BMW Dashain offer
tvs-race

ठाकुरप्रसाद न्यौपाने
अध्यक्ष, नेपाल अटो मेकानिक्स व्यवसायी संघ

ठाकुरप्रसाद न्यौपाने नेपाल अटो मेकानिक्स व्यवसायी संघका नवनियुक्त अध्यक्ष हुन् । गत मंसिर १५ मा सम्पन्न संघको नवौं अधिवेशनले न्यौपानेलाई निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । यो भन्दा पहिले उनी संघको महासचिवको रुपमा कार्यरत थिए ।

यसै सन्दर्भमा संघको विगत, वर्तमान गतिविधि र आगामी योजनाका वारेमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाई लामो समयदेखि नै मेकानिक्स संघमा आवद्ध हुनुहुन्थ्यो । हाल यसको नेतृत्वमा आउनु भएको छ । कस्तो अनुभूती भएको छ ?

नेतृत्वमा आउदा जिम्मेवारी बढ्नु त स्वाभाविकै हो । तर पनि म अध्यक्ष भए, नेतृत्वमा आए भनेर त्यस्तो नौलो अनुभूती भने भएको छैन । धेरै बर्षसम्म महासचिवको जिम्मेवारी लिएर काम गरेको भएर पनि त्यसो भएको होला । हाम्रो संघमा पहिले देखि नै अध्यक्ष, महासचिव लगायतका अन्य साथीहरु समेत सबै मिलेर जे पनि छलफलमा ल्याएर कार्य गर्ने संस्कार छ ।

त्यतिवेला पनि कतिपय विषयवस्तुको उठान म बाट पनि हुन्थ्यो र कार्यान्वयन पनि हुन्थ्यो । त्यसैले अहिले म अध्यक्ष भए, म ठूलै मान्छे बने, जिम्मेवारी बढ्यो भन्ने लागेको छैन । तर पनि कता कता अलि भार बढेको हो कि ? जिम्मेवारी बढेको हो कि ? भन्ने लाग्दो चाहिं रहेछ । पहिले कुनै समस्या आउदा पनि अध्यक्षलाई भनेर गरौला भन्ने हुन्थ्यो । सल्लाह लिइन्थ्यो । तर अब एक प्रकारले सल्लाह दिनुपर्ने भएको छ । यो अवस्थामा अलिकति गहन जिम्मेवारी थपिएको अनुभव चाहिं हुँदो रहेछ ।

यद्यपि अहिले पनि पूर्व अध्यक्षहरुसँग सल्लाहमै काम गरिरहेका छौ । यो अवस्थामा हामी विभिन्न समस्याहरुसँग जुधिरहेकाले पनि मिलेर काम गरिरहेका छौ । त्यसैले धेरै बोझ हुन्छ कि ? उठ्नै नसकिने गरी अप्ठ्यारो हुन्छ कि भन्ने डर भने छैन । तर अरुले जिम्मेवारी बढ्यो भन्दा हो, बढेको छ जस्तो लाग्दो चाहिं रहेछ ।

तपाई पहिले पनि पोर्टफोलियोमै भए तापनि समाधान हुन नसकेका धेरै समस्याहरु अहिले पनि छन् । यो अवस्थामा आगामी दिनमा ती समस्या समाधान हुन्छन् भन्ने धेरैको अपेक्षा पनि छ । सो अपेक्षालाई कसरी सम्बोधन गर्नु हुन्छ ?

हो, समस्या धेरै छन् । समस्या पहिले पनि थिए । तर ती देखिने गरी आएका थिएनन् । अब भने देखिने गरी त्यस्ता समस्या आएका छन् । ती समस्या समाधान हुनु पर्छ भन्ने मान्यता राखेर नै नेतृत्वमा आएको पनि हुँ । हाल ती समस्यालाई वर्गीकरण गरी कुनलाई पहिले समाधान गर्ने भनेर योजना बनाइरहेका छौ । धेरै हद सम्म ती समस्या समाधान हुन्छन् भन्ने विश्वास पनि छ ।

समस्याहरु धेरै छन् । तर हाल देखिएका मूख्य समस्याहरु के के हुन् ?

