tvs-race

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पूर्व महासचिव तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा भट्टराईलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनयन गरेका हुन् । यससँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा अटोमोबाइल तथा पर्यटकीय खेलकुद बुझेको व्यक्तिको समेत उपस्थिति भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को स्थापना २०६४ माघ १५ गते भएको थियो । नासाले २०६५ जेठ २२ गते राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त गरेको थियो । गोविन्द भट्टराई नासाका संस्थापक महासचिव हुन् । उनी तेस्रो साधारण सभा सम्म लगातार नासा महासचिव पदमा कार्यरत थिए । उनी चौथो साधारण सभा देखि महासचिवबाट विदा भएका थिए । हाल चौथो साधारण सभामार्फत चयन भएका नासा पदाधिकारीहरु कार्यरत छन् ।

उनी पर्वतीय खेलकुद महासंघका संस्थापक महासचिव र हालका अध्यक्ष हुन् । पर्वतीय खेलकुद महासंघको संस्थापक अध्यक्ष राखेपका पूर्व सदस्य सचिव युवराज लामा हुन् । यसको स्थापना २०६९ सालमा भएको थियो ।

नेचर, एड्भेन्चर र कल्चर भन्ने नाराका साथ पर्वतीय खेलकुद महासंघ अगाडि बढिरहेको छ । यसले मोटर स्पोर्ट्स र अन्य विभिन्न एड्भेन्चर सम्बन्धी खेलकुदलाई प्रोत्साहन गर्दै आएको छ । यसले स्पोर्ट्स तथा सस्टेनेबल टुरिजमका लागि कार्य गर्छ । उनी २०७५ जेठ १६ मा धुलिखेलमा भएको साधारण सभाबाट महासंघको अध्यक्ष बनेका हुन् ।

Motorhead

पर्वतीय खेलकुद महासंघले नेपालमा समेत ३ हजार मिटर हाराहारीको उचाईमा माउन्टेन स्पोर्ट्स गेम आयोजनाका लागि लबिङ गरिरहेको छ । आशा गरौ, भट्टराईकै कार्यकालमा सो खेल सम्पन्न हुनेछ ।

गोविन्द भट्टराई मोटर स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन डेल अटोमोबाइल (एफआईए) को इनभाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनको बोर्ड मेम्बर समेत हुन् । विश्वभरका २५ देशका प्रतिनिधि सहभागी हुने उक्त कमिसनमा भट्टराईले एसिया क्षेत्रको प्रतिनिधित्व गर्छन् । मेक्सिकोका पूर्व राष्ट्रपति फिलिपे काल्देरेन सो कमिसनको अध्यक्ष छन् ।

उनी एफआईएको मोटर स्पोर्ट्स अफिसियल र ड्राइभर समेत हुन् । गोविन्द भट्टराई नासाको महासचिव भएकै समयमा नेपालमा एफआईए एसिया प्यासिफिक रिजनल स्पोर्ट कन्फ्रेन्स भएको थियो भने हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योहले समेत नेपाल भ्रमण गरेकी थिइन् । भट्टराईले दर्जनौ विश्वविद्यालय र विभिन्न निकायमा रोड सेफ्टी र विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।