tvs-race

सञ्जिव देउजा शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रालिका केस डिभिजनका बिजनेस हेड हुन् । जगदम्बा कन्स्ट्रक्सन सोलुसनका केसका हेभी इक्विपमेन्ट उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा जुमलाइन ब्रान्ड समेत यसै अन्तर्गत आएको छ । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी :

केसको पछिल्लो बजार अवस्था कस्तो छ ?
पछिल्लो वर्षमा ब्याकहो लोडर र कम्प्याक्टर जस्ता इक्विपमेन्टमा हाम्रो बजार बढेको छ । कम्प्याक्टरमा पहिले देखि नै हामी लिडर हौं । अहिले पनि छौ । ब्याकहो लोडरमा पनि बजार हिस्सा बढिरहेको छ । तर पछिल्लो एक दुई महिना यता बजार अलि कमजोर भएको छ । स्थानीय स्तरमा हेभी इक्विपमेन्टको प्रयोग गर्न नसकिने व्यवस्था, निर्माण व्यवसायीहरुको समयमा भुक्तानी नभएको व्यवस्था र ठूला प्रोजेक्टहरुको टेन्डरको नतिजा सार्वजनिक नभइसकेका आदि कारणले यसमा प्रभाव पारेको छ । सरकारी निर्माण प्रक्रिया कुन सरकारले हेर्ने भन्नेमा अन्यौल भएको कारणले पनि असर परेको छ ।

नेपालमा मेसिनहरु धेरै आयात भएकाले पनि समस्या आएको भनिन्छ नि, यसमा तपाईंको के धारणा छ ?
छोटो सोच भएकाहरुले मात्र यस्तो धारणा राख्छन् । नेपालको अवस्था हेर्ने हो भने अहिले भन्दा ५ गुणा बढी मेसिन आवश्यक छ । छिमेकी देश चीन र भारतमा भएको विकासलाई हेर्दा पनि धेरै कुराको अनुमान लगाउन सकिन्छ । कुनै पनि विकास निर्माण कार्यका लागि यस्ता मेसिनहरु आवश्यक पर्छन् । पुल, सुरुङमार्ग आदि बनाउनु पर्ने आवश्यकता छ । यसका लागि कुटो कोदालोले खनेर सकिदैन । ८३ हजार मेगावाट विद्युत निकाल्न सकिने सम्भावना छ । पर्यटन विकासका लागि सडक निर्माण गर्नुपर्ने आवश्यकता छ । जिल्लालाई जोड्नका लागि आवश्यक सडकको विकास र स्तरोन्नति गर्नुछ । त्यसैले दूरदर्शिता अपनाउनु आवश्यक छ । मेसिन धेरै भएका होइनन्, ती मेसिनलाई उपयोगमा ल्याउने सोचको अभाव भएको हो ।

हेभी इक्विपमेन्ट भन्नासाथ ब्याकहो लोडर र एस्काभेटर जस्ता केही उपकरण मात्र सम्झिने गरिन्छ । तर यसका धेरै रेन्ज छन् । यो अवस्थामा अन्य रेन्जलाई समेत उपयोगमा ल्याउनका लागि के गर्नुपर्ला ?
सामान्यतः ८ टन भन्दा माथिका निर्माण उपकरणलाई हेभी इक्विपमेन्ट भनिन्छ । यसको आधारमा ब्याकहो लोडर पनि हेभी इक्विपमेन्टमा पर्दैन । एस्काभेटर, लोडर, ग्रेडर, रोलर, क्रेन आदि पर्छन् । विदेशमा धेरै टनका उपकरण प्रयोग गरिन्छ । नेपालमा भने त्यति धेरै प्रचलन छैन ।

सरकारले निर्माण व्यवसायीहरु समन्वय गरेर काम गर्नु आवश्यक छ । देशका विभिन्न विकास आयोजनाका लागि यस्ता इक्विपमेन्ट आवश्यक छन् र त्यसको उपयोगको योजना निर्माण व्यवसायीहरुबाट होस् भन्ने उद्देश्यका साथ छलफल हुनुपर्छ । तर त्यस्तो हुन सकेको छैन । सरकारले आफ्नै तरिकाले टेन्डर निकाल्छ । दोष एक अर्कालाई लगाउने प्रवृत्ति मात्र छ । अथाह सम्भावनालाई पहिल्याई मिलेर काम गर्नु आवश्यक छ ।