हाम्रा लागि हाल मूख्य समस्या भनेको व्यवसाय गर्नका लागि स्थान अभाव हो । यसका लागि विभिन्न स्थानमा अटोल्यान्डको निर्माण भयो भने हामी स्थायी रुपमा काम गर्न सक्छौ भन्ने हाम्रो मान्यता छ । पछिल्लो समयमा जग्गाको अभाव, जग्गाको खरिद बिक्रीमा भएको वृद्धिका कारण जग्गाको मूल्यमा भएको वृद्धिका कारण यसको सम्भावनामा कमी आएको छ । अर्को कुरा व्यवसाय गर्नका लागि स्थान भाडामा पाउन समस्या छ । पाइहाले पनि बिना एग्रिमेन्ट त्यस्ता स्थान उपलब्ध गराउने भएकाले बीचमा जुनसुकै समयमा पनि हटाउने समस्या देखिएको छ । त्यसैगरी महानगरपालिका र नगरपालिकामा वातावरण संरक्षण गर्नु पर्ने आवाज उठिरहेको र वर्कसपकै कारण वातावरण बिग्रेको भन्ने मान्यता समेत भएकाले हाल सबै समस्याको समाधानका लागि अटोल्यान्ड नै एक मात्र बिकल्प बनेको छ । त्यसपछि अटोल्यान्ड निर्माणका लागि समस्या पनि धेरै छन् ।

मेकानिक्सहरुको राज्यप्रति दायित्व के छ र राज्यले मेकानिक्सहरुलाई दक्ष बनाउनका लागि के के गर्नु पर्छ भन्ने अन्य तपशीलका कुरा हुन् । यद्यपि हालको मूख्य लक्ष्य नै अटोल्यान्ड हो । अटोल्यान्ड नभएमा यो पेशा र व्यवसायबाट विस्थापित हुनु पर्ने सम्भावना पनि धेरै छ ।

कतिपय क्षेत्रमा यस्ता समस्या देखिइसकेका छन् । त्यसैले हाल यस्ता मूख्य समस्या समाधानका लागि वर्तमान नेतृत्व लाग्नु पर्ने आवश्यकता देखिएको छ ।

अटोल्यान्डको कुरा त गर्नुभयो । तर पहिले स्थापना भएका अटोल्यान्डमा पनि व्यवसायीहरु बीच समन्वय हुन नसक्दा राम्रोसँग सञ्चालन हुन नसकेको उदाहरण पनि छन् । यो अवस्थामा संघले आगामी दिनमा कसरी कार्य गर्छ ?

हो, नेपालकै पहिलो अटोल्यान्ड बुटवलको मैनाबगरस्थित अटोल्यान्ड हो । त्यतिबेला अटोल्यान्ड चाहिन्छ भनेर म, महेश बज्राचार्य, दीपक खड्का र कृष्ण गिरी सहितको संघको टोलीले बुटवलका व्यवसायीहरुलाई सहमत गराउन भूमिका खेलेका थियौं ।

पछि महासंघले यसमा अगुवाई ग¥यो । त्यो बेला हामी बुटवलमै बसेर तत्कालीन मेयर सूर्यप्रसाद प्रधान, भोजप्रसाद श्रेष्ठ लगायतका अन्य सम्बन्धित ब्यक्तिहरुसँग वार्ता गरेर ‘बुटवललाई साँच्चिकै सुन्दर र सफा राख्ने हो भने एकै स्थानमा अटोल्यान्ड बनाउनु पर्छ’ भन्ने कुरा हामीले बुझायौं । त्यसपछि नै मैनाबगरमा जग्गा उपलब्ध भयो ।

यद्यपि त्यसपछि यसको व्यवस्थापन गर्ने कार्यमा भने धेरै कमी कमजोरी रहे । हाल पनि सो क्षेत्रमा वर्कसप र होटल लगायत अन्य सबै पक्षलाई कसरी व्यवस्थित गर्ने भनेर साथीहरु लागिरहनु भएको छ । हाल पनि यहाँ विभिन्न पेशा र व्यवसायलाई मर्यादित गराउन सबै पक्षलाई मान्य हुने गरी व्यवस्थित गर्ने कार्य भइरहेको छ । आशा गरौ, छिट्टै नै थप व्यवस्थित भएर उक्त अटोल्यान्ड उदाहरणीय बन्ने छ ।

हाल बुटवलको कमी कमजोरी देखेर घोराहीको अटोल्यान्ड थप सुधारका साथ अगाडि बढिरहेको छ । घोराही भन्दा तुलसीपुरले थप सुधार गरेको छ । यो वर्ष चितवनको नारायणगढमा पनि बन्दै छ । काठमाडौंमा पनि यसको तयारी भइरहेको छ । एउटा वर्कसप, मोटर पार्ट्स आदिका लागि कस्तो व्यवस्था हुनु पर्छ र कति क्षेत्रफल चाहिन्छ ? क्यान्टिन, प्राथमिक उपचारका लागि आवश्यक स्थान सबै समेट्ने गरी एउटा कन्सेप्ट पेपर बिज्ञहरुको संलग्नतामा तयार हुँदैछ । सो कन्सेप्ट पेपरलाई आगामी नयाँ वर्षसम्ममा तयार गरी सरकार वा स्थानीय सरकार सामू प्रस्तुत गर्ने हाम्रो योजना छ । यसका आधारमा ‘हामी पनि राष्ट्र निर्माणका लागि योगदान गर्न सक्छौ, यसका लागि हामीलाई उपयुक्त स्थान र अन्य व्यवस्था गरियोस्’ भनी हामी माग गर्नेछौ ।

