यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ अब नेतृत्वदायी भूमिकामा

ISUZU

tvs-race
yamaha-nepal
thee-go

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को महासचिव तथा यातायात र ट्राफिक व्यवस्थापनका विज्ञको रुपमा परिचित इन्जिनियर आशिष गजुरेल हालै नेपाल इन्टरमोडल यातायात विकास बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । यससँगै गजुरेलको चर्चा फेरि एक पटक चुलिएको छ ।

इन्टरमोडल यातायात विकास बोर्डले सडक यातायात, हवाई यातायात, रेल यातायात, जल यातायात र अन्य विभिन्न यातायातको क्षेत्रमा कार्य गर्छ । गजुरेलले आगामी दिनमा यातायात क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर विभिन्न चुनौतीपूर्ण कार्यहरु गर्नु पर्ने आवश्यकता छ । उनले आफ्नो शैक्षिक योग्यतालाई अब व्यावहारिक रुपमा कार्यान्वयन गर्ने अवसर समेत पाएका छन् ।

गजुरेल बेल्ट एन्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट एलायन्स (ब्रिटा) को सह–महासचिव समेत हुन् । उनी गत जुन १९ मा सम्पन्न साधारण सभामार्फत निर्विरोध रुपमा सो पदमा निर्वाचित भएका हुन् । उक्त साधारणसभामा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाललगायतका दर्जनौ देशबाट ५२ जनाको सहभागिता रहेको थियो । ब्रिटामा विश्वका ५ दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इन्जिनियरिङ तथा अटोमोबाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी संघ संगठन आवद्ध रहेका छन् ।

नेपालमा गत वर्ष सडक दुर्घटनाबाट २ हजार लगभगको अकाल मृत्यु भयो, हजारौ अङ्गभङ्ग र अपाङ्ग भए । संसारमा सडक दुर्घटनाका कारण वर्षेनी १४ लाख भन्दा धेरैको अकाल मृत्यु, करोडौंको अंगभंग र अपाङ्गको अवस्था अनि खरबौंको आर्थिक क्षतिको त्रासदीमा हामी बाचिरहेका छौं । त्यसबाट छुटकारा पाउने विभिन्न अभियानहरु विश्वब्यापी रुपमै चलिरहेका छन् र नेपालमै पनि ।

यद्यपि यस्ता अभियन्ताहरु विश्वमा मात्र होइन, नेपालमा पनि कमै छन् । यस्तै अभियन्ता मध्ये एक हुन् आशीष गजुरेल । उनी एक अभियन्ता मात्र होइन, यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ समेत हुन् । जर्मनीबाट १० वर्ष अघि यातायात तथा ट्राफिक इन्जिनियरिङमा मास्टर्स गरी फर्केका आशीष गजुरेल अनवरत रुपमा यही क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल फर्किनु पहिले ‘ट्राफिक इन्जिनियरिङ’ भन्ने विषय पनि हुन्छ भन्ने कुरा समेत धेरैलाई थाहा थिएन । जर्मनीमा आफूले सिकेको कुरा नेपालमा कसरी र कुन तरिकाले लागू गर्ने भन्ने अन्यौलताका बीच उनले यो विषयका वारेमा केही पत्रिकाहरुमा लेख्न थाले । उनी ती दिनहरु सम्झिन्छन्, जुन बेला यो विषयका वारेमा लेख छपाउन समेत निकै गाहे थियो ।

यद्यपि उनी निरन्तर रुपमा यसमा लाग्न थाले । पछि यो विषयले केही चर्चा पाउन थाल्यो । उनलाई अन्तर्वार्ताका लागि रेडियो, टीभीहरुले पनि बोलाउन थाले । त्यसपछि यातायात र ट्राफिक व्यवस्थापन विषय सञ्चार माध्यममा धेरै छलफल हुने विषय मध्ये एक हुन थाल्यो । तर यसरी एक्लै यो विषयका वारेमा कुरा उठाउन सम्भव थिएन । कुनै संस्थामार्फत काम गर्दा प्रभावकारी हुने ठानेर करिव ६ वर्ष पहिले देखि उनी नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँग जोडिए । उनी नासामा यातायात विज्ञको रुपमा जोडिए ।

