Apache Race Track Experience
काठमाडौं – विश्वकै सर्बाधिक अग्लो स्थानमा बाइक स्टन्ट गरेर स्लोभेनियाका स्टन्ट राइडर रोक बगारोजले रेकर्ड राखेका छन् । उनले मुस्ताङको मुक्तिनाथमा ३ हजार ६ सय ६४ मिटर अग्लो स्थानमा केटीएम बाइकमा स्टन्ट गरी रेकर्ड कायम गरेका हुन् ।

उनी १७ घण्टाको यात्रा पश्चात २० मिनेट सम्म नरोकिई सो स्टन्ट सम्पन्न गरेका थिए । अग्लो स्थानमा हावाको मात्रा पनि कम हुने र बाइकले पनि सामान्य अवस्था भन्दा ३० प्रतिशत कम पावर दिने भए तापनि यसलाई आफूले सम्पन्न गरेको उनले आफ्नो ब्लगमा लेखेका छन् ।

यद्यपि गिनिस वल्र्ड रेकर्ड कमिटीले यसलाई औपचारिक रुपमा प्रमाणित गर्न केही साता लाग्ने उनले उल्लेख गरेका छन् ।
रोक बगारोजले केही समय पहिले ललितपुरको सातदोवाटोमा पनि आफ्नो स्टन्ट प्रदर्शन गरेका थिए ।

रोक बगारोज अफिसियल केटीएम स्टन्ट राइडर हुन् । उनी केटीएम बाइकमा विश्वका विभिन्न देशमा पुगेर स्टन्ट गरेका छन् । विश्वका विभिन्न देशमा भएका स्टन्ट राइड प्रतियोगितामा उनी विजेता बनेका छन् ।

रोक बगारोज शुरुमा स्कुटरमा स्टन्ट गर्थे । उनले सन् २००९ मा हिउँमा स्कुटर स्टन्ट गरेर नयाँ रेकर्ड कायम गरेका थिए । सन् २०१० मा फ्रान्समा भएको स्कुटर स्टन्ट प्रतियोगितामा उनले पहिलो स्थान हासिल गरेका थिए । त्यसपछि उनी बाइकमा स्टन्ट गर्न थालेका हुन् ।

सन् २०११ मा हंगेरीमा भएको १२५ सीसी स्टन्ट प्रतियोगितामा उनी पहिलो भएका थिए । त्यसैगरी सन् २०१४ मा अष्ट्रियन स्टन्ट डेजमा भएको बेस्ट शो मा तेस्रो स्थान हासिल गरे । सन् २०१५ मा भएको अष्ट्रियन स्टन्ट डेजको लास्ट म्यान स्ट्यान्डिङमा पहिलो स्थान हासिल गरेका थिए ।

https://youtu.be/XJ05B3qzqWo