तपाईहरुले अटो मेकानिक्स व्यवसायी संघ अन्तर्गत रहेर कार्य गरिरहनु भएको छ । तर काठमाडौं उपत्यकामा मात्र पनि यस्तै अन्य संघ संस्था पनि धेरै छन् । सबैलाई समेटेर अगाडि बढ्ने वारेमा के योजना बनाउनु भएको छ ?
हामी यस्तो व्यवसाय सञ्चालन गरिरहेका छौ, जुन कुनै ठूलो उद्योग होइन । ठूलो उद्योग भएको भए व्यवसायीको अनुपस्थितिमा पनि आफै सञ्चालन हुन्थ्यो । तर हाम्रो व्यवसाय भनेको आफ्नो उपस्थितिमा मात्र चल्ने व्यवसाय प¥यो । आफ्नो उपस्थिति नभएमा ग्राहक सन्तुष्टीमा कमी आउने हुन्छ ।

यसले गर्दा पनि हामी धेरै समय आफ्नो व्यवसायलाई र थोरै समय मात्र संघलाई दिन बाध्य छौ । यसले गर्दा सबै व्यवसायीहरुलाई समेट्न सकेका छैनौ । बीचमा द्वन्द्वको कारण पनि विभिन्न अवरोध भए । कतिपय साथीहरु आफ्नै चाहना र बाध्यताका कारण पनि समेटिन नसक्नु भएको हो ।

यद्यपि जति पनि संघ संस्था खुलेका छन्, विशुद्ध व्यावसायिक छन् । कुनै राजनीतिक पार्टीप्रति आस्थावान छैनन् । यसले गर्दा सबैको लक्ष्य एउटै छ । यद्यपि सबैलाई समेटेर अगाडि बढ्नु पर्छ भन्ने वारेमा छलफल भइरहेको छ । यसका लागि राज्यले हामीलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन ल्याउनु आवश्यक छ । राज्यले मेकानिक्सलाई सम्मान गर्ने परिपाटीको विकास ग¥यौ भने हामीप्रति पनि सबै मेकानिक्सहरुको आकर्षण हुन्छ । यसका लागि सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने मान्यताका साथ कार्य गर्ने योजना बनाइरहेका छौ ।

राज्यले ध्यान नदिएको भन्नुभयो । तर पछिल्लो समयमा स्वरोजगारका लागि आवश्यक व्यवस्था गर्ने गरी सरकारले पनि कार्य गरिरहेको छ । यसले गर्दा हामीमा पनि केही कमजोरी भएको हो कि ?

राज्यलाई हामीले कुरा बुझाउन नसक्नु आफैमा पनि हाम्रो कमजोरी हो । यसलाई मान्नु पर्छ । यो पेशा र व्यवसायले आफैमा स्वरोजगार बनाएको छ । यद्यपि नारा भन्दा स्वरोजगार दिने पेशा र व्यवसायलाई वर्गीकरण गरी आवश्यक व्यवस्था गर्नु आवश्यक छ । बेरोजगार युवाहरुलाई केही तालिम प्रदान गरी यसमार्फत स्वरोजगार बनाउन सकिन्छ ।

भारतबाट आएका ब्यक्तिहरु समेत यो क्षेत्रमा कार्यरत छन् । त्यसैले यो क्षेत्रमा स्वरोजगार हुन सकिने धेरै सम्भावना छ । यसका लागि हामीले सीटीईभीटी, स्वीस प्रोजेक्ट हेल्भेटास आदिसँग पनि यसका वारेमा छलफल गर्ने योजना बनाएका छौ ।

राज्यले पछिल्लो अवस्थामा सामाजिक सुरक्षाको कार्यक्रम पनि ल्याएको छ । कतिपय वर्कसपहरु विना दर्ता पनि सञ्चालन भइरहेका छन् । यो अवस्थामा सबैलाई समेट्नका लागि कस्तो तयारी गरिरहनु भएको छ ?

