tvs-race

राष्ट्रिय सभा सदस्य तथा गायिका हुन् – कोमल वली । कोमल वली सानै उमेरदेखि केही गरौँ भन्ने सोंच राख्ने आँटिली स्वभावकी थिइन् । साथै, हरेक कुरामा सौखिन पनि । उनी सानै उमेरदेखि सवारीसाधनहरुमा धेरै चासो राख्थिन् ।

बाल्यावस्थामा दाङमा हुँदा त्यहाँका मान्छेहरु निजी गाडीमा सयर गरेको देख्दा वली त्यतिबेलै आफ्नो भविष्यको सपना देख्थिन् कि आफू पनि ठूलो भएपछि यस्तै गाडी किन्छु अनि आफ्नो आमाबुबा र साथीभाईहरुलाई गाडीमा राखेर हिँड्छु । त्यो त केवल एउटा बचपनको कल्पना थियो ।

तिनै कल्पनाको तुना बुन्दै गायिका वली साइकलको घण्टी बजाउँदै दाङमा डुल्थिन् । उनी सानैदेखि साइकल चलाउन एकदमै सिपालु थिइन् । वली भन्छिन्– बाल्यकालमा मैले जति साइकल त कसले गुडायो होला र ।

साइकलपछि स्कुटर
२०४२ सालतिरको कुरा हो, वली खेलकुद कार्यक्रममा भाग लिनका लागि विरगञ्ज गएकी थिइन् । त्यहाँ उनलाई खाजा खानका लागि दिइएको करिव १२ सय रुपैयाँ जति पैसा थियो । त्यो पैसाले विरगञ्जबाट आफूले साइकल किनेर ल्याएको वली बताउँछिन् ।

यही क्रममा उनी ०४९ सालमा काठमाडौं आएर बस्न थालिन् । यसै बीचमा उनले ०५० सालबाट रेडियो नेपालमा काम पनि सुरु गरिन् । त्यो बेलामा उनीसँग सवारी साधन कुनै पनि थिएन ।

त्यसो त आफू टेम्पो अनि बसमा आवतजावत गर्ने गरेको बताउँछिन् । यही बीचमा वलीको व्यस्तता बढ्न थाल्यो । उनलाई कुनै न कुनै सवारी साधनको खाँचो प¥यो । २ वर्षजति सार्वजनिक यातायातमा आवतजावत गर्ने वलीले ०५२ सालमा काइनेटिक स्कुटर किनिन् । पहिले नै साइकल चलाउन सिपालु भएकाले आफूलाई स्कुटर चलाउन खासै समस्या नपरेको वलीको अनुभव छ ।

२०६० सालमा स्यान्ट्रो कार
मानिस जति सफलता हासिल गर्दै जान्छ त्यसैगरि उसका आवश्यकताका सिँढी पनि थपिँदै जान्छन् । रेडियो पत्रकारिता र गीत–संगीत क्षेत्रमा पाइला चालेकी वलीले सफलता प्राप्त गर्दै गइन् । यो सँगै उनका आवश्यकताले पनि काँचुली फेर्न थाले । त्यही आवश्यकता र बच्चैदेखिको उनको एउटा सपना पनि थियो । त्यो सपना आखिर पछि आवश्यकतामा परिणत भयो ।

स्यान्ट्रो कार खरिद गरेपछि उनी सोही गाडीमा दाङ गएकी थिइन् । आफ्नो गाडीमा पहिलो लामो यात्रा त्यही भएको वली बताउँछिन् ।

त्यो आवश्यकता थियो निजी कारमा सयर हुने । उनको त्यो धोको २०६० सालमा आएर पुरा भयो । करिव ८ वर्ष सयर गरेको त्यो स्कुटरलाई थन्क्याएर वलीले हुन्डाइको स्यान्ट्रो कार खरिद गरिन् । रेडियो पत्रकारिता र गायन क्षेत्रमा सक्रिय रहेकी वलीले त्यतिबेलासम्म विभिन्न देशको सांगीतिक यात्रा पनि गरिसकेकी थिइन् । तिनै कार्यक्रमबाट आएको पैसा उनले गाडी किन्नकै लागि जम्मा गरेर राखेकी थिइन् । त्यो बेलामा उनीसँग ५० हजार रुपैयाँ थियो ।

उनले एकदिन पत्रपत्रिकामा हुन्डाइको स्यान्ट्रो कारको विज्ञापन देखिन् । त्यसपछि उनी स्यान्ट्रो कार खरिद गर्न हुन्डाई सोरुम नागपोखरी गइन् । पहिले नै गाडी चलाउन सिकिसकेकी वलीले त्यहाँ गएर पहिले गाडीको टेस्ट ड्राइभ गरिन् ।

उनलाई स्यान्ट्रो गाडी एकदमै मनप¥यो । त्यसपछि उनले उक्त गाडी ५० हजार डाउनपेमेन्ट गरेर नबिल बैंकको लोनमा गाडी बुकिङ गरिन् । त्यतिबेला त्यो सोरुममा गाडी सकिएको कारण बुकिङ गरेको ४ महिनापछि मात्र उनको घरमा गाडी आइपुग्यो । तर, घरमा गाडी आउने बेलामा उनी नेपालगञ्जको एउटा कार्यक्रममा गएकी थिइन् । त्यो बेलामा घरमा गाडी आएको खबर सुनेपछि खुशीले नेपालगञ्जमै नाचेको अनुभव वली सुनाउँछिन् ।

