रोड सेफ्टी एलायन्सको बैठक सम्पन्न, कार्य सम्पादन समिति गठन

काठमाडौं – नेसनल रोड सेफ्टी एलायन्स नेपालले सडक सुरक्षासम्बन्धी बैठक आयोजना गरेको छ ।

नेपालको सडक सुरक्षा, ट्रान्सपोर्ट व्यवस्थापन, सेफर एण्ड सस्टेनेबल मोबिलिटी, ड्राइभ टुरिजम, हाइवे इमर्जेन्सी रेस्पोन्स, शैक्षिक प्रतिष्ठान, चिकित्सा र नर्सिङ क्षेत्र, इन्जिनियरिङ क्षेत्र, स्थानीय निकाय, यातायात, अटोमेकानिकल क्षेत्र, उपभोक्ता तथा मानव अधिकार, मिडिया र विभिन्न पेशागत संघसंस्थाहरुको राष्ट्रिय नेटवर्क नेसनल रोड सेफ्टी एलायन्स नेपालको वार्षिक बैठक काठमाडौँमा सम्पन्न भएको हो ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा सांसदहरु पार्वती रावल, रंगमती शाही, गणेश पहाडी, दिपकप्रकाश भट्ट र इन्दु शर्माले आआफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै, पूर्वसांसदहरु डा. शिवजी यादव, कमला बिक, इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. त्रिरत्न बज्राचार्य, नेपाल नर्सिङ संघका अध्यक्ष प्रा तारा पोख्रेलले समेत आफ्नो धारणा राखेका थिए । बैठकमा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर न्यौपाने तथा नेपाल ओर्थोपेडिक एसोसिएसनका पूर्वअध्यक्ष डा बुलन्द थापाले सडक सुरक्षा बिषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

हिसानका सचिव रामहरी सिलवाल, गुणस्तर तथा नापतौल विभागका निर्देशक मणिराम भुसाल, संचारिका समूहकी अध्यक्ष नितु पण्डित र स्वतन्त्रता अभियान नेपालकी बोर्ड मेम्बर ऋतु भट्ट लगायतले सडक सुरक्षाका लागि नीतिगत, नागरिक र पेशागत क्षेत्रबाट संगठित भूमिका निर्वाह गर्न आह्वान गरे ।

बैठकमा रोड सेफ्टी काउन्सिल, ट्रान्सपोर्ट व्यवस्थापन, सार्वजनिक यातायात, यातायात र सडक सुरक्षा ऐन, मोटरसाइक्लिङ सुरक्षा, क्वालिटी कन्ट्रोल, अन्तरसरकारी समन्वय, इन्टरनेसनल ड्राइभिङ परमिट, ई भेइकल, साइकल तथा पैदल यात्री सुरक्षा, अटोल्याण्ड, इमर्जेन्सी रेस्पोन्स लगायतका विषयमा बृहत छलफल गरिएको थियो ।

बैठकले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनको आयोजना, संसदमा आवश्यक प्रस्तावहरु, रोड सेफ्टी काउन्सिल गठनको लागि आवश्यक छलफल, विभिन्न अभियानहरुको सुरुवात, नीतिगत तहमा सुझाव र लबिङ्ग, प्रदेश र स्थानीय सरकारलाई प्राविधिक सहयोग र सचिवालय संचालन जस्ता निर्णयहरुको लागि एलायन्समा आवद्द २१ वटा संघसंस्था मध्येबाट ७ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको संस्थाले जनाएको छ ।

समितिको संयोजकमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई चयन गरियो भने सदस्यहरुमा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल इन्जिनियर्स एसोसिएसनका सहमहासचिव ई. कपिल आचार्य, डब्ल्यूएचओ नेपालका रोड सेफ्टी फोकल पर्सन डा. केदार मरहट्टा, संचारिका समुहकी अध्यक्ष नितु पण्डित, नेपाल अर्थोपेडिक एसोसिएसनका उपाध्यक्ष बिमल कुमार पाण्डे र स्वतन्त्रता अभियान नेपालकी ऋतु भट्ट रहेका छन् ।

नासा फाउन्डेसनले सचिवालयको कार्य गर्ने सो एलायन्समा नेपालभरका २१ वटा संघ संस्थाहरु आवद्ध भइसकेका छन् भने केही आबद्ध हुने क्रममा रहेका छन् ।

 

Subscribe Now