हामीले केही समय अघि अटो मेकानिक्स व्यवसायी महासंघको बैठकमा पनि यस वारेमा छलफल गरेका थियौं । म आफै पनि महासंघको महासचिव भएको नाताले यसतर्फ भएका कार्यहरु वारेमा थाहा छ । हामीले यसका लागि सबैभन्दा पहिले व्यवसायीहरुलाई नै बुझाउनु आवश्यक छ । हाल दर्ता नभएका वर्कसपहरुलाई दर्ता प्रक्रियामा अगाडि बढाएर त्यसै अनुसार कार्य गर्ने गरी योजना बनाएका छौं ।

वर्कसप सञ्चालन निर्देशिका पनि आएको छ । यस वारेमा के धारणा छ ?

हामीले नै वर्कसपको वर्गीकरण गरियोस् भनेर पहिले देखि नै माग गरेका थियौं । संविधानमै यसको वारेमा व्यवस्था गरियोस् भनी सभामुखलाई ज्ञापन पत्र बुझाउने पनि हामी नै हौ । त्यसैले निर्देशिका आउनु आवश्यक थियो । त्यति मात्र होइन, एउटा वर्कसपका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न सकिन्छ । होटलको वर्गीकरण गरे जस्तै वर्कसपलाई पनि वर्गीकरण गर्न सकिन्छ । यस्तै प्रकारको वर्गीकरण वर्कसपको पनि गरियोस् भन्ने माग हामीले करिब २० बर्ष देखि नै राख्दै आएका हौं ।

तर निर्देशिका बनाउने समयमा विगत २५ वर्ष देखि वर्कसपसँग सम्बन्धित संस्थामै काम गरेको, बेला बेलामा समस्याहरु दर्शाउदै राज्यलाई घच्घच्याएको संस्थासँग एक पटक पनि छलफल नगरी निर्देशिका जारी गरियो । हामीले माग गरेका कतिपय कुरा समेटिएका छन् । तर धेरै समेटिएनन् । नेपालमा अटोमोबाइल इन्जिनियर कति छन् ? कहाँ छन् ? राज्यले खोजी गरिदिनु पर्छ । हाल निर्देशिका अनुसार वर्कसपमा अटोमोबाइल इन्जिनियर राख्नु पर्ने भनेको छ । त्यो कति सम्भव छ ? यस्तै धेरै समस्या सो निर्देशिकामा देखिएको छ ।

सबैभन्दा पहिले हालका अटो मेकानिक्स व्यवसायीहरु कसरी यो पेशामा आएका हुन् भन्ने पृष्ठभूमी बुझ्नु पर्छ । अन्य काम भन्दा यो पेशा सजिलो मानेर यसमा हामी आएका हौं । हामी ठूलो लगानी गर्न सक्दैनौ । तर पनि न्यूनतम पूर्वाधारका लागि आवश्यक लगानी त गर्नुपर्छ । ऋण लिएर भए पनि लगानी गर्न सक्छौ । तर बहालमा लिएका जग्गाहरु कति बेला छोड्नु पर्ने हो भन्ने थाहा छैन । यसको लागि आवश्यक ग्यारेन्टी हुनु प¥यो । त्यसैकारण नै हाम्रा लागि स्थायी रुपमा लगानी गर्ने वातावरण हुनुप¥यो भन्ने हाम्रो लामो समय देखिको माग हो ।

आश्वासन राम्रो आए पनि गहन रुपमा राज्य हाम्रो मागमा लागेको छैन । त्यसैले निर्देशिका र कानुन बने पनि वास्तविकतालाई मनन गरी व्यावहारिक रुपमा लाग्नु आवश्यक छ ।

संघ र महासंघ लगायतसँग बसेर छलफल गरी परिमार्जन गर्नु पर्ने आवश्यकता पनि छ । समस्यालाई इंगित नगरी ‘यस्तो व्यवस्था गरिएको छ’ भनी निर्देशिका लागू गर्नु पर्ने जरुरत थिएन । यसका लागि पनि हामी सम्बन्धित निकायसँग बसेर छलफल गर्नेछौ ।

हाल दुई तरिकाको वर्कसप सञ्चालन भइरहेका छन् । गाडी आयातकर्ता कम्पनीहरुले पनि आधिकारिक सर्भिस सेन्टरको नाममा वर्कसप सञ्चालन गरिरहेका छन् । यो अवस्थामा भोलिका दिनमा लगानी गर्न नसकी तपाईहरु जस्ता स्वतन्त्र रुपमा व्यवसाय गरिरहनु भएका व्यवसायीहरुलाई केही समस्या पर्ने हो कि ? यस वारेमा के छ धारणा ?

