Apache Race Track Experience

अहिले बजारमा इलेक्ट्रिक र हाइब्रिड कारको चर्चा निकै बढेको छ । यस्ता कार चर्चामा मात्र सीमित नभई सडकमा गुड्न समेत थालिसकेका छन् ।

इलेक्ट्रिक कारको कुरा गर्नुपर्दा त झन यो सरकारको पहिलो प्राथमिकतामा नै पर्न थालिसकेको छ । इलेक्ट्रिकको तुलनामा हाइब्रिड कार गुमनाम रहेपनि यसपालिको बजेटमार्फत यसको चर्चा एकाएक निकै बढेर गएको छ । हाइब्रिड कारको आयातमा ५० प्रतिशत भन्सार र अन्तशुल्क छुट दिने सरकारको नीतिका कारण यसको चर्चा एकाएक बढेर गएको हो ।

बातावरणमैत्री मानिने यस्ता कारको सुचीमा अहिले आएर हाइड्रोजन कार समेत थप भएको छ । कतिपय विकसित देशहरुमा यस्ता कार प्रयोगमा आइसकेका छन् भने कतिपय राष्ट्रले यो प्रविधिका बारेमा खोज तथा अनुसन्धान अघि बढाइरहेका छन् । हाइड्रोजन कारलाई इलेक्ट्रिक कारको विकल्पका रुपमा समेत हेर्न थालिएको छ । विश्वबजारमा अहिले हाइड्रोजन कार अनुसन्धानकै दायरामा रहिरहेको अवस्थामा नेपालमा भने एक कम्पनीले यो कार नेपाल भित्र्याउने तयारी थालेको छ ।

२०७७ सालको दशैंसम्ममा हाइड्रोजन कार भित्र्याउने नेपाली आयातकर्ता डीएसएम ग्लोबल कम्पनीले बताएको छ । उक्त कम्पनीले ग्रोभ ब्रान्डका हाइड्रोजन कार ल्याउन लागेको हो । १ किलो हाइड्रोजनबाट १ हजार २ सय किलोमिटरसम्म माइलेज दिने यी कार प्रदूषण तथा भाइब्रेशनमुक्त हुने बताइएको छ । शून्य उत्सर्जन (जिरो इमिशन) गर्ने हाइड्रोजन कार उत्पादक कम्पनी ग्रोभ हाइड्रोजन अटोमोटिभ कम्पनी लिमिटेडले डीएसएम ग्लोबल कम्पनीमार्फत नेपालमा तीन थरीका गाडी ल्याउन लागेको हो । ४० देखि ८० लाख रुपैयाँ पर्ने प्रारम्भिक अनुमान गरिएको उक्त हाइड्रोजन कार ह्याचब्याक, एसयूभी र सेडान सेग्मेन्टमा पाइनेछ । यीमध्ये ह्याचब्याक ४० लाख र एसयूभी ८० लाख रुपैयाँको हाराहारीमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

गत महिनामात्र ग्लोबल लन्च गरेको हाइड्रोजन कारलाई सन् २०२० मा कमर्शियल लन्च गरी विक्री वितरण थालिने भएको हो । हालसम्म व्यावसायिक उत्पादन नथालेको हाइड्रोजन कारको यकिन मूल्य पनि व्यावसायिक उत्पादनपछि मात्र तय हुने उल्लेख छ । ग्रोभका कारमा औद्योगिक फोहोर (इन्डस्ट्रियल वेस्ट)बाट उत्पादन गरिएको हाइड्रोजन ग्यास प्रयोग गरिन्छ, जसको प्रदूषण उत्सर्जन शून्य हुन्छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयात बन्द गर्ने नीति लिएको मौका पारेर डीएसएम ग्लोबलले उक्त हाइड्रोजन कार आयात गर्ने तयारी थालेको हो । नेपालमा शून्य उत्सर्जन गर्ने सवारीसाधनलाई कर छूटको व्यवस्थासमेत छ ।

नेपाल विभिन्न हिसाबले विश्वको एउटा महत्त्वपूर्ण अंश बन्दै गइरहेको र नेपालका लागि सफा पारवहन उपलब्ध गराउनु ग्रोभका लागि गौरवको विषय भएको कम्पनीले बताएको छ । दीर्घकालीन भविष्यको आधारका रूपमा यस्ता कारको परिकल्पना गरिएको हो । नेपालले जलवायु र वातावरणलाई निकै महत्व दिइरहेको छ । शांघाई मोटर शोमा वल्र्ड लन्च हुँदै गरेको ग्रोभ हाइड्रोजन फ्युल सेल कार मेकर हो, जसले विभिन्न रेन्जका कार उत्पादन गरी विश्व अटोमोबाइल जगतको ध्यान आकृष्ट गर्दै छ ।

ग्रोभ कारको माइलेज प्रति १ किलो हाइड्रोजन १ हजार किलोमिटर हुनेछ र यसको रिफ्युलिङ गर्न केही मिनेट मात्र लाग्छ । यसले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, त्यो पनि चालकको समयको महत्वलाई ध्यानमा राखेर ।

वातावरणमैत्री सवारीसाधनमा केन्द्रित डीएसएम ग्लोबलले अब नेपालमा हाइड्रोजन कारको विस्तारमा ग्रोभ र आईजीईसँग सहकार्य गर्नेछ । विभिन्न ब्रान्डसँग सहकार्य गरेको राम्रो अनुभव भएको डीएसएमले नेपालमा नवीनतम प्रविधिसहितको हाइड्रोजन कारको बजार चाँडै फैलने अपेक्षा गरेको छ । ‘भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने अत्याधुनिक प्रविधि नेपाल भित्र्याउनु डीएसएम ग्लोबलको उद्देश्य हो । ग्रोभ र आईजीईको नीति र हाम्रो उद्देश्य समान भएकै कारण यो सहमति सम्भव भएको हो,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक तथा अध्यक्ष देवस्वरूप महर्जनले भने, ‘हामीसँग नेपालमा कार विक्रीको लामो अनुभव छ र ग्रोभ तथा आईजीईका विज्ञहरूको समीपमा रहेर काम गर्न पाउनु हाम्रा लागि ठूलो अवसर हो ।’

यो सहमतिसँगै ग्रोभ, आईजीई र डीएसएमले नेपाली भूमिलाई सुहाउँदो कारको उत्पादन र विक्रीवितरणमा सहकार्य गर्नेछन् । आफूहरूले नेपाललाई बुझ्ने र यहाँलाई आवश्यक पर्ने भविष्यमुखी कार निर्माण गर्ने मौका पाएको ग्रोभका चिफ मार्के्टिङ एन्ड स्ट्र्याटेजी अफिसर ब्रेडन नर्मनले बताए । ग्रोभ चीनको वुहानमा मुख्यालय रहेको हाइड्रोजन अटोमोटिभ कम्पनी हो, जुन सन २०१६ मा स्थापना भएर इन्स्टिच्युट अफ जियोसाइन्सेस एन्ड इन्भाइरोमेन्ट (आईजीई) नामक पेरेन्ट कम्पनीअन्तर्गत सन् २०१८ मा दर्ता भएको हो । शोध तथा विकास वुहान र स्पेनको बार्सिलोनामा भएको यसको उत्पादन प्लान्ट वुहानमा छ ।

नेपालमा हाइड्रोजन कारको विक्रीवितरण गरेसँगै काठमाडौंको चक्रपथभित्र पहिलो हाइड्रोजन फ्युल स्टेशन पनि खडा गरिने डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक तथा अध्यक्ष महर्जनले बताए ।