tvs-race

हुन्डाईले अन्तर्राष्ट्रिय बजारका लागि २०२१ मोडलको इलान्ट्रा सार्वजनिक गरेको छ । यो सातौ पुस्ताको हुन्डाई इलान्ट्रा हो । आगामी सेप्टेम्बर देखि यो बजारमा बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

यो थर्ड जेनेरेसन के३ प्लेटफर्ममा आधारित छ । यसको डिजाइन हाल उपलब्ध मोडल भन्दा निकै नै फरक छ । यो फोर डोर कुपे कार जस्तो देखिन्छ । यसको लुक निकै नै बोल्ड र स्पोर्टी छ । यसको इन्टेरियर पनि पुरै नयाँ छ । यसबाट हुन्डाईले सानो कार सेगमेन्टमा पनि निकै नै राम्रो कार्य गरिरहेको प्रमाणित गरेको छ ।

फ्रन्ट लुक
नयाँ इलान्ट्रामा थ्रीडी क्यास्केड ग्रिल, स्वेप्टब्याक एलईडी हेडल्याम्प र स्लिम एलईडी डीआरएल छ । कारको बम्पर नयाँ छ र यो निकै नै सार्प देखिन्छ । यसको बोनटमा पनि सार्प क्यारेक्टर लाइन दिइएको छ ।

साइड र रियर लुक
कारमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल, स्लिक आउटसाइड रियर भ्यु मिरर र खास कुपे जस्तै रुफ लाइन दिइएको छ । पछिल्लो भागमा ट्राएंगुलर टेल लाइट छ, जुन एक एलईडी लाइट स्ट्रिपसँग जोडिएको छ । रियर बम्परको डिजाइन पनि निकै नै सार्प छ ।

इन्टेरियर र फिचर
यसको क्याबिन पनि पुरै नयाँ जस्तै छ । टप भेरिएन्टमा १०.२५ इन्चको दुई टचस्क्रिन दिइएको छ, जुन एउटा इन्स्ट्रयुमेन्ट क्लस्टर र अर्को टचस्क्रिन इन्फोटेनमेन्टका लागि हो । कारमा नयाँ मल्टी फंक्सन स्टेयरिङ ह्विल, ड्राइभर एटेन्सन मनिटरिङ सिष्टम आदि फिचर छन् । यसमा हुन्डाईको नयाँ ब्लुलिंक कनेक्टेड कार टेक्नोलोजी पनि छ । त्यसैगरी यसमा प्रिमियम साउन्ड सिष्टम र रियर भ्यु क्यामेरा जस्ता सानदार फिचर समेत छन् ।

पावर
हुन्डाईको नयाँ इलान्ट्रामा १.६ लिटर, ४ सिलिन्डर हाइब्रिड पेट्रोल इन्जिन छ, जसले १३७ बीएचपी पावर र २६४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी कारमा २.० लिटरको पेट्रोल इन्जिनको अप्सन पनि छ, जसले १४५ बीएचपी पावर र १७९ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीभीटी ट्रान्समिसन छ ।