तत्कालीन समयमा नासाका महासचिव गोविन्द भट्टराईको प्रेरणाबाट नासामा जोडिएका गजुरेल हाल आफै नै महासचिव हुन् । उनी नासाको महासचिवको रुपमा कार्यरत भएको करिव एक वर्ष भयो । नासामा उनको नेतृत्वमा सडक सुरक्षा, यातायात व्यवस्थापन र दिगो यातायात प्रणाली सम्बन्धी विभिन्न कार्यक्रमका साथै बेल्ट एन्ड रोड सम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स समेत सम्पन्न भइसकेको छ । विभिन्न नगरपालिका, विद्यालय, कलेज र अन्य संघ संस्थासँग मिलेर सडक सुरक्षा सम्बन्धी कार्य भइरहेको छ । हाल गजुरेल यातायात तथा सडक सुरक्षा विज्ञको रुपमा परिचित बनेका छन् ।

गजुरेल लगानी बोर्डमा समेत यातायात क्षेत्रका परामर्शदाता थिए । १० वर्षको बीचमा विज्ञको रुपमा परिचित हुनका लागि भने उनले कठीन मेहनत गरेका छन् । शुरुका दिनमा उनलाई आफूले जानेको कुरा अरुलाई थाहा दिनका लागि पनि निकै परिश्रम गर्नु परेको थियो । उनलाई यसमा सामाजिक सञ्जालले पनि धेरै सहयोग गरेको छ । विशेष गरी फेसबुकमा आफ्ना जानकारीमूलक सामग्री राख्दा धेरैले उनलाई चिन्न थाले । ट्राफिक प्रहरी र यातायात सम्बन्धी निकायबाट पनि उनको खोजी हुन थाल्यो । पहिले अंग्रेजीमा मात्र लेख लेख्ने गरेका गजुरेलले पछि नेपालीमा समेत लेख्न थाले । विशेष गरी नेपाली सञ्चार माध्यममा आफ्ना लेख छापिन थाले देखि बल्ल उनी बढी परिचित भएका हुन् ।

नेपालको ट्राफिक व्यवस्थापन निकै नै भद्रगोल छ । यही भद्रगोलका बीचमा उनी विभिन्न सल्लाह सुझाव दिन्छन् । त्यसैले नै उनी युवाहरुलाई विदेश जान भन्दा नेपालमै केही गर्न सुझाव दिन्छन् । विदेशमा गएकालाई पनि फर्केर नेपालमै केही गर्न अनुरोध गर्छन् । उनी भन्छन्, ‘मेरो अनुभवमा नेपाल भनेको अवसरको भूमि हो । त्यसैले तपाईं जे नया“ गर्नु हुन्छ, त्यसमा तपाईं पहिलो बन्नु हुन्छ । शुरुमा निकै नै गाहे हुन्छ । तर धैर्य गरेर अगाडि बढेमा दीर्घकालीन रुपमा फाइदा हुन्छ । हरेश नखाई अनवरत रुपमा लागिरहनु पर्छ ।’

आशीष गजु्रेल विकास, पूर्वाधार तथा यातायात विकास सम्बन्धी विभिन्न गोष्ठी, सेमिनार आदिमा सहभागी हुनका लागि विभिन्न देश पुगेका छन् । कुनै समय उनले भनेका थिए, ‘अब यातायात तथा ट्राफिक व्यवस्थापनको क्षेत्रमा विज्ञ भएर लामो समय काम गर्ने र विकासमा सहयोग गर्ने योजना बनाएको छु । कुनै दिन विकास सम्बन्धी काम गर्ने संस्थाको नेतृत्व लिएर काम गर्ने मेरो लक्ष्य छ ।’ उनको लक्ष्यको सुरुवात अब भएको छ ।

यही अवसरमा आशीष गजुरेललाई हाल धेरैले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । आशा गरौ, उनको कार्यकाल सफल हुनेछ ।

 


Subscribe Now