tvs-race

असार १ गते यता लकडाउन खुकुलो पारिएसँगै आर्थिक गतिविधिले केही मात्रामा भएपनि गति लिन थालेको छ । यो समयमा बिभिन्न कम्पनीहरुले व्यवसायलाई चलायमान बनाउन भरमग्दुर प्रयास गरिरहेका छन् । सोही मेसोमो बिभिन्न अटोमोबाइल कम्पनीहरु समेत सामेल छन् ।

अहिले प्रायः सबैजसो अटोमोबाइल कम्पनीहरुले स्किम तथा अफर सार्वजनिक गरी ग्राहकलाई आफ्नो शोरुम सम्म तान्न भरमग्दुर प्रयास समेत गरिरहेका छन् । तथापि नेपालस्थित महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले भने हालसम्म कुनै स्किम तथा अफर सार्वजनिक गरेको छैन । त्यसो त यो कम्पनीले विगत देखि नै स्किम तथा अफरमा जोड दिंदै आएको पाइदैन ।

कम्पनीका महाप्रबन्धक बरदान बस्नेत अहिले स्किम तथा अफरमा होडबाजी गर्नुभन्दा पनि लकडाउन अघिको कारोबार मिलाउन केन्द्रित हुनुपर्ने धारणा ब्यक्त गर्छन् । प्रस्तुत छ बस्नेतसँग वर्तमान अवस्थामा अटोमोबाइल व्यवसायको स्थिति र महिन्द्राको भावी राणनीतिका विषयमा गरिएको कुराकानी :

लकडाउन खुकुलो पारिएसँगै अटोबजारले गति लिन थालेको हो ?
मेरो बुझाइमा अहिले नै गति लिन थालिसकेको छैन । ३–३ महिनासम्म मानिसहरु आ–आफ्नै घरमा थुनिएर बस्न बाध्य पारिए । लामो समयको अन्तरालपछि लकडाउन खुकुलो पारिएका कारण बजारमा मानिसको चहलपहल बढेकै आधारमा व्यवसायले गति लिन थाल्यो भन्नु अलि हतारो होला । अहिले मानिसहरु गाडी लगायत महंगा समान खरिद गर्न भन्दा पनि आफ्ना अत्यावश्यक सामान जुटाउन तल्लिन छन् ।

लकडाउन अघि एउटै कम्पनीले महिनामा १ सय थान बढी गाडी बिक्री गर्थे भने ३ महिने यो अवधिमा पुरै इन्डस्ट्रिको सेल्स मुस्किलले १ सय पुगेको हुनुपर्छ । यस्तो अवस्थामा बजारले गति लिन थाल्यो भनेर कसरी भन्ने ? तथापि लकडाउन खुकुलो पारिएसँगै गाडी आवश्यक र हातमा क्यास भएका सीमित ग्राहकहरुले सवारीसाधन खरिद गर्न थालेको बुझिन्छ । तर यो संख्या एकदमै नगन्य मात्रामा छ ।

जोखिमका हिसावले कोरोनाबाट जोगिन तत्कालै गाडी किनिहाल्न सक्ने ग्राहक मुश्किलले १ प्रतिशत होलान् । अन्यथा ठूलो संख्यामा रहेका ग्राहकहरुले आफ्नो नियमित आम्दानी र बैंकबाट पाइने सुविधाकै आधारमा गाडी खरिद गर्ने हुन् । अहिले यी दुबै अवस्था अनुकूल छैनन् । जसका कारण गाडी खरिद गर्ने ठूलो वर्ग मारमा परेको अवस्था छ । त्यसैले मलाई लाग्छ अटोबजार सहज अवस्थामा फर्कन कम्तीमा पनि २÷३ वर्षको समय त लाग्छ नै ।

अहिले प्रायः सबैजसो कम्पनीहरु ग्राहक तान्न बिभिन्न स्किम तथा अफर सार्वजनिक गरिरहेका छन, तर तपाईहरु भने यो मामलामा मौन नै हुनुहुन्छ नि ?
अहिले मात्र होइन विगत देखि नै हामी स्किम तथा अफरको मामलामा प्रायः मौन रहँदै आइरहेका छौ । अहिलेको समयमा जे जति कम्पनीहरुले स्किम तथा अफर ल्याइरहेका छन् त्यो उहाँहरुको बाध्यता हो जस्तो लाग्छ मलाई । कम्पनीमा नगद अभाव भएका कारण क्यास फ्लो बढाउन र स्टक क्लियर गर्नका लागि यस्ता स्किम तथा अफर आएका हुन् ।

