढाउन अनुरोध गरेका थिए । उनीहरुले हाल बिद्यमान ५० प्रतिशत डाउनपेमेन्टलाई घटाएर २० प्रतिशतसम्ममा झार्नुपर्ने माग राखेका थिए । तर उनीहरुको माग सम्बोधन गरिएन ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल व्यवसायीको मुख्य माग डाउनपेमेन्ट घटाउनुपर्ने विषयमा मौद्रिक नीति मौन बसेको भन्दै आपत्ति जनाएका छन् । ‘हामीले राखेको मुख्य माग मौद्रिक नीतिमा समेटिएको छैन । यो एकदम खेदजनक छ ।’ उनले भने, ‘गभर्नरसँग भेट्दा उहाँले विद्यमान डाउनपेमेन्टको प्रावधानलाई खुकुलो पारिने बताउनु भएको थियो । तर नीतिमा कहिँ कतै पनि उक्त मागका बिषयमा सम्बोधन गरिएन ।’ दुलालले फेरि पनि आफूहरुले सच्चाउन माग गर्ने बताए ।

त्यसैगरी बजेटमार्फत इलेक्ट्रिक कारमा बढाइएको करमा समेत परिमार्जन गर्न उनीहरुले माग राखेको थिए । त्यसको समेत कुनै सुनुवाई भएको छैन ।

विभिन्न क्षेत्रमा कार्यरत अटोमोबाइल व्यवसायीहरुले पनि अटोलोनको सीमा बढ्ने अपेक्षा गरेका थिए । तर मौद्रिक नीतिले उनीहरुको अपेक्षालाई सम्बोधन गरेन । यसले गर्दा नेपाली अटोमोबाइल व्यवसायले अपेक्षा अनुसारको गति नलिने धेरैको अनुमान छ ।

 


Subscribe Now