हो, हामी यस कुरामा गम्भीर छौ । तर उहाँहरुले मात्र नेपालमा उपलब्ध सबै सवारी साधनको मर्मत सम्भार गर्न सम्भव छैन । यही कुरालाई मनन गरी कतिपय कम्पनीहरुले हामीसँग मिलेर मेकानिक्सहरुलाई तालिम प्रदान गर्ने कार्यमा सहकार्य गरिरहनु भएको छ । उहाँहरुले अत्याधुनिक उपकरण प्रयोग गर्ने सम्भावना भने हुन्छ । यद्यपि हामीले सञ्चालन गरेका वर्कसपमा त्यस्ता उपकरण नहुने भने होइन । तर पनि वर्कसप राख्नका लागि स्थायित्व नभएकाले हामीले लगानी गर्न हिच्किचाउने सम्भावना भने हुन्छ ।

यसले गर्दा कतै हामीले लगानी गर्न हिच्किचाइ रहने र यसैका कारण ग्राहकलाई चित्त बुझाउन नसकी त्यही आधिकारिक वर्कसपमै जानु पर्ने बाध्यता पनि हुन सक्छ । यसकारण पनि अटोल्यान्डको आवश्यकता देखिएको हो । यद्यपि हाल पनि वारेन्टी अवधि भर सम्बन्धित कम्पनी आफैले र त्यसपछि हामीले त्यस्ता गाडी मर्मत सम्भार गर्न सक्छौ र यसका लागि बरु हामीलाई आवश्यकता अनुसारको तालिम पनि प्रदान गरियो्स भनी कतिपय कम्पनीहरुसँग सहकार्य समेत गर्दै आएका छौ ।

कुन कुन कम्पनीसँग यस्तो सहकार्य गर्नुभएको छ ?
सिप्रदी ट्रेडिङ र अन्य विभिन्न कम्पनीहरुले वर्कसपमै आएर समेत यस्ता तालिम प्रदान गरिरहेका छन् । अन्य कम्पनीहरुले पनि केही मात्रामा गरेको भए पनि सिप्रदीको अन्य भन्दा व्यवस्थित वर्कसप भएको र वाहिरका मेकानिक्सलाई समेत आवश्यकता अनुसारको तालिम प्रदान गरिरहेकाले यसलाई अग्रस्थानमा राख्न सकिन्छ ।

अटो मेकानिक्सहरु एक प्रकारले सवारी साधनको डाक्टर हुन् । तर पनि पार्ट्स र लुब्रिकेन्ट्स राख्ने क्रममा विभिन्न प्रलोभनका कारण गुणस्तरहीन सामग्री राख्ने गरेको पनि पाइन्छ । यस वारेमा तपाईहरुले संघमार्फत केही गर्नुभएको छ ?
हामीले गुणस्तरीय पार्ट्स र लुब्रिकेन्ट्सको प्रयोग गरेनौ भने यो पेशाप्रति गद्धारी गरेको ठहरिन्छ भन्ने हाम्रो मान्यता नै छ । यद्यपि कतिपय कारणले गलत ढंगले यस्ता सामानको प्रयोग भइरहेको छ । हामी गुणस्तरहीन सामग्री प्रयोग नगरौ, स्तरीय सेवा प्रदान गरौं भनेर सबैलाई सचेत गर्ने कार्य गरिरहेका छौ । यसैका कारण करोडौं मूल्यका गाडी कौडीको भाउमा बेच्न नपरोस् भन्ने हाम्रो मान्यता हुनुपर्छ । यसमा मेकानिक्सहरुको भूमिका धेरै हुन्छ भनेर विभिन्न चेतनामूलक कार्यहरु गरिरहेका छौ ।

अन्त्यमा थप केही भन्नु छ कि ?
हामी पहिले पनि आफै नेतृत्वमा भएकाले विगतका बाँकी कार्यलाई पुरा गर्ने तर्फ लाग्ने नै छौ । हाल हामीले अटो मेकानिक्सहरुलाई राज्यका सम्बन्धित निकायसँग जोड्न सकेका छैनौ । यसका लागि आवश्यक कार्य गर्नेछौ ।

वर्कसपहरुलाई अहिलेको बेथितिबाट हटाउदै वातावरणीय दृष्टिकोणले राम्रो वर्कसप निर्माण गर्न तथा व्यवस्थित रुपमा दर्ता प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्दै राज्यका निकायसँग एकाकार भएर अटो मेकानिक्स पेशा र व्यवसायलाई मर्यादित गर्नका लागि हामी निरन्तर रुपमा लाग्ने छौ ।