राज्य वा निर्माण व्यवसायीहरुको कमजोरी होला । तर आयातकर्ताको हिसाबले तपाईंहरुको पनि केही भूमिका हुन सक्छ नि ?
पक्कै हुन्छ । तर पनि हामीले गर्दा त्यो व्यावसायिक मात्र हुन्छ । जस्तो कि हामीसँग अहिले जुमलाइनको सय, डेढ सय टनको क्रेन छ । यसको प्रयोग गरी विकास कार्यमा सहयोग पु¥याउन सकिन्छ भनी जानकारी प्रदान ग¥यौ भने मेसिन बेच्नका लागि मात्र त्यसो गरेको भन्ने बुझाई हुन्छ । यत्रो क्रेन किन भन्ने हुन्छ । हामी त बीचको माध्यम मात्र हौं ।

केसको बजार हिस्सा बढिरहेको भन्नुभयो । आगामी सम्भावना कस्तो छ ?
हो, सन् २०१६ र २०१७ मा केसको बजार बढ्दै गएको थियो । २०१८ मा त्यति धेरै राम्रो भएन । अब अहिलेको ट्रेन्ड हेर्दा २०१९ मा पनि त्यति धेरै राम्रो होला जस्तो लाग्दैन ।

स्थानीय निकायहरुले पनि मेसिन किन्ने ट्रेन्ड बढिरहेको छ । यसले गर्दा झन् बजार बढ्ने होइन र ?
स्थानीय निकायका जनप्रतिनिधिहरुले आफै नै योजना बनाउने र मेसिन पनि आफै किनेर प्रयोग गर्न थाले । यसले गर्दा काम देखिए पनि प्रतिफल राम्रो आएको छैन । अनुभवी र मेसिन चलाइरहेका मानिसहरुको कमी भयो ।

त्यही विकृति रोक्नका लागि पनि नीति आएको हो कि ?
होइन, त्यसका लागि आवश्यक अनुगमन हुनुपर्छ । टेन्डर गरेर प्रतिस्पर्धाका आधारमा गर्नु आवश्यक छ । सरकारी नियम पालना हुनुपर्छ ।

प्रतिस्पर्धा बढिरहेको छ । यो अवस्थामा केस नै रोज्नु पर्ने कारण के ? यसका युनिक फिचर के छन् ?
बीचमा बजार राम्रो हुँदा हाल धेरै ब्रान्ड पनि भित्रिरहेका छन् । तर पनि कति लामो समय टिक्ने र सेवा दिने भन्ने कुरा ठूलो हो । आगामी दिनमा समेत राम्रो सर्भिसिङ पाइन्छ कि पाइदैन भन्ने कुरामा ग्राहकको ध्यान जानु आवश्यक छ । पार्ट्स समयमै र जुनसुकै स्थानमा पाइन्छ कि पाइदैन भन्ने कुरामा ध्यान दिनु पर्छ । ट्रयाक्टर बेचे जसरी ब्याकहो लोडर बेचेर दीर्घकालीन व्यवसाय हुँदैन । त्यसैले दूरदर्शी भिजन राखेर आएको भए ठिक हुन्छ । त्यसैले ब्रान्डका साथै आयातकर्ता कम्पनीको विश्वसनियतालाई पनि ध्यान दिनु आवश्यक छ । हामीसँग ती सबै विश्वसनियता छ ।

बिक्री पछिको सेवा कसरी उपलब्ध गराइरहुन भएको छ ?
हाम्रा मेसिनहरु देशका दुर्गम स्थानहरुमा समेत कार्यरत छन् । कुनै समयमा ती मेसिन बिग्रिए भने नजिकको केन्द्रबाट सेवा उपलब्ध गराउने गरेका छौ । फोन गरेको करिब तीन चार घण्टाकै अवधिमा सेवा उपलब्ध गराउने प्रयास गर्छौ । एकै स्थानमा केही बढी संख्या अर्थात करिब १०/१२ मेसिन उपलब्ध छन् भने त्यही नै प्राविधिक राख्ने गरेका पनि छौ । प्राविधिकलाई नै निश्चित संख्याका मेसिन सर्भिसिङको जिम्मेवारी दिने गरेका छौ । २४सैं घण्टा सेवा प्रदान गर्ने गरी कार्य गरिरहेका छौ ।

