tvs-race

काठमाडौं – भक्तपुरको सीमाना मनोहरा पुलदेखि काभ्रेको साँगा चोक सडकखण्डमा सवारीको अधिकतम गति ५० किलोमिटर भन्दा बढी गर्न नपाइने भएको छ ।

मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा सवारी दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि सवारी गतिको सीमा तय गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० को गतिमा गुडाउनु पर्नेछ । उक्त नियम असार १ गतेबाट लागू गरिने बताइएको छ ।

सवारीको गति जाँचका लागि राडारगन र लेजरगनको माग गरेको जनाएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

उक्त दफामा चालक अनुमति पत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमति पत्र खारेज गर्न सक्ने उल्लेख छ ।