हाम्रो हकमा भन्नुहुन्छ भने २/३ महिनाको अवरोधकै कारण क्यास फ्लोमा गम्भीर समस्या आइहाल्ने अवस्था छैन । त्यसैले अहिलेको यो समयमा हामी लकडाउन अघि २/३ महिना अगाडिको पुरानो हिसावकिताव मिलाउन लागिपरेका छौ । लकडाउन अघि बजारबाट उठाउनुपर्ने पेमेन्टमा बढी केन्द्रित छौ ।

Motorhead

अहिले सवारी साधन खरिद बिक्री गर्न भर्चुअल शोरुमको अवधारणाहरु पनि आइरहेका छन्, यसमा तपाईहरुको तयारी कस्तो छ ?
भर्चुअल शोरुमका लागि हामी व्यवसायीहरु मात्र तयार भएर पुग्दैन । यसका लागि ग्राहक र बैंक तथा वित्तीय संस्था पनि तयार हुनुपर्छ । अनिमात्र यो अबधारणाले सहि परिणाम देला । नेपाली उपभोक्ताका लागि गाडी मुल्यवान साधन भएको हुँदा उनीहरु यो अवधारणामा सहजै समावेश भैहाल्लान् भन्ने मलाई लाग्दैन । हामीकहाँ गाडी किन्नु भनेको सानो कुरा होइन । कैयौं वर्षदेखि जम्मा गरेर राखेको आम्दानी खर्च गर्नु हो ।

यस्तो अवस्थामा ग्राहक आफै शोरुममा पुगेर गाडी राम्ररी हेर्न र टेष्ट ड्राइभ गर्न चाहन्छन् । त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरुको सहजीकरण समेत आबश्यक पर्ने हुँदा भर्चुअल शोरुममार्फत गाडी खरिद बिक्री भइहाल्ने अवस्था अहिले बनिसकेको छैन ।

बजेट पछि इलेक्ट्रिक भेइकल चर्चामा रहँदै आएको छ । तपाइहरुले पनि महिन्द्राकै इटुओ लगायत इलेक्ट्रिक कार बिक्री गर्दै आइरहनु भएको छ । बजेट पछि यस्ता गाडीको माग कस्तो छ ?
इलेक्ट्रिक गाडीले भर्खर बामे सर्दै गरेको अवस्थामा सरकारले भन्सार र अन्तःशुल्कको भारी बोकाएर यसलाई उठ्नै नसक्ने बनाइदिएको छ । बजेट अघि २३/२४ लाखमा बिक्री हुँदै आएको महिन्द्रा इटुओको मुल्य बढेर अहिले ३४ लाखसम्म पुगेको छ ।

यस्तो अवस्थामा यसले बजार लिने कुरै भएन । हाम्रो मात्र होइन अहिले सबैजसो ब्रान्डका इलेक्ट्रिक गाडीको बजार ठप्प प्रायः छ । यस्ता साधनको प्रवद्र्धन गर्नुपर्ने समयमा उल्टै कर थपेर सरकार उल्टो बाटो हिडिरहेको छ ।

मौद्रिक नीतिमार्फत सरकारले यो क्षेत्रमा के–कस्ता प्रावधान राखिदियो भने अटोबजारले सोचे अनुसार गति लिन सक्ला ?
सरकारसँग हामीले १० वटा माग राख्यौ भने पनि उसले एउटै माग पुरा गर्ने होइन । यसपटक हामीले सरकारसँग एउटै माग राखेका छौ । त्यो हो ९० प्रतिशतसम्म अटो लोनको व्यवस्था ।

यसो गरियो भने निम्न–मध्यम आय भएका उपभोक्ताले समेत बैंकिङ च्यानलबाट सवारीसाधन खरिद गर्न सक्छन् । यस्तो प्रावधान लागू भइदियो भने अटोबजार छिट्टै चलायमान हुने सम्भावना रहन्छ । यसले बैकमा थुप्रिएर बसेको नगदको प्रवाहलाई समेत उचित ब्यवस्थापन गर्छ ।