विज्ञापन हेरेर स्यान्ट्रो खरिद गरेकी वलीका लागि त्यो कारको बारेमा खासै जानकारी थिएन । जब उनी स्यान्ट्रो कारमा राजधानीका सडकमा हुँइकिन थालिन् त्यसपछि त्यो गाडीको थुप्रै पक्ष मनप-यो ।

भन्छिन् स्यान्ट्रो किनेर एकदमै राम्रो गरेछु । आफूलाई स्यान्ट्रोको मनपरेको विशेषता सुनाउँदै वली भन्छिन्– स्यान्ट्रो आफैँमा एउटा फेमिली कार हो । हाइट पनि राम्रो थियो । एसी पनि थियो । अनि त्यो बेलाको काठमाडौँको सडकका लागि उपयुक्त थियो । साथै सर्भिसिङ गर्न र पार्ट्स फेर्नका लागि सस्तो थियो ।

स्यान्ट्रो कार खरिद गरेपछि उनी सोही गाडीमा दाङ गएकी थिइन् । आफ्नो गाडीमा पहिलो लामो यात्रा त्यही भएको वली बताउँछिन् ।

१० वर्षपछि हुन्डाई आइ टेन
यसरी १० वर्षसम्म स्यान्ट्रो चढेपछि वलीलाई गाडी फेर्न मन लाग्यो । उनलाई त्यो गाडी अलि पुरानो लाग्न थाल्यो । उनले आफूसँग रहेको स्यान्ट्रो गाडीलाई डेन्टपेन्ट गरेर राम्रो बनाइन् । त्यसपछि त्यो गाडीलाई उनले ८ लाखमा बिक्री गरिन् ।

आफूसँग भएको गाडी बेचेपछि उनलाई तुरुन्त अर्को गाडीको आवश्यकता प-यो । उनले कुन चाहिँ गाडी किन्ने भनेर आफ्नो छोरासँग सल्लाह लिइन् । छोरा भन्नाले उनकी बहिनी प्रज्ञाको छोरा । उनका ती छोरा चाहिँ गाडीहरुको बारेमा जानकारी राख्थे । त्यसो हुनाले वलीलाई तिनै छोराले हुन्डाई आइ टेन गाडी किन्न सुझाव दिए ।

त्यसपछि उनीहरु हुन्डाई सोरुममा गाडी हेर्नका लागि गए । त्यही बीचमा उनले २०७० सालमा २१ लाख रुपैंयाँमा हुन्डाइ आई टेन गाडी खरिद गरिन् । त्यो गाडी आपूmले पुरै पैसा भुक्तानी गरेर लिएको वली बताउँछिन् । त्यो गाडी किनेपछि वलीले दाङ, धनगढी, नेपालगञ्ज लगायतका ठाउँको लामो यात्रा गरिन् । यसरी हुन्डाई आई टेनमा यात्रा गर्न निकै आरामदायी रहेको उनको अनुभव छ ।

गाडीको सुरक्षामा ध्यान दिन्छु
वली गाडीको सुरक्षामा पनि त्यत्तिकै ध्यान दिन्छिन् । उनी भन्छिन्, ‘लामो दुरीको यात्राका लागि निस्किएँ भने जहाँ पुग्छु त्यहाँ रहेको सर्भिस सेन्टरमा गएर गाडीको सबै पार्ट्स चेक गर्छु अनि मात्र अघि बढ्छु ।’ साथै सम्भव भएसम्म हुन्डाईकै सर्भिस सेन्टरमा गाडीको सर्भिसिङ गर्ने गरेको उनको भनाइ छ ।

हुन्डाई आइ टेनको मनपर्ने विशेषता
हुन्डाई आइ टेनमा यात्रा गर्न आरामदायी रहेको वली सुनाउँछिन् । उक्त गाडी स्यान्ट्रोभन्दा हेभी भएकाले चलाउदा आनन्द आउने वलीको अनुभव छ । साथै गाडी अलि ठूलो भएकाले धेरै जना पनि अटाउन सकिन्छ । माइलेज पनि राम्रो दिने वली बताउँछिन् । साथै लुक्स राम्रो अनि पार्किङका लागि पनि सजिलो भएकाले आफूलाई यो गाडी मन परेको उनी बताउँछिन् ।

तर हुन्डाई आइ टेनमा कहिलेकाहिँ ब्रेक नलाग्ने समस्याले भने वलीलाई हैरान बनाएको छ । उनी भन्छिन् – ब्रेक नलागेर दुईतीन पटक त ठोक्किनबाट बालबाल बाँचेकी छु, यहि कारणले गर्दा डराईडराइ गाडी चलाउँछु ।

राजनीतिक प्रयोजनका लागि स्कर्पियो
वली राजनीतिमा पनि सक्रिय छिन् । उनी राष्ट्रिय सभा सदस्य पनि हुन् । जसले गर्दा उनलाई एउटा अर्को गाडीको पनि आवश्यकता भयो । त्यसैले उनले गत मंसिरमा एउटा स्कर्पियो खरिद गरिन् । उनको त्यो गाडी हाल दाङमा छ । आफू दाङ गएको बेलामा चलाउने गरेको वली बताउँछिन् ।

उनले त्यो गाडी बैंकको लोनमार्फत ५० लाखमा खरिद गरेको जानकारी दिइन् । उक्त गाडी आफूले राजनीतिक प्रयोजनका लागि प्रयोग गर्ने बली बताउँछिन् ।