मेसिन बढ्दै गएका छन् । तर यसका अपरेटरहरुको अभाव भने सधै छ । यसका लागि आयातकर्ताको हिसाबले तपाईंहरुले कस्तो भूमिका खेल्नुभएको छ ?
हामीले यसका लागि छुट्टै तालिम केन्द्रको स्थापना त गरेका छैनौ । तर पनि अनौपचारिक रुपमा यस्ता मेसिन चलाउन सिकाउने व्यवस्था गरेका छौं । कसैले मेसिन किन्न रहर ग¥यो र अपरेटर छैन भने बस्ने, खाने व्यवस्था सहित त्यस्ता मेसिन चलाउन सिक्नका लागि आवश्यक व्यवस्था मिलाउछौ । कतिपय अलि हेभी खाले इक्विपमेन्ट चलाउनका लागि नेपाल बाहिरबाट समेत प्रशिक्षक बोलाएर तालिम दिने समेत गरेका छौ ।

पछिल्लो समयमा भित्र्याउनु भएको जुमलाइन ब्रान्डको वारेमा पनि केही जानकारी दिनुस् न
जुमलाइन चाइनिज कम्पनी हो । विशेष गरी क्रेन र कंक्रिट इक्विपमेन्टमा यसले अन्तर्राष्ट्रिय रुपमै ब्रान्ड पहिचान कायम गरिसकेको छ । फाउन्डेसन मेसिनहरुका लागि पनि यो लोकप्रिय छ । नेपालमा भर्खरै पाइलिङ इक्विपमेन्ट उपलब्ध छ । तर कम्पनीसँग ठूला ठूला पाइलिङ इक्विपमेन्ट समेत उपलब्ध छन् । जुमलाइनले सबै एक्सपोर्ट क्लालिटीका इक्विपमेन्ट उत्पादन गर्छ । भारत वा नेपालका लागि फरक भन्ने हुँदैन । सबै एउटै गुणस्तरका हुन्छन् । चीन र अन्य देशका लागि सबै एउटै हुन्छन् । एउटा स्ट्यान्डर्ड अनुसार निर्माण हुन्छन् ।

कंक्रिट इक्विपमेन्ट देखि लिएर क्रेन, टावर क्रेन, अर्थमुभिङ इक्विपमेन्ट, फायर फाइटिङ इक्विपमेन्ट, फोर्कलिफ्ट इक्विपमेन्ट र मेटरियल ह्यान्डलिङ जस्ता जति पनि कन्स्ट्रक्सन क्षेत्रका लागि आवश्यक सबै इक्विपमेन्टका रेन्ज उपलब्ध छन् ।

अन्त्यमा थप केही भन्नु छ कि ?
हेभी इक्विपमेन्टको आयु सामान्यतः ६ वर्ष हुन्छ । नेपालको सन्दर्भमा भन्दा १० वर्ष जति हुन सक्ला । विश्वका विकसित देशमा समेत हेभी इक्विपमेन्टको आवश्यकता बढ्दै छ भने हाम्रो देशमा त झन् नहुने कुरै भएन । त्यसैगरी स्तरीय सर्भिस दिन सकेमा ग्राहक सन्तुष्ट हुन्छन् । पहिले काठमाडौंबाटै देशभरी कम्पनीले सेवा उपलब्ध गराउने गरेकोमा हाल सबै स्थानमा मेसिन पुगेका छन् । तर गुणस्तरको वारेमा धेरैको ध्यान पुगेको छैन । ग्राहकले पनि सबै कुरामा बिचार गरी ब्रान्ड पहिचान कायम गरी मेसिन किन्ने निर्णय गर्नु आवश्यक छ ।