Apache Race Track Experience

कार निर्माता कम्पनी हुन्डाईले कार खोल्न र स्टार्ट गर्न सकिने डिजिटल की ल्याएको छ । डिजिटल कीलाई स्मार्टफोनको सहयोगले चलाउन सकिने छ ।

डिजिटल कीले कारसँग मिल्ने गरी राखिएको स्मार्टफोनलाई नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) प्रविधिको प्रयोग गरी पहिचान गर्छ र कारको ढोका खुल्छ ।

त्यसपछि स्मार्टफोनलाई सेन्टर कन्सोलमा रहेको वायरलेस चार्जिङ प्याडमा राखी ड्यासबोर्डको स्टार्ट÷स्टप बटन थिचेर आवश्यकता अनुसार चलाउन सकिने हुन्डाईले बताएको छ । यो सिष्टममार्फत चारवटा सम्म स्मार्टफोनलाई प्रोग्राम्ड गर्न सकिन्छ ।

यद्यपि यस प्रकारको डिजिटल की विकास गर्ने हुन्डाई पहिलो कम्पनी भने होइन । यो भन्दा पहिले टेस्लाले आफ्नो मोडल ३ कारका लागि पनि ब्लुटुथको प्रयोग गरी स्मार्टफोनलाई कीको रुपमा प्रयोग गर्न सकिने प्रविधि विकास गरिसकेको छ ।

टेस्लाको सो कारलाई स्मार्टफोन देखि करिब ३० फिट टाढादेखि प्रयोग गर्न सकिन्छ । हुन्डाईले भने करिब ४ सेन्टीमिटर टाढाबाट यसलाई प्रयोग गर्न सकिने बताएको छ ।

कार निर्माता कम्पनी बीएमडब्ल्यु र फक्सवागनले पनि यस्तै प्रविधिका लागि कार्य गरिरहेको बताइएको छ ।

स्मार्टफोनबाटै कार खोल्न वा चलाउन सकिने भयो भने अहिले जस्तो कार चोरी हुने समस्यामा कमी आउने धेरैले आशा गरेका छन् ।