tvs-race

काठमाडौं - कतार सरकारले गत बुधवार देखि कतारमा मेट्रो रेल सेवा शुरु गरेपछि रोजगारीका लागि कतारमा रहेका नेपाली कामदारहरुले पनि त्यसबाट लाभ पाएका छन् । सर्वसाधारणका लागि कतारमा बुधबार देखि सञ्चालनमा आएको मेट्रो रेलमा एक दिनमा ५० हजार जनाले सेवा लिइरहेका छन् । 

त्यसमा रोजगारीमा रहेका नेपाली कामदारहरुको संख्या पनि ठूलो देखिएको छ । रेलले समयको बचत गर्दै छिटो छरितो गराएको र आफ्नो यातायात खर्चमा बचत गरेको भन्ने टिप्पणी लेख्दै धेरै नेपाली कामदारहरुले रेल चढेको सेल्फी खिचेर फेसबुकमा पोष्ट गर्ने गरिरहेका छन् ।  

दोहा मेट्रो अन्तरगत रेड लाईन दक्षिण तर्फको प्रारम्भिक सेवा बुधबारबाट सञ्चालनमा आएको हो । १८ मध्ये हाललाई १३ वटा स्टेशन खुला गरिएको छ । दोहाको अल कसार देखि बक्रासम्म हरेक ६ मिनेटमा चल्ने रेल शुक्रबार बाहेक हरेक दिन विहान ८ बजे देखि राती ११ बजेसम्म चल्ने गरेको छ ।